• १३ साउन २०८१, आइतबार

रावण पार्क निर्माण योजना अलपत्र

blog

अलपत्र अवस्थामा रावण पार्क योजना स्थल । तस्विर– ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, चैत ४ गते । म्याग्दीको बेनी नगरपालिकाले निर्माण गर्न लागेको रावण पार्क योजना अलपत्र परेको छ । नगरपालिकाको वडा ५ पछैमा निर्माणाधीन रावण पार्क  योजना १८ महिनादेखि अलपत्र परेको हो । 

उक्त योजना नगरका कर्मचारीको लापरबाहीका कारण अलपत्र पर्दैआएको छ । पर्यटन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा तीन वर्षअघि पार्क निर्माण सुरु भएको थियो । 

योजना कार्यान्वयन प्रगति प्रतिवेदन सम्बन्धित निकायमा समयमै बुझाउन नसकेका कारण बजेट रोकिएपछि योजनामा बजेट अभाव भएको छ । बजेट अभाव हुँदा पार्क निर्माण अघि बढाउन समस्या भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । 

उहाँका अनुसार अघिल्लो वर्षमा नगरका कर्मचारीको लापरबाही र ढिलासुस्तीका कारण योजनाको प्रगति प्रतिवेदन समयमै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा नपुग्दा बजेट कटौतीमा परेको हो । बजेट कटौती हुँदा रावण पार्कको योजना अघि बढाउन समस्या भएको उहाँले बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत रावणको मूर्तिसहित पार्क बनाउन २०७७ फागुनमा काठमाडौं कलङ्कीको धर्म एस कास्यप जेभीसँग १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपियाँमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । 

नगरपालिकाले योजनाको प्रगति प्रतिवेदन नियमित रुपमा बुझाउनुपर्ने थियो । तर नगरपालिकाका प्राविधिकले सो प्रतिवेदन बुझाउन आलटाल गरे । २५ प्रतिशत भौतिक प्रगति हासिल भएको योजना निर्माणको काम अहिले रोकिएको वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।  

धार्मिक महत्वको स्थल छेउमा रावणको मूर्तिसहित पार्क निर्माण गरेर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य थियो । वडा ५ का वडाध्यक्ष बानियाँले भन्नुभयो, ‘‘बजेटको अभाव र अन्य विभिन्न समस्याका कारण योजना अलपत्र अवस्थामा परेको छ । काठमाडौंमा रावणको मूर्ति बनेको भन्ने जानकारी आएको छ । पछिल्लो समय निर्माण व्यवसायी पनि सम्पर्कमा आएका छैनन् ।’’ 

योजनालाई पूर्णता दिन नगरपालिकामा छलफल भए पनि सार्थकता नपाएको उहाँको भनाइ छ । प्राविधिकको लापरबाहीले मन्त्रालयले बजेट नदिएपछि रोकिएको रावण पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा मन्त्रालयले १५ लाख रुपियाँ बजेट पठाएकाले नगरपालिकाको दायित्वसमेत यो वर्षभित्र  पार्क निर्माण सम्पन्न गर्न पहल भएको नगरप्रमुख केसीले बताउनुभयो । 

१४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको छ । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी ६ मिटर अग्लो रावणको मूर्तिसहित बगैंचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षण लगायतका पूर्वाधार निर्माण गर्ने योजनामा उल्लेख छ ।