• १३ साउन २०८१, आइतबार

दोहोरो नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ

blog

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल

केदार तिमल्सिना 

बनेपा, चैत ३ गते । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशी नागरिकका लागि नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । 

प्रहरीले बेल्जीयम नागरिक दावा छिरिङ (नेपाली नाम निमा तामाङ) लाई नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेललाई शुक्रबार बनेपाबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी राजकुमार श्रेष्ठले हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकृत सातौँ तहमा कार्यरत खरेल उपचारको लागि भारत गएको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा बनेपाबाट पक्राउ परेको जानकारी दिनुभयो । 

उहाँले खरेलले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा प्रशासकीय अधिकृत हुँदा बेल्जियम नागरिक दावा छिरिङ (नेपाली नाम निमा तामाङ) लाई झुट्टा बिवरण पेश गर्दा २०७४ साल पुस २० गते नागरिकता जारी गर्नुभएको बताउनुभयो । 

खरेलले दावा छिरिङलाई प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ३०–०१–७४–११८६८ नम्बरको नागरिकता जारी गर्नुभएको थियो । यस्तै, काठमाडौ महानगरपालिका–४ स्थायी ठेगाना भएका राजु गुरुङले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका  स्थायी ठेगाना राखी काभ्रेपलाञ्चोकबाट २०७४ मङ्सिर १३ गते ३०–०१–७४–१०९७७ नम्बरको दोहोरो  नागरिकता लिँदासमेत तत्कालीन प्रशासकीय अधिकृत खरेलले जारी गरेको प्रहरीले सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । 

गुरुङले काभ्रेपलाञ्चोकमा लिएको नागरिकताको आधारमा राहदानी लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।

यस्तै, गुरुङले काठमाडौँ महानगरपालिका–४ स्थायी ठेगाना राखेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २७१०६०÷१२०२०५ नम्बरको नागरिकता र सोही आधारमा राहदानीसमेत लिएको पाइएको थियो ।

त्यसैगरी, खरेल नै कार्यरत रहँदा खरेलले झुटा विवरण पेश गरी नागरिकता लिने कुलानन्द भण्डारीको नाममा २०७४ पुस २० गते ३०–०१–७४–०८००४ नम्बरको नागरिकता जारी गरेको प्रहरीले जनाएको छ । प्रनाउ श्रेष्ठले प्रहरीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकसँग समन्वय गरि अन्य झुट्टा विवरण पेश गरी नागरिकता जारी भएकोमा खरेलको संलग्नता सम्बन्धमा थप अनुसन्धान सुरु गरेको बताउनुभयो । 

प्रहरीले यसअघि झुटा विवरण पेश गरी नागरिकता दिन सनाखत गरेको आरोपमा प्रशासन कार्यालयका तत्कालिन नायव सुब्बा हाल बागमती प्रदेश सभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत ललितपुर महालक्ष्मी नगरपालिका–५ का रामचन्द्र अर्याललाई पक्राउ गरेको थियो । प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सयौँ नागरिकता बिक्री भएको खबर सार्वजनिक भएपछि गृह मन्त्रालयले टोली नै गठन गरेर त्यसको अनुसन्धान गर्दै आएको छ ।