शेरबहादुर राई
ओखलढुङ्गा, चैत २ गते । जिल्लाको मानेभनञ्ज्याङ गाउँपालिका–१ मोलीमा बालिकाले खेलाएको आगो घरमा सल्किएर आगलागी भएको छ । स्थानीय डिकबहादुर मगरकी छ वर्षीय छोरीले खेलाएको आगो घरमा सल्किएको हो ।
बालिकाले घरको चुल्होको आगो खेलाउने क्रममा अचानक घरमा आगलागी भएको बताइएको छ । अगालागीबाट ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई तले घर, घरभित्र रहेको भाडा वर्तन, अन्नपात, लत्ता–कपडा सबै जलेर नष्ट हुँदा तीन लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । घटनामा कुनै मानिवय क्षती नभएको प्रहरी निरिक्षक सिंहको भनाइ छ ।
यसका साथै सुख्खा समय सुरु भएसँगै जिल्लामा आगलागीका घटना बढ्न थालेका छन् । केही दिनअघि चिशंखुगढी गाउँपालिका–१ कुईभीर ओखलढुङ्गाको केराबारी जङ्गलमा लागेको आगो बस्ती पस्दा एक घर जलेर नष्ट भएको छ । गाउँ नजिकैको जङ्गलमा लागेको डढेलोले हाल यामबहादर राई बस्दै आउनुभएका आश बहादुर राईको कच्ची घरमा आगलागी हुँदा ढुङ्गा माटोले बनेको, फुसको छाना भएको तीन तले घर, घरभित्र रहेको अन्तपात, लत्ता कपडा, भाँडावर्तन, काठपात र नगद ७० हजार नगद जल्दा करिब १० लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभयो । चिशङ्खुगढी गाउँपालिकाको कुईभीर, भदौरै, सिद्धिचरण नगरपालिकाको जङ्गेको बाघखोर जङ्गलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।