• १३ साउन २०८१, आइतबार

साँघुरा गल्लीमा आगलागीको जोखिम कम गर्न पूर्वसतर्कता

blog

दमकल मोटरसाइकल । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २ गते ।
पश्चिम नेपालकै पुरानो सहर नेपालगन्जका भित्री र साँघुरा गल्लीहरुमा विशेष गरी गर्मीयाममा हुने गरेको आगजनीको जोखिम कम गर्न पूर्वसतर्कता अपनाइएको छ ।

नेपालगन्जको वडा नं ३ र वडा नं ७ मा चारपाङ्ग्रे सवारी प्रवेश गर्न नसक्ने विभिन्न गल्लीभित्र पुराना बस्ती छन् । यी बस्तीलाई आगजनीबाट जोगाउन विभिन्न प्रकारका पूर्वतयारी गरिएको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले जनाएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाका अधिकृत शिव सुवेदीले पूर्व तयारीस्वरुप वडा नं ७ मा रहेको पुरानो कुवालाई संरक्षण गरी चार हजार लिटर पानी २४सै घण्टा ट्याङ्कीमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भइहाले पनि अब कुवाको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।

आगो नियन्त्रण तथा समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि १८३ स्वयंसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतनाका लागि तालिम सञ्चालन भएको अधिकृत सुवेदीले बताउनुभयो ।

जिल्ला विपत् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको बताउनुभयो ।

उहाँले त्यसका लागि मोटरसाइकल दमकलसमेत सञ्चालनमा ल्याइएको जनाउँदै अब कुनै पनि साँघुरो गल्लीमा आगलागी भएमा दमकल मोटरसाइकलले आगो नियन्त्रणमा सघाउने बताउनुभयो ।

यस्तै, नेपालगन्ज वडा नम्बर ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले आगो निभाउने कार्यका लागि कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिने बताउनुभयो ।

उहाँले प्राचीनकालदेखि सर्वसाधारणले खानेपानीका लागि प्रयोग गरेका कुवाको महत्त्व र आगजनी नियन्त्रणलाई दृष्टिगत गरी वडाभित्रका सयौँ वर्ष पुराना कुवाहरुको मरम्मत सम्भार र संरक्षण सुरु गरिएको बताउनुभयो ।

पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएका कुवाको संरक्षणको जिम्मा स्थानीय टोलवासीलाई नै दिइएको छ । वर्षौंदेखि प्रयोगविहीन रहेका कुवाको मर्मत भएपछि स्थानीय खुसी भएका छन् ।