• १८ वैशाख २०८१, मङ्गलबार

ऐतिहासिक रानी तलाउको स्तरोन्नति

blog

नेपालगन्जको प्रमुख पर्यटकस्थल ऐतिहासिक रानीतलाउ । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १ गते । नेपालगन्ज ८ मा रहेको ऐतिहासिक पर्यटीय स्थल रानीतलाउ उद्यानमा थप पूर्वाधार निर्माण गर्नुका साथै सेवा सुविधा विस्तार गरेर स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । आन्तरिक पर्यटकको बसिबियाँलो र रमाइलो गर्ने थलोको रुपमा स्थापित हुँदै गएको रानीतलाउ उद्यानको थप पूर्वाधार निर्माण र सेवा सुविधा विस्तारको कार्य प्रारम्भ गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको हो । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले ४० लाख रुपियाँ विनियोजन गरी उपमहानगरसँगको सहकार्यमा रानी तलाउको स्तरोन्नतिको काम सुरु गरेको बताउनुभयो । उहाँले रानीतलाउ उद्यानमा नेपालगन्जका मात्र नभई छिमेकी देश भारतका समेत सयौं पर्यटक आउने गरेकोले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार निर्माण र सेवा तथा सुविधा विस्तार गरेर स्तरन्नोती गर्न थालिएको बताउनुभयो । मेयर विष्टले ऐतिहासिक रानीतलाउलाई लुम्बिनी प्रदेश सरकार र उपमहानगरपालिकाले आफ्नो प्राथमिकतामा राखेर काम भइरहेकोले यसले नयाँ रुप फेर्ने बताउनुभयो । 

नेपालगन्जका तत्कालीन मेयर डा. धवलशम्शेर राणाले पाँच वर्षअघि जीर्णोद्धार गरी सञ्चालनमा ल्याउनुभएको ऐतिहासिक पृष्ठभूमिको रानीतलाउ उद्यानप्रति अहिलेका मेयर विष्टले पनि उत्तिकै महत्व दिनुभएकोले यो नगरको उत्कृष्ट पर्यटकस्थल बन्ने स्थानीयको भनाइ छ । 

नेपालगन्ज सहरको मध्यभागमा अवस्थित यो रानीतलाउमा मूलतः त्यहाँ रहेको नौकाविहारले सबैलाई आकर्षित गरेको छ । रानीतलाउ उद्यानमा रमणीय बगैँचा, बालबालिकाका लागि पिङ, चिप्लेटी, चमेनागृह लगायतको व्यवस्था गरिएको छ । पछिल्लो समयमा रानीतलाउ उद्यानमा भारतीय पर्यटक पनि ठुलो सङ्ख्यामा आउन थालेकोले गोलाकार आकारको यो उद्यान पर्यटन विकासमा कोसेढुङ्गा साबित हुँदै गएको स्थानीय बान्दा तथा उपमहानगर कार्यपालिका सदस्य वसन्त कनौजियाले बताउनुभयो । 

रानी तलाउलाई अहिले ठेक्कामा सञ्चालन गरिएको नेपालगन्ज उपमहानगरले जनाएको छ । उपमहानगरपालिकाले यो ऐतिहासिक रानीतलाउलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै लैजान कुनै कसर बाँकी नराखेको उपमेयर कमरुद्दीन राईले बताउनुभयो ।