• १३ साउन २०८१, आइतबार

भेडाबाख्रामा पिपिआर रोकथाम गर्न अभियान

blog

जनकपुरधाम, चैत १ गते । भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग रोकथामका लागि मधेश प्रदेशमा सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित सप्ताहव्यापी अभियान सुरु गरिएको छ ।

आज धनुषाको हंसपुर नगरपालिका-३ मलहनियामा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले खोप अभियान शुभारम्भ गर्नुभयो । त्यस अवसरमा मन्त्री न्यौपानेले भेडापालनलाई व्यावसायिक बनाई किसानको दिगो जीविकोपार्जनमा सघाउ पुग्ने गरी सरकारले आवश्यक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले सो व्यवसायलाई विविधीकरण गरी भेडाबाट मासु र राडीपाखी बनाउने उद्योग सञ्चालन गर्ने सोचसहित अगाडि बढ्ने किसानलाई सरकारको सहयोग रहने बताउनुभयो । “जलवायु परिवर्तन, युवाहरुको पलायन र आधुनिक प्रविधिको अभावमा विशेषगरी भेडापालन व्यवसाय लोपोन्मुख अवस्थामा छ । त्यसको जगेर्नाका लागि किसानहरु जागरुक भएमा आर्थिक तथा प्राविधक सहयोग गर्न सरकार तयार छ । यसमा तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम अगाडि बढाउन सकिन्छ”, मन्त्री न्यौपानेले भन्नुभयो । 

त्यस्तै हंसपुर नगरपालिका प्रमुख प्रदीपकुमार यादवले स्थानीय किसानका समस्या समाधान गर्न नगरपालिकाले प्रदेश सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले भेडा तथा बाख्रापालन जस्तो पुर्ख्याैली पेसामा लागेका किसानलाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विशेष व्यवस्था गर्नेसमेत आश्वासन दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले मधेश प्रदेशका आठ जिल्लाका सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित अभियान सुरु गरिएको बताउनुभयो । डा.पाण्डेले मधेशका जिल्लामा ‘किसान पहिले’ भन्ने नीतिका साथ किसानको आवश्यकता पहिचान गरी अरु कार्यक्रम पनि अगाडि बढाउने तयारी भइरहेको र पहिलो चरणमा भेडा तथा बाख्रामा रोग नियन्त्रण गर्न खोप अभियान सुरु भएको जानकारी दिनुभयो । 

कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले अभियानका क्रममा धनुषाका १८ वटै स्थानीय तहका ९३ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित ६४ जना प्राविधिकलाई परिचालन गरिएको जानकारी दिनुभयो । त्यसैगरी गाईभैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि ५९ हजार चार सय गाई भैँसीमा खोप लगाउने अभियान पनि सँगसँगै चलिरहेको डा. ठाकुरले बताउनुभयो ।  

पिपिआर बाख्रा तथा भेडामा राख्ने एकप्रकारको महामारी रोग हो । यो रोग लागेपछि नाकबाट सिगान बग्ने, ज्वरो आउने, छेर्ने, खोक्नेजस्ता समस्या आउने गर्छन् । अत्यधिक सङ्क्रामक यो रोग समयमै रोकथाम नगरिए एक सय वटामध्ये करिब ९० जतिको ज्यान जाने जोखिम रहेको र त्यो रोकथामको उपाय खोपमात्रै भएको डा. ठाकुरको भनाइ छ । त्यस अवसरमा स्थानीय किसानले सरकारले गोठ व्यवस्थापन, औषधोपचार, चरिचरनको अभावमा पुर्ख्याैली पेसा सङ्कटमा परेको भन्दै सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो । 

हाल सवा दुई सय भेडापालन गरिरहनुभएका स्थानीय रामकिशोर राउत पालले सरकारले सहयोग गरेमा पुर्ख्याैली पेसा संरक्षणका लागि थप उत्साहित भएर लाग्ने बताउनुभयो । “भेडा मुख्य गरी देउतालाई चढाउने हो । आम्दानी त राम्रै हुन्छ तर युवापुस्ता पलायन भइरहेको र पुरानो पुस्ताले आधुनिक प्रविधिको अभावमा धेरै लाभ लिने अवस्था नरहेकाले त्यो पेसालाई व्यावसायिकरुपमा निरन्तरता दिन सकिरहेका छैनौँ । सरकारले गोठ व्यवस्थापन, औषधोपचार, चरिचरनका लागि घासको उन्नत बीउ, रौँबाट राडीपाखी बुन्ने आधुनिक मेसिन तथा प्रविधि सहयोग गरेमा हामी सङ्गठितरूपमै लाग्छौँ”, पालले भन्नुभयो । 

त्यस्तै स्थानीय किसान लालबिहाडी गरेडी पाल, सरोजकुमार पाललगायतले पनि खोर व्यवस्थापन, भेडाको रौँ र घाँस मुख्य समस्या रहेको बताउनुभयो । उहाँहरूले भेडापालनसम्बन्धी तालिमको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । रासस