सन् २००८ तिरको कुरा हो, विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययन प्रतिवेदन अनुसार नेपाल जस्तो विकासोन्मुख मुलुकमा मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतभन्दा बढी रोगी केही महिनामै मृत्युवरण गर्न बाध्य हुन्थे । त्यसताका नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन र डाइलायसिस सेवा अत्यन्तै कम उपलब्ध थियो । मिर्गौला प्रत्यारोपण गर्न छिमेकी देश जाने आर्थिक क्षमता पनि अधिकांश नेपालीमा थिएन । सीमित मात्रामा उपलब्ध डाइलायसिस सेवाको पालो पाउन पनि असम्भव प्रायः थियो र पाएकाले पनि मासिक ४० देखि ५० हजार रुपियाँ खर्च धन्न मुस्किल थियो ।
सन् २००८ को अन्त्यतिर वीर अस्पताल र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणको सुरुवात भयो । यो सेवासँगै मिर्गौला रोगीहरूमा बाँच्ने आशा पलायो । चार वर्ष अवधिमा वीर अस्पतालमा ९९ जनाको मिर्गौला प्रत्यारोपण भयो, जसमा ९९ प्रतिशत सफलता प्राप्त भएको थियो । त्यो नै नेपालमा मिर्गौला उपचारमा फड्को मार्ने आधार बन्यो । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१२ मा विभिन्न अङ्ग फेल भएकाका लागि उपचार गर्ने छुट्टै विशिष्टीकृत अस्पताल खोल्ने निर्णय ग¥यो । फलस्वरूप सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना सन् २०१३ मा भयो । यसको स्थापना नै देशभर डाइलायसिस र मिर्गौला प्रत्यारोपण विस्तार गर्ने आधार बन्यो । देशको विभिन्न भागमा डाइलायसिस विस्तार गर्ने व्रmममा पूर्वमा जनकपुर र पश्चिममा धनगढीको सरकारी अस्पतालमा केन्द्रले आफ्नै मेसिन तथा जनशक्ति उपलब्ध गराई डाइलायसिस सेवाको सुरुवात ग¥यो । तत्पश्चात् डाइलायसिस मेसिन खरिद गरी देशभरि वितरण गर्न सरकारलाई सघायो । त्यसका लागि एक हजार जनाभन्दा बढी नर्स, चिकित्सक तथा अन्य प्राविधिकलाई तालिम दिई सेवा विस्तारमा महìवपूर्ण भूमिका निर्वाह ग¥यो । आज देशभरि ९० भन्दा बढी केन्द्रमा डाइलायसिस सेवा विस्तार भएको छ । यो सेवाबाट करिब आठ हजार मिर्गौला फेल भएका बिरामीले नियमित डाइलायसिस गराइरहेका छन् ।
मिर्गौला उपचारको सेवा विस्तारपछि भने अङ्गदान र प्रत्यारोपणमा चरम लैङ्गिक विभेद भएको पाइएको छ । पङक्तिकारले वीर अस्पतालमा ९९ जनाको मिर्गौला प्रत्यारोपण गर्दा ९० प्रतिशत दाता महिला र ९० प्रतिशत ग्रहणकर्ता पुरुष थिए । लैङ्गिक शोषणको यति चरम सीमा अरू क्षेत्रमा बिरलै पाइन्छ होला । यसलाई न्यूनीकरण गर्न पुरुष अङ्गदातालाई आर्थिक सहायता दिने, महिला पुरुष समाजमा समान हुन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रममार्फत विगत १६ वर्षदेखिको प्रयास तथा प्रत्यारोपण नियमावलीमा मस्तिष्क मृत्यु भएका अङ्गदाताबाट प्राप्त हुने मिर्गौला पुरुषलाई भन्दा महिलालाई तीन गुण बढी अङ्क दिने व्यवस्था भएबाट अङ्गदान र प्रत्यारोपणमा कायम लैङ्गिक विभेदमा केही कमी अवश्य आएको छ । हालसम्मको तथ्याङ्क हेर्दा केन्द्रमा एक हजार २१४ जनाको मिर्गौला प्रत्यारोपण भएकोमा ग्रहणकर्ता ८० प्रतिशत (९५९ जना) पुरुष छन् भने महिला २० प्रतिशत (२४५ जना) मात्र रहेका छन् । मिर्गौला दातामा भने २७ प्रतिशत (३२८ जना) पुरुष र महिला ७३ प्रतिशत (८७६ जना) रहेका छन् । उदार कानुन छ । महिलाका सबै अधिकारका लागि निरन्तर प्रयास भइरहेका छन् तर महिला पुरुषले व्यवहारमा समान अवसर भने पाउने कहिले ?
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकै अगुवाइमा देशको सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य भइरहेको छ । केन्द्रको नेतृत्वमा गण्डकी प्रदेशको पोखरामा र कर्णाली प्रदेशको सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशको धनगढी, बागमती प्रदेशको हेटौँडा, मधेश प्रदेशको वीरगन्ज र कोशी प्रदेशको विराटनगरमा मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको छ ।
केन्द्र स्थापना भएको १२ वर्ष नपुग्दै एक हजार दुई सय जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण भई ९९ प्रतिशत सफलता प्राप्त भएको छ । केन्द्रमा मिर्गौला प्रत्यारोपण निःशुल्क हुनु र वार्षिक दुई सय जनासम्मको प्रत्यारोपण सेवा उपलब्ध हुनुले केन्द्र संसारकै ठुलो प्रत्यारोपण केन्द्रमध्ये एक भएको प्रमाणित हुन्छ । मिर्गौला प्रत्यारोपणको वार्षिक माग करिब तीन हजारसम्म रहेको छ । केन्द्रबाट दुई सय जना र अन्य अस्पतालबाट सय जना गरी जम्मा तीन सय जनाको मात्र वार्षिक मिर्गौला प्रत्यारोपण हुने गरेको छ । माग अनुसार यो अत्यन्त न्यून सङ्ख्या हो ।
सन् २००८ मा मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतभन्दा धेरै केही महिनामै मृत्युवरण गर्न पुग्थे । यो तथ्याङ्कको ठिक विपरीत केन्द्रमा अब ९८ प्रतिशत मिर्गौला प्रत्यारोपण गरेकाहरू र ९५ प्रतिशत डाइलायसिसमा बसेकाहरूको जीवन बचाउन सकिएको छ । यसले नेपालमा मिर्गौला उपचारले फड्को मारेको प्रमाणित हुन्छ तर यस सेवालाई केन्द्रमा मात्र सीमित नराखी देशको सात वटै प्रदेशमा विस्तार गरी सबैको पहुँचभित्र ल्याउन सके मात्र सही अर्थमा गरिब नेपाली दाजुभाइ, दिदीबहिनीको उद्धार हुने थियो । यसका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको यस राष्ट्रिय प्रत्यारोपण केन्द्रको उपयुक्त जमिन र आफ्नै भवन हुनु पर्छ । यसको खाँचो केन्द्रलाई छ । देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नका लागि प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि जरुरी छ ।
रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ । त्यसैले मिर्गौला स्वस्थ राख्न नियमित शारीरिक व्यायाम गर्ने, खानामा परहेज गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने, धूमपान र मध्यपान नगर्ने, मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, चिकित्सकको परामर्शबिना नदुख्ने औषधी तथा एन्टिबायोटिक आदिको सेवन नगर्ने, प्रशस्त मात्रामा पानी पिउने, कम्तीमा वर्षको एक पटक मिर्गौला तथा अरू अङ्ग स्वास्थ्य छ कि छैन भनी चिकित्सकीय जाँच गर्नु पर्छ । उल्लिखित नियम पालना ग¥यौँ भने मिर्गौला तथा अन्य अङ्ग फेल हुनबाट बच्न÷बचाउन धेरै मद्दत पुग्छ ।
आज मार्च १४ तारिख । संसारभरि विभिन्न कार्यक्रमका साथ मिर्गौला दिवस मनाइँदै छ । यस वर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ ।