• १३ साउन २०८१, आइतबार

उपचारका क्रममा बिरामीको मृत्यु, अस्पतालमा तनाव

blog

उपचारका क्रममा बिरामीको मृत्युपछि आन्दोलनमा उत्रिएका मृतकका आफन्तहरु । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, फागुन ३० गते । दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् । 

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाह ठप्प भएको छ । घोराही उपमहानगरपालिका –१५ सडक विभागको ओरालोमा रहेको अस्पतालमा राजपुर गाउँपालिका –१ पटौली नाका निवासी ९ वर्षीय सुरेश कुँवरको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको थियो ।

आज बिहान ९ बजे उपचारका लागि अस्पताल भर्ना हुनुभएका कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो । भर्ना भएका कुँवरको उपचारका क्रममा नाक र मुखबाट रगत आएको र त्यसपछि चिकित्सकले बिरामीको उपचार नगर्दा बालकको मृत्यु भएको मृतकका आफन्तको भनाइ छ । 

‘घाँटीमा सुन्निएको थियो । त्यही उपचारका लागि  घोराही आएका थियौ’ मृतकका आफन्त सपना बुढाले भन्नुभयो, ‘अस्पतालमा भर्ना भएको बच्चाको केही समयमै मृत्यु भयो । त्यसैले हामीलाई शङ्का लागेको छ ।’ 

अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले विवाद गर्दा केही समय अस्पतालमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । तर घटनाबारे विस्तृत जानकारी आइनसकेको बताउनुभयो । 

प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, ‘बिरामीको मृत्यु भएपछि अस्पतालमा बिरामीका आफन्तले विरोध गर्दा सेवा प्रवाहमा समस्या भएको छ, घट्ना के कसरी भयो, त्यो बुझ्ने क्रममा छौ ।’ मृतकका आफन्तका अनुसार एक साताअघि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको उपचार गराएर घर लगिए पनि ठिक नभएपछि बुधवार बुद्ध अस्पतालमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।