• ११ माघ २०८१, शुक्रबार

रूसको आणविक हतियार अमेरिकाको भन्दा राम्रो भएको राष्ट्रपति पुटिनको दाबी

blog

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन

मस्को, फागुन ३० गते । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाको भन्दा निकै उन्नत भएको बताउनुभएको छ ।

युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढवा दिएको रुसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो ।

“हाम्रो हाणविक हतियार ट्रायड कुनै पनि अन्य ट्रायडभन्दा बढी आधुनिक छ । वास्तवमा हामी र अमेरिकीहरूसँग मात्र यस्ता हतियारहरू छन् र हामी यसमा धेरै अगाडि बढेका छौँ,” पुटिनले सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा भन्नुभयो ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै पश्चिमा मुलुकहरूले रुसमाथि ‘गैर–जिम्मेवार’ पूर्ण रूपले आणविक हतियार सम्बन्धमा वक्तव्यबाजी गरेको आरोप पुटिनले लगाउँदै आउनुभएको छ ।

मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठुलो भण्डार हो ।

पश्चिमी मुलुकहरूले युक्रेनमा उनीहरूका सेना पठाउँदा युद्धभूमिको स्थितिमा कुनै परिवर्तन नआउने उक्त अन्तर्वार्तामा पुटिनले बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “जसरी हतियार आपूर्ति गर्दैमा रुसलाई केही फरक पर्दैन त्यसैगरी विदेशी सैन्य दस्ताहरूले युद्धभूमिको स्थिति परिवर्तन गर्दैन भन्ने मलाई विश्वास छ ।”

युक्रेनले हालैका महिनाहरूमा तोपखानादेखि हवाई प्रतिरक्षासम्मका असङ्ख्य अभावहरूको सामना गरिरहेको छ । अमेरिकी काङ्ग्रेसमा ६० अर्ब डलरको सहायता प्याकेज रोकिएको छ । यसको परिणाम रुसी सेनासँगको लडाइँमा युक्रेन युद्धबाट पछि हटिरहेको छ । रासस/एएफपी