• १३ साउन २०८१, आइतबार

डुङ्गा दुर्घटना : ११ मछुवाको सकुशल उद्धार, २२ अझै बेपत्ता

blog

जकार्ता, फागुन ३० गते । समुद्रमा डुबेको डुङ्गामा झुण्डिएर तीन दिनको पखाइपछि इन्डोनेसियाका ११ जना मछुवाको सकुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधबार बताएका छन् ।

दक्षिण सुलाबेसी प्रान्तको दुर्गम सेलेयार टापु नजिकैको समुद्रमा शनिबार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा समुद्रमा तैरिरहेको अवस्थामा तीन दिनपछि दुई छुट्टाछुट्टै टापुमा फसेको अवस्थामा फेला परेका हुन् । खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय खोज तथा उद्धार निकायले जनाएको छ ।

स्थानीय सरकारी अधिकारी एन्डी काको आम्रासले एएफपीसँग भन्नुभयो,  “उनीहरु तीन दिनदेखि समुद्रमा तैरिरहेका थिए, पानीको प्रवाहले उनीहरूलाई सेलेयारको पुर्‍याएको थियो । ती दुई जना छुट्टाछुट्टै टापुमा भेटिएका थिए ।

डुङ्गा मार्च ३ मा उत्तरी जकार्ता बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुतर्फ जाँदै गरेको थियो ।  नौसेना र उद्धार स्वयंसेवकहरूले खोजी कार्यमा सहयोग गरिरहेका छन् ।

“संयुक्त टोलीले थप खोजी र उद्धार कार्य गर्नेछ भने भेटिएका मछुवालाई उनीहरूको घरतर्फ पठाइएको स्थानीय खोज तथा उद्धार अधिकारी एन्डी रासवानले एएफपीसँग बताउनुभयो । उद्धारकर्तालाई घटनास्थल पुग्न पाँच घण्टा लागेको उहाँले बताउनुभयो ।

सरकारी समाचार संस्था अन्तराका अनुसार स्थानीय मछुवाहरूले उनीहरूलाई देखेपछि र अधिकारीहरूलाई खबर गरेपछि ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको थियो ।

एएफपीसँग कुरा गर्दै अमरासले भन्नुभयो, “तीन दिनसम्म समुद्रमा लाइफ ज्याकेट लगाएर डुङ्गामा आफूलाई बाँधेर बसेको मछुवाहरूले बताएका छन् ।मछुवासहितको घोप्टिएको डुङ्गा पानीमा तैरिँदैे सेलेयार टापुमा पुगेको उहाँले बताउनुभयो ।

अमरासका अनुसार ९३ टन तौल भएको उक्त जहाजमा माछा समात्ने उपकरण, जाल, ढुङ्गा, डोरी, नरिवलको पात र माछा मार्ने रडजस्ता उपकरणहरू थिए ।

डुङ्गामा ३५ जना सवार थिए भने २२ जना हराइरहेका छन् यद्यपि इन्डोनेसियाको उद्धार एजेन्सीले ३७ जना सवार डुङ्गामा रहेका २४ जना हराइरहेको जनाएको छ ।

इन्डोनेसियामा डुङ्गामा वास्तविक यात्रुहरूको सङ्ख्या तोकिएकोभन्दा फरक हुनु सामान्य कुरा मानिन्छ । अधिकारीहरूले मङ्गलबार बिहानै घटनाको बारेमा रिपोर्ट प्राप्त गरे पनि खराब मौसमका कारण उनीहरूको प्रयासमा बाधा पुगेको बताएका छन् ।

करिब १७ हजार टापुरहेको दक्षिणपूर्वी एशियाली द्वीप समूह इन्डोनेसियामा सुरक्षा मापदण्डको फितलोपनका कारण पटकपटक समुद्री दुर्घटना हुने गरेको छ । सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस/एएफपी