• १५ वैशाख २०८१, शनिबार

स्थानीय पाठ्यपुस्तक 'धार्चे सेरोफेरो' तयार

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा धार्चे सेरोफेरो पाठ्यपुस्तक तयार भएको छ । धार्चे सेरोफेरो नामक उक्त पुस्तकको अन्तिम ड्राफट तयार पारी आगमी शैक्षिक सत्रबाट कक्षा २ मा स्थानीय पाठ्यपुस्तक लागु हुने गरी काम सम्पन्न भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक सिर्मलको संयोजकत्वमा ७ वटा विद्यालयका प्राधानध्यापक सदस्य हुने गरी स्थानीय पाठ्यपुस्तक लेखन समिति गठन गरिएको थियो । त्यहि समितिले स्थानीय पाठ्यपुस्तक लेखन समिति काम अघि बढाएको उहाँले बताउनुभयो । अन्तिम ड्राफट तयार भएर प्रकाशन गर्ने तयारी भइरहेको प्रमुख प्रशासकिय अधिकृत सुनारको भनाइ छ । 

स्थानीय पाठ्यपुस्तक लेखन समितिले तयार पारेको उक्त पुस्तकमा १२ एकाइ छन् । जसमा पाठ्यपुस्तकमा धार्चे गाउँपालिका भित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, पर्यटकीय स्थल, पुरातात्विक बस्तु र धार्चे गाउँपालिकाका विशिष्ट व्यक्तिहरुको जीवनी समावेश तथा धार्चेमा पाईने बहुमूल्य जडीबुटीको बारेमा पाठ्यपुस्तकमा विषय बस्तु उल्लेख गरिएको शिक्षा शाखा प्रमुख दिपक सिर्मलले बताउनुभयो । 

पाठ्यपुस्तक निर्माणको लागि धार्चे गाउँपालिकाको भौगोलिक अवस्था, त्यहाँको रहनसहन, भाषा, संस्कृति र पहिचानलाई सहजै बुझ्ने वर्षौंदेखि धार्चेको विद्यालयहरुमा प्राधानध्यापकको रुपमा भूमिका निर्वाह गरिरहनु भएका सरहरुलाई जिम्मा दिएर विद्यार्थीहरुले बुझ्नेगरी सरल भाषा पाठ्य पुस्तकमा प्रयोग गरिएको शिक्षा शाखा प्रमुख सिर्मलले बताउनुभयो । 

धार्चे गाउँपालिकाले शैक्षिक सत्र २०७९ बाट प्रत्येक विद्यालयको कक्षा १ मा १ सय पुर्णाङकको स्थानीय पाठ्यपुस्तक लागु गरिसकेको छ । पालिकाले २०७८ सालमा कक्षा १ देखि ५ सम्मका स्थानीय पाठ्यक्रम तयार गरेको थियो । त्यसै अन्तर्गत गत शैक्षिक सत्रमा कक्षा १ मा स्थानीय पाठ्य पुस्तक लागु गरिएको हो । अबको शैक्षिक सत्रबाट लागु हुने गरी कक्षा २ को स्थानीय पाठ्यपुस्तकमा समग्र धार्चेको स्थानिय परिबेश पाठ्यपुस्तकमा पाईने धार्चे शिक्षा शाखाले जनाएको छ ।