• १३ साउन २०८१, आइतबार

भोजपुरको याङपाङ्गमा स्थायी प्रहरी पोष्ट स्थापना

blog

गोकुल भुजेल

भोजपुर, फाल्गुन २९ गते । भोजपुरको पूर्वी अरुण गाउँपालिका–१ याङपाङ्गमा स्थापना भएको अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको छ । नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता तथा डिआइजी भीम ढकाल, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ तथा गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले एकसाथ रिबन काटेर प्रहरी पोष्टको उद्घाटन गर्नुभएको हो । 

स्थानीय स्तरमा हुने अपराध नियन्त्रण, शान्ति सुरक्षा प्रदान तथा चोरी डकैती न्यूनीकरण गर्ने उद्देश्यका साथ अस्थायी प्रहरी पोष्ट स्थापना गरेको र सोही अनुसार तत्कालैदेखि कार्य सञ्चालन सुरु गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदिपराज पाठकले बताउनुभयो । यसअघि याङपाङ्गमा प्रहरी चौकी नजिकै नहुँदा कुनै पनि घटनाहरू घट्दा तथा सामाजिक दुर्व्यवहार हुँदा प्रहरीहरू प्याउलीबाट आउनुपर्ने बाध्यता थियो भने स्थानीयले प्रहरी पोष्ट स्थापनाका लागी पटक–पटक सरोकारवालाहरूलाई माग राख्दै आएका थिए । 

गाउँपालिका क्षेत्रभरि शान्ति सुरक्षा, हत्या, हिंसा, चोरी डकैती, लगायत गैर संवैधानिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीको महत्त्वपूर्ण भूमिका हुने गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन गाउँ गाउँमा सिंहदरबार भन्ने गरिन्छ । जहाँ नागरिकले पाउने सबै प्रकारका सेवाहरूको अपेक्षा गरिन्छ। सोही अवधारणालाई सार्थकता दिन तथा नागरिकलाई शान्ति, सुरक्षा, अमन चयन कायम गर्न वडामा प्रहरी चौकी स्थापना भएको हो ।”  

अस्थायी प्रहरी पोष्ट उद्घाटन गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी भीम ढकालले स्थानीयहरूलाई प्रहरीको महत्त्व बुझाउँदै गाउँघरमा हुने घटनाहरूको सम्भावित कारणहरू मादक पदार्थ, सकारात्मक सोच, वैदेशिक रोजगार, सामाजिक सञ्जालको दुरुपयोग, आर्थिक सङ्कट लगायत भएकाले यसबाट सजक हुन सबैलाई सुझाउनुभयो । साथै उहाँले प्रहरी र समुदायबिच हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न उक्त क्षेत्रमा खटिएका प्रहरीहरूलाई निर्देशन समेत दिनुभयो । यता, प्रदेश प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले प्रहरी राज्यको प्रतिनिधिको रूपमा गाउँघरमा उपस्थित हुनेभएकाले समस्या समाधानमा सबैको अपनत्व हुने गरी सहकार्य गर्न सबैमा आग्रह गर्नुभयो । 

भोजपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जिल्लाभरिको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउने क्रममा जिल्लाका विभिन्न क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्ने क्रममा स्थानीयको माग अनुसार याङपाङ्गमा पनि प्रहरी पोष्ट स्थापना गरेको बताउनुभयो । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरी परिचालन हुने भएकाले आवश्यक सहयोग गर्न सबैमा जानकारी गर्नुभयो । वडाध्यक्ष राम कुमार तामाङले प्रहरी पोष्ट स्थापनासँगै आगामी दिनमा गाउँघरमा हुने कुनै पनि गैर कानुनी कार्य गर्न सबैलाई थप निरुत्साहित  गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्री, प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकाल, प्रदेश प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ, उपाध्यक्ष विनीता ढकाल, पालिका पूर्व अध्यक्ष गजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, प्रहरी उपरीक्षक प्रभु ढकाल, राष्ट्रिय कलाकार सूर्य चापागाईँ, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम न्यौपाने, वडाध्यक्षहरू राम कुमार तामाङ, इन्द्र पुलामी, युवराज ढकाल तथा अन्य जनप्रतिनिधिहरू, प्रहरी, सञ्चारकर्मी लगायत स्थानीयको सहभागिता थियो ।