• ७ मंसिर २०८१, शुक्रबार

कौतूहलमय पदयात्रा

blog

प्रत्येक यात्रा यौटा कौतुकमय गन्तव्यको खोजी हो । ओरालो झरेर उकालो चढेपछि देखिने दृश्यका क्षितिजहरू रहस्यका क्यानभास हुन् । अनेक रङका मिश्रित अनेक रङ हुन् । तिनै रङहरूका स्वरूप र संरचनामा संयोजित आकृतिहरू कौतुहलमय पदयात्राका प्राप्ति हुन् । यात्राका खुसी र सन्तुष्टि समग्र हुन् । तिनैमा भेटिन्छ हिँडाइपछिको हर्ष । गर्वका उचाइ धराधामहरू साक्षात् ! देखिन्छ आँखाको प्यास बुझाउने । मनको चाहना पूरा गर्ने दृश्यहरू ।

मैले पाइला चालेर पुगेको संसारकै सर्वोच्च उचाइ थलो । मेरा आँखाले चुम्न पाएको प्राकृतिक सौन्दर्यको चुली चुचुरो । जहाँ रमाइरहेका हजारौँ विदेशी पर्यटकको ओइरो । जहाँ मन रमाएर पागल हुनुको क्षण थियो । जहाँ चिसिएर बरफ बन्दा पनि न्यानोपनको आभास हुन्थ्यो । यही थियो पदयात्राको कौतुहल मेटाउने दृश्य–विम्बहरू ! हिमाल र पहाडका मन्द मुस्कानमय कौतुहलहरू । साक्षात् दर्शनपछि तिनैले मेटाएका यात्राका सारा सास्तीहरू । 

कति हो कति कौतुकमय हिमाली लस्करका लस्कर । कौतुहल मेटाउन पाएर हर्षित पदयात्री अनुहार पदयात्रामा उत्तिकै । कौतुहलमय पदयात्राको यौटा पृथक् पक्ष र पाटो । जहाँ घाम जस्तै जीवन सधैँ उज्यालोको ज्योतिले प्रदीप्त हुन्छ । जहाँ मनका मझेरीमा समेत खुसीका उज्याला रङहरूले लिपपोत गरिएको हुन्छ । छिनमै यात्राको वेगले संसार छिचोल्न सक्छ । 

एक प्रकारले घाम जस्तै हो जीवन । छर्लङ, पारदर्शीपन । कुनै छलछाम छैन । घाम जस्तै उज्यालो, सफा र सधैँ अन्धकारका विरुद्ध उज्यालो छर्ने । बिहान पूर्वी एसियाका मुलुक चहार्दै, युरोप घुम्दै साँझ अमेरिकातिर बास बस्न पुग्ने । फेरि भोलि बिहान बहुमूल्य सुनको धातु लिएर आउने । अनि हिमालका चुचुराहरूलाई सुनले जलप लगाइदिने । 

यसरी नै बेलुका बास बस्नुअघि पनि सुनैसुनले हिमाली टाकुरालाई रङ्याएर कौतुहलमय छविमा अनावरण गरिदिने । यस्तोमा हुँदैन रहे छ कुनै किसिमको भ्रम, असत्य र अवसाद, विसादका  कुरा । जहाँ कलामय चित्र र चरित्रको आवरण मात्र दृष्टिगोचर हुन्छ । जस्तो कि, झुटो बोल्दा पनि सत्य नै बुझिन्छ । नराम्रो हुँदा पनि राम्रो देखिन्छ । भत्के–बिग्रेको, कुरूप–विरूपमा पनि सौन्दर्य खुलेको हुन्छ । किनभने त्यो ‘कला’ हो, ‘प्रकृति’ हो । यस्तो स्वभाव र स्वरूप कलाको हुन्छ । प्रकृतिको हुन्छ । र, त्यसमा स्वतः नै खुसीको मुस्कान प्रकट भएको हुन्छ । सुन्दरताका बिस्कुन फिँजाइएको हुन्छ । जुन सबैलाई मन पर्छ । सबैको प्यारो हुन्छ । संसारभरिका मान्छे सर्वोच्च शिखरको काखमा जीवन र प्रकृतिलाई भेट्न र बुझ्न आउँछन् । यसकै लागि यति हेर्न मान्छेको ओइरो लाग्छ । आँखाको प्यास जाग्छ । कौतुहलले सधैँ काउकुती लगाइरहन्छ । अतः आफैँमा कौतुहलमय यात्रा । हरेकलाई कौतुहलमय यात्रामा डो¥याउँदै लैजाने । पाइलैपिच्छे कौतुहल । आँखामा यात्राभरि कौतुहलको प्रवेश । कस्तो होला, के देखिएला, कति रमाइलो होला ? आदि कौतुहलमय मन । कौतुहलमय आँखा चार हजारभन्दा माथिको उचाइमा पुगेपछि अर्कै आनन्दले रमाउन थाल्छ । कौतुहलमय पदयात्राको अविराम पाइला–पदचापहरू । यस्ता खुल्दुलीहरूले खोतलखातल पार्दै प्रकृतिलाई भित्रसम्म पसेर सौन्दर्यपान गर्नुको बेग्लै मिठास । 

पदयात्राभरि साह्रै प्रिय दृश्यहरूले सधैँ आँखा आकर्षित गरिरहने अनुपम प्रकृतिका छहराहरू । कठिन पैदलमार्ग भए पनि दृश्यहरूको सुन्दरताले कठिनाइ बिर्साउने । आरामदायी बास त भइहाल्ने । यति भएपछि कौतुहलमय यात्रा आफैँमा आह्लादमय हुने भइगयो । भावना खेलाउँदै मिठा–मिठा अनुभूतिहरूको खजाना पनि जुटिहाल्ने रहेछ । धैर्य गर्न, साहस र आत्मबल मात्रै बढाउन सक्नुपर्ने रहेछ । मनमाफिकका रमणीय दृश्यहरू आँखैभरि भरिभराउ भइरहने रहे छ । चिसो तापव्रmमको उचाइमा चिस्याएर यात्रीलाई बरफ बनाउँदैन ।

विश्वप्रसिद्ध पदयात्रा मार्गमा दृश्यका सिलासाङ्ला कतै खोज्नु पर्दैन । उराड र उजाड भूमिमा निस्तो मन नियास्रिँदैन । घामको अनुपस्थितिमा चाँदी समान चम्किलो रङको हिमाल । त्यही निक्खुर सेतो दिव्यज्योतिमा प्रकृतिको मुस्कान सम्प्रेषित सबै आगन्तुकमा । तिनलाई देखेर हर्षका आँसुहरू थाहै नपाई तप–तप । प्रकृतिलाई भेटेर खुसीका तरङ्गहरू । उल्लासका उमङ्गहरू स्वतः प्रवाहित पल–पल ।

घामको प्रकाशमा हिमालको बहुरूपी स्वरूप । एउटै निलो रङको पृष्ठभूमिमा अनेकौँ निला रङका फिका, गाढा रूपरेखामा हिमाल सजिनुसम्म सजिएको हुने रहेछ । बिहान र बेलुकाको घामले सुनमा नुहाएर हिमाललाई कौतुहलमय आभामा रूपान्तरण गर्ने रहे छ । जहाँ मनको शान्ति र सुखको उदय हुन्छ । जहाँ आँखालाई शीतल सौन्दर्यको प्रश्रय हुन्छ । त्यहाँ हुँदैन कसैको कुनै अनुनय । बरु सौन्दर्यको उदय ।

एक्लै एक्लोपनको आभास हुँदैन । खोजेभन्दा अधिक भने जति भलिभाँती दृश्यका खातैखात उरुङखातले स्वागत गरिरहन्छ ।

पाइलै पाइलामा, आँखैमा, हरेक दृष्टिमा कौतुहलमय हिमाच्छादित प्रकृति वशीभूत म । मेरा लागि प्रेरणा र प्रेम पनि । कति मनोहर, कति सुमधुर ! आँखा लोभ्याउने । मनै छुने । हृदय स्पन्दित गराउने । परापूर्व कालदेखि उस्तै, अद्यापि उत्तिकै । एक प्रकारले सदावहार । प्रकृतिको जीवन सधैँ जवानी । मौलिक रूप सौन्दर्यले भरिपूर्ण । मुस्कानमय अनुहार आकृतिले धपक्कै बलेको । 

सृजनात्मक र सकारात्मक तन, मन । सोचमग्न बनाउने हरेक दृश्य दर्शनमा आगन्तुकलाई । दृष्टिकोणमा रहस्यका 

विम्ब–विधानहरू । पाइलै–पाइलामा अनुभूतिमय यात्रामा हिँडाउने यात्रीलाई । जहाँ व्यर्थ समय बर्बाद भएको हुँदैन । जहाँ भावना गङ्गाको अनन्त पदयात्राले फड्को मार्छ । कौतुहलमय प्रकृतिसँग साक्षात्कार गराउँछ । यही सोचाइ, बुझाइ, बचाइ र हँसाइले जीवन्त जीवनको सिलसिलाले फड्को मार्छ ।

“विज्ञानले हामीलाई सोच्न सिकाउँछ तर प्रकृति र मुस्कानले बाँच्न र हाँस्न सिकाउँछ । मुस्कानले खुसी मात्र दिँदैन, अपरिचितसँग निकट पनि गराउँछ,” एक पर्यटकले भनेको कुरा मनन गर्छु ।  वास्तवमा यो कुरा एकदमै सही छ । विज्ञानले सोच्न, प्रकृतिले बाँच्न र हाँस्न सिकाउँछ ।

प्रकृति सबैलाई प्रिय हुन्छ तर सबैको प्रकृति हुँदैन । प्रकृतिको सबै हुँदैन । वास्तवमा सबैको हुनु प्रकृतिको नियम हो तर कसैको नहुनु पनि हो । किनभने प्रकृति कसैको हुनु र नहुनुसँग कुनै सरोकार राख्दैन । त्यस्तै कसैले चाहनु मात्र ठुलो कुरा होइन, नचाहनु पनि ठुलो कुरा हो । 

नचाहँदा घृणा हुँदैन । चाहँदा मात्र माया गरेको मानिँदैन । अतः कसैको नहुनु भनेको आफ्नो हुनु हो । कोही कसैको प्रिय र अप्रिय उसको आँखामा हुन्छ । मनमा त मानवीय प्रेम प्राकृतिक मुस्कान मुस्कुराइरहेको हुन्छ ।

जस्तो कि प्रकृति कसैको होइन र पनि प्रकृति सबैको हो । सबैले प्रकृतिलाई मन पराउँछन् । माया गर्छन् । चाहनुको कुरा छँदै छ । नचाहेर पनि प्रकृति निकट हुन पाउँदा मन प्रफुल्ल हुन्छ । यही भएर प्रकृतिप्रेमले वशीभूत मन प्रकृति सन्निकट हुन लालायित हुन्छ ।

जो मान्छेसँग, जुन प्रकृतिसँग वा जुन चिजसँग, जुन कुरासँग आत्मैबाट गहिरो मन जोडिएको र घनिष्ठ मित्रता हुन्छ त्यो मान्छे, प्रकृति वा कुनै कुरा जति टाढा भए तापनि सम्झनाहरू स्मरणीय भइरहेको हुन्छ । हेरौँ, हेरिरहौँ भइरहन्छ आँखालाई । भेटौँ, भेटिरहौँ भन्ने लागिरहन्छ मनलाई । प्रकृति जतिसुकै चिसो भए पनि कठोर हुँदैन कदापि । मान्छे जतिसुकै निष्ठुरी भए पनि ... ! टाढिँदैन मन । त्यो अमर प्रेम । त्यो अमर सम्झनाहरूका अवसान हुन सक्दैन ।

प्रकृतिको विराट धरातलमा उभिएर चारैतिर हेर्दा कौतुहलमय भाव–प्रक्षेपणले विभोर हुन सकिन्छ । जीवनबोधका गम्भीर चिन्तनमा पनि डुब्न पुगिन्छ । कति रहस्य प्रकृतिको प्रत्येक दृश्य र दृष्टिकोणमा । रङ र रूपका, स्वरूप र संरचनाका अनेकौँ आयाममा । विरक्त भएर पनि एकीकृत ।

हरेक प्रहर, हरेक पल मलाई मेरो जिजीविषाले जीवित राखेको छ । केही न केही नयाँपनमा निर्लिप्त हुन प्रेरित गरेको छ । पोखरीबाट पौडिएर पारि पुग्न । पारि पुगेर प्रगतिको फड्को मार्न उद्यत म । चुपचाप टोलाएर तथापि छिनमै चञ्चल, छिनमै मुकदर्शक म । खुसीको स्पन्दन हो । हर्षको अभिव्यक्ति हो । अपार अनुभूतिका अभिव्यञ्जनाहरूले ओतप्रोत । प्रकृति भनेको साँँच्चै कति चोखो, समृद्ध हो । कति मौलिक र जीवन्त हो ।

पर्यटकलाई पर्खिनै पर्दैन आफैँ आइहाल्छन् ‘आस’ गरेभन्दा ‘रास’ पाहुना । उमेरको हिसाब नहुँदो रहे छ यहाँ । बुढाखाडादेखि तरुनातन्नेरीहरूको उत्साही पाइला । भारी बोकेर पनि हिँडिरहेका छन् । हिँड्नुसम्म हिँडेर नथाकेका जब्बर ज्यानहरू । थाहा छैन, कतिसम्म मरिहत्ते हो, कतिसम्म हत्तेहैरानी हो । कतिन्जेल, कहिलेसम्म र कहाँसम्म हो !? कौतुहलमय अलौकिक यात्राको अद्भुत अनुभूति ! विछट्टकै प्रकृति । विरलै देख्न पाइने अवस्थिति । कुनै भव्य उत्सवको उल्लास जस्तै खुसीले प्रफुल्लित सारा पर्यटक र प्रकृति । जहाँ कोही कसैसँग कुनै किसिमको रिसराग, घृणा, दोष केही छैन । पाहुनाहरूकै सेवामा समर्पित सधैँ । त्यही सेवाबाट प्राप्त मेवाले घरपरिवार धानिरहेका । यसमै आनन्द, यसमै जीवनधामको कुरा । यसमै हरेक दिन व्यस्त जीवनशैली ।

त्यसैले पर्यटनले नै धानेको छ जीवन । होटल व्यवसायको कामतमाममा बाह्रै महिना व्यस्त । अधिकांश स्थानीय भारी बोकेर भरिया भएर कमाउँदै । गाइड बनेर गन्तव्य पु-याउँदै । आफ्नै कमाइ, आफैँ रमाइ, आफू नै सव्रिmय व्यवसायमा सधैँ । पाहुनालाई खुसी पारी हाँसेको जीवन । पाहुनाको सेवा गरी बाँचेको जीवन । जहाँ दुःखमा पनि सुखको आभास हुन्छ । आँसुमा पनि हाँसोको छचल्कन भेटिन्छ ।

प्रकृतिको वरदान नै हो– खुम्बु क्षेत्र । विशुद्ध प्रकृतिले सिँगारिएको समग्र परिवेश । कति प्रशंसा, कति चर्चा । बाटोमा मान्छेकै हुलहुज्जत । होटलमा मान्छेकै हल्लाखल्ला । उकालोमा घुइँचो, ओरालोमा घुइँचो घुमन्ते मान्छेकै । बिसौनीमा बिसाएर सुस्ताइरहेका पदयात्री पर्यटक नै । झरनामा मोहित भएर रमाइरहेका उनीहरू नै । आफूमा आफैँ हराइरहेका तिनीहरू । हिमाल देखेर हर्षित तिनै अनुहारहरू । दुधकोशीको प्रवाह र खोलाखहरेमा उनीहरूकै घुमन्ते मनहरू । समग्रमा हरेक आगन्तुक र स्थानीय मान्छेहरूको प्रफुल्ल मुद्रामनहरू ! अनेकौँ ज्ञान गरिमाको प्राप्तिका निम्ति यात्रा यौटा तपस्या र साधना पनि हो । जहाँ पुग्न भने जस्तो र देखे जस्तो सजिलो हुँदैन । संसारकै अग्लो छानो–छविले गौरवका साथ उभिएको सगरमाथा । स्वाभिमानको यौटा अलग्ग अटल शिर हाम्रो । 

संसारकै छानो सगरमाथा ! हाम्रो शिरको शोभा मात्र पनि होइन, सगरमाथा । अन्तर्राष्ट्रिय चिनारीको पृथक् स्तम्भ । जाज्वल्यमान धरतीको उज्यालो ज्योति । धरतीको स्वर्ग भनेको यही हो, यही खुम्बु क्षेत्र हो । सगरमाथा पुग्ने व्यस्त पदयात्रा मार्ग । अतः कौतुहलमय पदयात्राको प्रसिद्ध गन्तव्य ।