• १६ भदौ २०८१, आइतबार

तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको भिड

blog

तौलिहवास्थित तौलेश्वरनाथ मन्दिरमा पूजापाठ गर्दै श्रद्धालु भक्तजन । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), फागुन २५ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित तौलेश्वरनाथ महादेव सहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ । नेपाल कै ठुलो शिवलिङ दाबी गरिएको मन्दिरमा हजारौँ भक्तजनहरूले पूजापाठ गरेको समितिले जनाएको छ । 

मन्दिरमा छिमेकी जिल्ला, अर्घाखाँची, रुपन्देही, भारतका सिद्धार्थनगर, नौगढ, गोरखपुर, बलरामपुर तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरूले मन्दिरमा पूजापाठ गरेको थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्प्ताका अनुसार मन्दिरमा आएका साधु, सन्त, भक्तजनहरूको पूजापाठ, सहजरुपमा दर्शन गर्नका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको बताउनुभयो । सहज ढङ्गबाट दर्शन तथा सुरक्षित पूजापाठका लागि मन्दिर परिसरमा प्रहरी परिचालन गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।


मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो । पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको थियो । मन्दिरदेखि मुख्य बाटोसम्म लामो लाइन लागेको थियो । पश्चिम द्वारदेखि बहादुरगंज जाने चोकसम्म महिला भक्तजनहरूको लाइन लागेको थियो ।


भगवान् गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्किदा उहाँका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गरेको जन विश्वास छ । मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराई वासी हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र समेत बनेको छ । भक्तजनहरूको सुरक्षालाई मध्यनजर गरी मन्दिर परिसरमा सिसी क्यामेरा समेत जडान गरिएको समितिले जनाएको छ । 


आवास तथा भोजन, स्वयंसेवक, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्था पनि गरिएको समितिले जनाएको छ यस्तै शिवराज नगरपालिका ९ शिवगढी रहेको शिवमन्दिर, बाणगंगाको लक्ष्मणघाट, रमुवा दह, धानखोला र शिवरात्रिको अवसरमा बाणगंगा नगरपालिकाको हथौसामा एक हप्ते मेला समेत सुरु भएको छ ।