• १६ भदौ २०८१, आइतबार

साझेदारी वनक्षेत्रको तारबार चोरी

blog

तारबार चोरी भएपछि रङ्गपुर साझेदारी वनक्षेत्रमा बचेका केही फलामे पोल । तस्बिर: यादवराज पुरी

यादवराज पुरी

रौतहट, फागुन २५ गते । रौतहटको रंगपुर साझेदारी वन क्षेत्रमा लगाइएको तारबार चोरी भएपछि वन पैदावारको चोरी निकासीमा व्यापकता आएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको उदासीनताको कारण चोरी निकासी नियन्त्रण गर्न लगाइएको तारबार चोरिएपछि वन विनाशमा व्यापकताआएको हो । 

हातेमालो साझेदारी वन क्षेत्रसँग जोडिएको रङ्गपुर साझेदारी वन चन्द्रपुर र गुजरा नगरपालिकासम्म फैलिएको छ । वन पैदावार चोरी निकासी नियन्त्रण गर्ने उद्देश्यले दुई वर्षअघि सो वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष जितेन्द्र चौधरीको पहलमा करिब डेढ करोड रुपियाँको लागतमा साझेदारी वनक्षेत्रमा तारबार गरिएको थियो ।

डिभिजन वन कार्यालयकै आर्थिक सहयोगमा निर्माण गरिएको तारबारको अहिले नामोनिसान छैन । साझेदारी वन समितिका तत्कालीन अध्यक्ष चौधरी भन्नुहुन्छ, “तारबार नहुँदा दाउरा बेचेर जीविका चलाउने मानिस जताततैबाट वन प्रवेश गरी हुर्कँदै गरेका सालका लाथ्रा जथाभाबी काट्ने गरेका छन् । साइकल, रिक्सा तथा अटोरिक्सा नै वन प्रवेश गराइ दिनहुँ काँचा सालका लाथ्रा चोरी निकासी भइरहँदा पनि वन कर्मचारीले वास्ता गर्दैनन् ।”

साझेदारी वन क्षेत्र नजिकै चन्द्रपुर सबडिभिजन वन कार्यालय रहेको छ । कार्यालयमा कर्मचारीको उपस्थिति पातलो रहन्छ । उपस्थित कर्मचारीले समेत वन गस्तीमा बेवास्ता गर्दा तारबार चोरिएको चन्द्रपुर नगरपालिका –६ को वन उपभोक्ताको आरोप छ । तारबार नहुँदा साझेदारी वन रंगपुर क्षेत्रबाट सालका गोलिया समेत तस्करी हुनेगरेको स्थानीय वन उपभोक्ताको आरोप छ । 

हातहतियारसहित आउने तस्करले आवश्यक परे गोलीसमेत चलाउने गरेको कारण वनगस्ती प्रभावित बनेको नाम सार्वजनिक नगर्न आग्रह गर्दै वन कर्मचारीले बताउनुभयो । 

तीन हजार ४६२ हेक्टर जमिनमा फैलिएको रंगपुर साझेदारी वनको काठ दाउरा चोरी निकासीको कारण वनक्षेत्र उजाड बनेको छ । वन्यजन्तु समेत प्रभावित बनेका छन् । आहारको खोजीमा हरिण, बँदेल, नीलगाई लगायतका जनावर वनक्षेत्र नजिकको खेतबारीको बाली खान आउनेगरेको गुजरा नगरपालिका मैराका अगुवा किसान जयराम चौधरीले बताउनुभयो ।  

डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले कर्मचारी अभावको कारण गस्ती प्रभावित बनेपछि तारबार चोरिएको बताउनुभयो । उहाँका अनुसार तारबार चोरिएपछि वन प्रवेश सहजहुँदा वन पैदावारको चोरी निकासी बढेको हो । रङ्गपुर साझेदारी वनको उपभोक्ता समिति समयमा बन्न नसक्नु पनि चोरी निकासी बढ्नुको प्रमुख कारण हो । दरबन्दीअनुरूप कर्मचारी व्यवस्थापन हुन नसक्दा वनगस्ती प्रभावकारी बन्न नसकेको उहाँ स्विकार्नु हुन्छ ।