• १६ भदौ २०८१, आइतबार

उत्कृष्ट खेलाडीलाई मेडल तथा ट्रफी प्रदान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २५ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा एमाले खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले स्ववियूले गरेको रचनात्मक कामका प्रशंसा गर्दै गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । स्ववियूद्वारा आयोजित सप्ताहव्यापी खेलकुद कार्यक्रमको समापन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

स्ववियु सभापति इश्वर कुमार थापाको अध्यक्षमा भएको सप्ताहव्यापी खेलकुद कार्यक्रममा उत्कृष्ट खेलाडीलाई सो अवसरमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको छ । सो अवसरमा क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल, सहायक क्याम्पस प्रमुख, विद्यार्थी कल्याण प्रमुख रामलाल तामाङ, अनेरास्ववियूका नेता पङ्कज भण्डारी, पेशल फुयाँल, अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष दीपेन्द्र शाही लगायतको सहभागिता थियो । 

फागुन २१ गतेबाट सुरु भएको कार्यक्रममा विभिन्न विद्याका खेलहरू सञ्चालन गरिएका थिए । जसमा भलिबल छात्रछात्रा, फुटबल छात्रछात्रा, टेबलटेनिस छात्रछात्रा, चेस, डोरी तान्ने, एथलेटिक्सतर्फ हाइजम्प, लङ्ग्जम्प, सटफुट लामो दौड, छोटो दौड, त्यस्तै रचनात्मकतर्फ वक्तृत्वकला निबन्ध लेखन हाजिर जवाफ सञ्चालन गरिएका थिए। 

खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई मेडल प्रमाणपत्र साथै ट्रफी समेत वितरण गरिएको छ ।  महेन्द्ररत्न क्याम्पसमा अध्ययनरत मध्ये करिब ५०० विद्यार्थीले खेलमा सहभागिता जनाएका थिए । उद्घाटन समारोहमा स्ववियु र प्राध्यापक सङ्घबिच मैत्रीपूर्ण भलिबल खेल समेत आयोजना गरिएको थियो ।