• १६ भदौ २०८१, आइतबार

विदेशबाट फर्किएपछि कफी उद्योग

blog

तानसेन समाचारदाता

तानसेन, फागुन २५ गते । पाल्पामा एक युवाले आफ्नै लगानीमा कफी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाको रामपुर–५, भम्बकका प्रेमबहादुर सिंहले आफ्नै लगानीमा कफी उद्योग सञ्चालन गर्नुभएको हो । 

नौ वर्षअघि दक्षिण कोरियाबाट फर्कनुभएका सिंहले २० लाख रुपियाँ लगानी गरेर कफी उद्योग सञ्चालन गर्नुभएको हो । विदेशमा सिकेको सिपलाई स्वदेशमा फर्किएर प्रयोगमा ल्याउन उद्योग सञ्चालन गरेको सिंहले बताउनुभयो । 

विदेशमा कफी कम्पनीमा काम गर्नुभएका सिंहले कफी उत्पादन, प्रशोधन र बजारीकरणको सिप सिकेर स्वदेश फर्किएको बताउनुभयो । विदेशमा सिकेको सिप प्रयोग गरेर अहिले स्वदेशमै उद्योग खोली कफी उत्पादन गरेको उहाँको भनाइ छ । 

विदेशमा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि आफूले स्वदेश फर्किएर कफी उत्पादन गर्ने सोच बनाएको सिंहले बताउनुभयो । कफीबाट स्वदेशमै राम्रो आम्दानीको सम्भावना देखेर उद्योग सञ्चालनमा ल्याएको सिंहको भनाइ छ । 

सिंहले गत वर्ष आठ लाख रुपियाँ बराबरको कफी बिक्री गरेको र यस वर्ष १० लाख रुपियाँ बराबरको कफी बिक्री गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले उत्पादन गरेको कफी नेपाल, भारत, जर्मनी, जापान र कोरियालगायतका मुलुकमा जाने गरेको छ । हाल पाल्पामा कफी प्रशोधन गर्ने उद्योग कहीँ पनि सञ्चालनमा छैन । केही वर्षअघि पल्पिङ तथा कफी बनाउने मेसिन भित्रिए पनि हाल उक्त मेसिन भए पनि सञ्चालनमा छैन । अहिले सिंह एक जना मात्रै कफी उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने उद्योगी रहनुभएको छ । रामपुर नजिकका गाउँबाट आएका काँचो कफी पल्पिङ गरेर तयारी कफी बनाएको उहाँले बताउनुभयो । 

तयारी कफी बजारमा प्रतिकिलो एक हजार आठ सय रुपियाँमा बिक्री हुने गरेको छ । स्वदेशमा तानसेन, रामपुर, पोखरा, स्याङ्जामाा कफी बिक्री हुने गरेको छ । जिल्लामा पछिल्लो समय कफी उत्पादन गर्ने किसानको सङ्ख्या ह्वात्तै घटेका बेला सिंहले भने कफी प्याकेजिङ गरेर बाहिरी मुलुकमा समेत बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । 

काँचो कफी उत्पादन गर्ने किसानको सङ्ख्या घटे पनि कफी खेती गर्ने किसानको सङ्ख्या बढाउन आफूले समेत पहल गरिरहेको सिंहले बताउनुभयो । कफी उत्पादनका लागि निःशुल्क बिरुवा वितरण गरेको र किसानलाई आवश्यक प्राविधिक सहयोग गरेको सिंहले जानकारी दिनुभयो ।