• १६ भदौ २०८१, आइतबार

उखु अभावमा चिनी मिल बन्द

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन २४ गते । उखुको अभावमा सर्लाही र महोत्तरीमा रहेका चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । आवश्यकता अनुसार उखु उपलब्ध नहुँदा ‘नो क्यान’ चिनी उद्योगहरू बन्द हुन थालेका छन् । सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग उखु अभावका कारण बन्द भएको छ । 

उद्योगमा आएका १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले बताउनुभयो । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रबन्धक सिंहले भन्नुभयो । 

यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा सञ्चालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो । 

चार दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “विगत चार दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रबन्धक रजकले भन्नुभयो, “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुई वटा मिलमध्ये एउटा ठुलो मिल मात्रै सञ्चालन गरेका छौँ ।” 

इन्दुशङ्करसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुई वटा मिल छन् । त्यसमध्ये ३५ हजार क्विन्टल क्षमताको मिल सञ्चालन गरिरहेको उद्योगले जनाएको छ । 

किसानको खेतमा उखु सकिन लागेकाले अब फागुनभित्रै उद्योग बन्द गर्ने तयारी गरिएको उखु प्रबन्धक रजकले बताउनुभयो । उहाँका अनुसार इन्दुशङ्करले २७ लाख ८५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । 

यस्तै निकै ढिलो गरी फागुन पहिलो साताबाट सञ्चालनमा आएको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग किसानले उखु ल्याउँदा सञ्चालन हुने र उखु नहुँदा बन्द हुने गरेको छ । “हाम्रो मिल निकै ढिलो गरी सञ्चालन भयो त्यसैले पर्याप्त उखु पाएनौँ,” उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले भन्नुभयो, “जे जति उखु आउँछ, त्यो सबै पेलेर केही दिनभित्रैमा फ्याक्ट्री बन्द गर्छौं ।” जिल्लाका तीन वटै चिनी उद्योगले यो वर्ष किसानलाई उद्योगमा ल्याएर उखु बुझाएको एक हप्तादेखि १५ दिनभित्रमा भुक्तानी दिइरहेको दाबी गरेका छन् । 

यसैबिच बर्दीबास समाचारदाताका अनुसार महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसक्दा मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार क्षमता अनुसार मिल सञ्चालन हुन दैनिक ४० हजार क्विन्टल उखु आवश्यक पर्छ । त्यसबाहेक पनि कारखाना परिसरमा १० हजार क्विन्टल उखु जगेडा चाहिन्छ ।  

एभरेस्टले पुस ४ गतेदेखि क्रसिङ सुरु गरेको थियो । फागुन तेस्रो सातादेखि दैनिक २० देखि २५ हजार क्विन्टल उखु मात्र आउन थालेपछि शुक्रबारदेखि ‘नो क्यान’ भएको उहाँले जनाउनुभयो । ‘नो क्यान’ भएदेखि दुई दिन बिराएर मिल चल्न थालेको छ । यो अवस्थाले चिनी उत्पादन प्रभावित हुनुका साथै कारखानाले दैनिक लाखौँ मूल्य बराबरको क्षति बेहोर्नु परेको प्राविधिकले जनाएका छन् । 

कुनै पनि कारणले एक दिन क्रसिङ रोकिँदा चिनी बन्ने प्रक्रियामा रहेको ३० हजार लिटरभन्दा बढी उखुको रस (क्यान जुस) र स्टिम बनाउने इन्धन खेर जान्छ । श्रमिक र उत्पादन लागतसमेत बढ्न गई उद्योगले दैनिक १० लाख जतिको क्षति बेहोर्नुपर्ने प्राविधिक शाखाले जनाएको छ । 

आवश्यक उखु आपूर्ति हुन नसकेपछि मिलले दुई दिनअघि सार्वजनिक सूचना जारी गरी बाँकी रहेका उखु  जति सक्दो छिटो उपलब्ध गराउन किसानलाई आग्रह गरेको छ । 

एभरेस्टले यो आर्थिक वर्षमा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु क्रसिङ गरी तीन हजार छ क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । उखु अभावले क्रसिङ र उत्पादन दुवैमा कमी आएको शुक्लाले बताउनुभयो । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाका अनुसार किसानका खेतमा उखु सकिँदै गएकाले मिल गेटमा उखु आपूर्तिमा कमी आएको हो । 

क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसर बाहिर महोत्तरी र सर्लाहीका ३३ वटा खरिद केन्द्रमार्फत १० लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था गरिएको थियो । उखु खेत रित्तिँदै गएकाले धेरैजसो खरिद केन्द्रहरू बन्द भइसकेका छन् । यसले गर्दा उखु आपूर्ति पनि कम हुँदै गएको उहाँले बताउनुभयो ।