• १६ भदौ २०८१, आइतबार

कुँडुले–मालिका–पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो

blog

गलकोट (बागलुङ), फागुन २३  गते  । यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको चार वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलो गरी निर्माण व्यवसायीले काम थालेको हो । 

दुई वर्षभित्रै स्तरोन्नति तथा कालोपत्र सक्नेगरी विसं २०७६ असोज २८ गते सम्झौता भएको सडक अहिले कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्ने गरी कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलाेमिटरमा कालोपत्रको काम थालिएको जनाइएको छ । 

बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको बागलुङ–५ का पूर्वजनप्रतिनिधि शिव सापकोटाले बताउनुभयो । तीन पटकसम्म सम्झौता मिति थपिएको उहाँको भनाइ छ । 

अलपत्र परेको सडक कालोपत्र गर्न थालेपछि यहाँका स्थानीय खुसी भएका सापकोटाले बताउनुभयो । पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बन्न थालेपछि स्थानीय आक्रोशित भएकामा अहिले कामले निरन्तरता पाएसँगै खुसी भएका छन् । 

सडक कालोपत्र भएपछि पञ्चकोट जाने तीर्थालुलाई सहज हुने स्थानीय बताउँछन् । चार वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि माघदेखि काममा फर्केको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो । 

उहाँका निर्माण व्यवसायीलाई पत्र पठाउँदा पनि काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच काम गर्ने प्रतिबद्धता जनाएलगत्तै स्तरोन्नतिले  गति लिएको हो । 

“गत पुस ३ गतेको सहमति लगत्तै कामले गति लिएको छ । यसअघि उक्त सडकको पाङ्ग्रेखोलामा एक सय मिटर सडक ढलान गरिएको थियो । ग्राभेल सकेर निर्माण व्यवसायीले मालिकाबाट कालोपत्र गर्न थालेको छ”, घिमिरेले भन्नुभयो, “सम्झौताअनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ । यो निर्माण व्यवसायका लागि अन्तिम मौका हो ।” 

तीन पटकसम्म म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेसँगै एक वर्षपछि काममा फर्केको थियोे । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत रू. ३१ करोड लागतमा १४ किमी सडक कालोपत्र गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।   

करिब ७६ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रको मात्रै काम बाँकी रहेकाले चैत मसान्तभित्रै काम सकिने निर्माण कम्पनीका स्थलगत प्रमुख रवीन चापागाईंले बताउनुभयो । कुँडुले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि बजेट विनियोजन भएको थियो । 

प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई स्तरोन्नति गर्न थालिएको छ । रासस