• १६ भदौ २०८१, आइतबार

दुई जनाको शव फेला

blog

विजयकुमार साह 

ढल्केबर, फागुन २३ गते । धनुषाको मिथिला नगरपालिकामा दुई दिनको अवधिमा दुई जनाको शव भेटिएको छ । मिथिला नगरपालिका–६, ढल्केबरमा  मागी खाने एक महिलाको शव सोमबार भेटिएको थियो । 

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार होटल तथा पसलमा गएर मागी खाने क्षीरेश्वरनाथ नगरपालिका–७, दुर्गाटोलकी अन्दाजी ४० वर्षीया राधा बस्नेतको शव भेटिएको हो । घटनास्थलको मुचुल्का गरी ती महिलाको शव उहाँका श्रीमान् कालीप्रसाद बस्नेतलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । 

मानसिक सन्तुलन बिग्रेकी ती महिला विगत पाँच/छ वर्षदेखि ढल्केबर र वरपरको गाउँ डुलेर मागी खाने गर्दैआएकी थिइन् । 

यस्तै, मङ्गलबार साँझ मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलामा एक जना पुरुषको शव फेला परेको थियो । क्षीरेश्वरनाथ नगरपालिका–५, गिरीटोलका अन्दाजी ३५ वर्षीय नागेश्वर यादवको शव भेटिएको हो । 

प्रहरीका अनुसार मृतक यादवको शरीरमा कुनै घाउचोट देखिएको छैन । अत्यधिक रक्सी सेवनबाट यादवको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि मङ्गलबार राति नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।