• १६ भदौ २०८१, आइतबार

माओवादी जनयुद्धका सहिद परिवारलाई सम्मान

blog

मिक्वाखोलाका सहिद तथा बेपत्ता परिवारलाई सम्मान । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २२ गते ।
 ताप्लेजुङमा सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।

सहिद तथा बेपत्ता परिवारजनलाई नेकपा (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिका कमिटीले सम्मान गरेका छन् । कपडा वितरण गर्नुका साथै सम्मानपत्रद्वारा सहिद परिवारलाई सम्मान गरिएको बताइएको छ ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका माओवादीका पालिका कमिटी अध्यक्ष राजन लिम्बू (मुक्ति) काअनुसार सोमबार खेजेनिमका सहिद तथा बेपत्ता परिवारलाई कपडा वितरण गरी सम्मान गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको स्थानीय कमिटीले संयुक्त कार्यक्रम गरी सहिद परिवारलाई सम्मान गरिएको अध्यक्ष लिम्बूले जनकारी दिनुभयो ।

उहाँकाअनुसार सहिद तथा बेपत्ता परिवारलाई सम्मानसँगै सहिदको समाधिस्थलमा सरसफाइ तथा झण्डोत्तोलनका कार्यक्रमहरू गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकामा सहिद तथा बेपत्ता परिवारको सङ्ख्या २८ रहेको पनि माओवादी केन्द्र गाउँपालिका कमिटीले जनाएको छ ।

त्यस्तै, मिक्वाखोला गाउँपालिकाका ५ वटै वडाका सहिद परिवारलाई सम्मान गरिएको माओवादी केन्द्र पालिका कमिटी अध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो । गाउँपालिका उपाध्यक्षसमेत रहनुभएका पार्टी अध्यक्ष लामाले सहिद तथा बेपत्ता परिवारका १८ जनालाई सम्मान गरिएको बताउनुभयो ।

माओवादी जनयुद्धका क्रममा सहिद तथा बेपत्ताजनले पुर्‍याएको अतुलनीय योगदानका कारण गणतन्त्र स्थापना भएको अथौत देशमा परिवर्तन सम्भव भएको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिँदै आएको माओवादीले जनाएको छ । माओवादीले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहको रूपमा मनाउँदै आएको छ ।