• १६ भदौ २०८१, आइतबार

सामुदायिक वनमा पक्की संरचना विकास नगर्न निर्देशन

blog

झापाको एक सामुदायिक वनभित्रको संरचना ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २१ गते । झापामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचनाहरू बनाउने प्रतिस्पर्धा भइरहेको छ । यस विषयमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले यस्तो कार्य रोक लगाउन निर्देशन दिनुभएको छ । 

पर्यापर्यटन विकास गरेको भन्दै सामुदायिक वनले पक्की संरचना बनाउने कार्य नरोके कारबाही गरिने चेतावनी दिँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो । मेचीनगर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रको अवलोकन गर्न आइतबार झापा आउनुभएका मन्त्री उप्रेतीले सामुदायिक वन क्षेत्रलाई प्राकृतिक रूपमा नै विकास गरिनुपर्ने भन्दै संरचनाहरू बनाएर वन क्षेत्रलाई प्रभावित पार्ने काम नगर्न आग्रह गर्नुभयो ।

यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीलाई समेत असर पर्ने गरी र प्राकृतिक सुन्दरतालाई ओझेलमा पार्ने गरी कतिपय क्षेत्रहरूमा पक्की संरचनाहरू बनिरहेको प्रति ध्यानाकर्षण भएको उहाँको भनाइ छ । आफूले यस विषयमा डिभिजन वन कार्यालयहरू सम्बन्धित निकायहरूलाई समेत स्पष्ट रूपमा निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

सामुदायिक वनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि प्रदेश सरकार सकारात्मक रहेको भन्दै यही वनभित्रकै काठहरूको प्रयोग गर्न सकिने उहाँको भनाइ छ । मापदण्ड अनुसार कटान भएका काठहरूको प्रयोग गरेर झनै राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ, उहाँले भन्नुभयो । 

पक्की संरचनाहरू बनाउने कार्य निरुत्साहित गर्नका लागि आफूहरूले प्राकृतिक रूपमा नै बनाइने पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिने समेत उहाँको भनाइ छ । भौतिक तथा पक्की संरचनाको योजना लिएर आउनु भयो भने त्यो स्वीकार गरेर बजेट छुट्याउन सकिँदैन, उहाँले स्पष्ट पार्नुभयो ।