• १६ भदौ २०८१, आइतबार

‘जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक’

blog

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रियामा बोल्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन २१ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रियामा बोल्नुहुँदै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताउनुभएको हो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रूपमा जन्मिएको सन्तान भएको उहाँको भनाइ छ । महासचिव विप्लवले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताउनुभयो ।

उहाँले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको जानकारी दिनुभयो । उहाँले जनयुद्धको प्रतिफल नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो ।

‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रूपमा जन्मिएको सन्तान हो । जनयुद्धलाई औचित्यहीन भन्न थाले । जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरि इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरू अपराधीजस्तो ।,’’ महासचिव विप्लवले भन्नुभयो, ‘‘र अपराधीहरू नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ । उल्टिएको छ तर सम्भव छैन । इतिहासको मूल्य फरक कुरा हो । त्यो केही लाछी मान्छेहरू, क्रान्तिमा हारेका मान्छेहरू, पछारिएर धुरमुरिदैँ उठेका अन्धाहरूले भनेजस्तो कुरा होइन त्यो । अरू विदेशी तत्त्वहरूले गुन्गुनाउने कुरा जस्तो होइन त्यो । कुण्ठा पोख्ने विषय होइन त्यो ।’’

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठुलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताउनुभयो । आफूहरूको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उहाँको भनाइ छ ।

‘‘जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रूपमा नै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भूमिका छ । तर जो मान्छेहरूले जनयुद्धलाई नकारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरू सुखानीकै जङ्गलमा जसरी सुखानीका सहिदहरूलाई समाप्त पार्छु भन्दाखेरि सिद्धिएका थिए नि, ती मान्छेप नि त्यसरी नै समाप्त हुन लायक हुन्छन् । अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठुलो होड छ । दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरू, क्रान्तिकारीहरू, कम्युनिष्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागी छ ।,’’ महासचिव विप्लवले भन्नुभयो ‘‘हाम्रो गन्तव्य सङ्घीय लोकतान्त्रिक गणतन्त्र मात्रै होइन, हाम्रो सपना वैज्ञानिक समाजवाद हुँदै मानव जातिलाई वर्गविहीन, शोषणविहीन, देशविहीन, जाति विहीन साम्यवादमा पुर्याउने हाम्रो आदर्श छ । हामी त्यसमा जान चाहन्छौँ । तर आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर, देशलाई अरुअरुको जिम्मा लाएर जान सकिँदैन । यो कुरा स्पष्ट हो । यसको नेतृत्व पनि क्रान्तिकारीहरू, समाजवादीहरू, कम्युनिष्टहरु, वामपन्थीहरू, देशभक्त, गणतन्त्रवादीहरूले नै गर्नुपर्छ भन्ने हाम्रो सुस्पष्ट धारणा छ ।’’