• १६ भदौ २०८१, आइतबार

स्वयंसेवी रक्तदाताको सङ्ख्या वृद्धि हुँदै

blog

रक्तदान गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का ।

गोकर्ण पौडेल 

तुलसीपुर फागुन २१ गते । जिल्लामा स्वयंसेवी रक्तदाताको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा पाँच हजार तीन सय ९१ जना रक्तदातामध्ये पाँच हजार एकसय ३८ जना स्वयंसेवी रक्तदाता रहेका छन् । 

यो करिब ९८ प्रतिशत स्वयंसेवी रक्तदाता हुन् । शोध भर्ना रक्तदाताको सङ्ख्या दुई सय ५३ दुई प्रतिशत मात्र रहेको छ । नेपाल रेडक्रस सोसाइटी दाङका कार्यालय प्रमुख विश्राम अधिकारीका अनुसार करिब ९८ प्रतिशत स्वयंसेवी रक्तदाताको खोजीका आधारमा छन् । 

अधिकारीका अनुसार रगतको अभाव हुन थालेपछि जिल्लामा जन्मदिन, सङ्घ संस्थाका वार्षिकोत्सव, दिवसका अवसरमा रक्तदानका कार्यक्रम हुँदैआएका छन् । जिल्लामा एक वर्षको अवधिमा १४४ सङ्घ संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । 

जिल्लामा नेपाल रेडक्रस सोसाइटीले लमही, घोराही र तुलसीपुर क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा तीन ठाउँमा रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । एक वर्षको अवधिमा सबैभन्दा बढी घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा ७६ वटा सङ्घ संस्थाले आयोजना गरेका कार्यक्रममा दुई हजार ७८ जनाले रक्तदान गरेका छन् । 

त्यस्तै तुलसीपुरमा ४७ सङ्घ संस्थाले  आयोजना गरेको कार्यक्रममा एक हजार २४ जना र सबैभन्दा कम लमही क्षेत्रमा २१ सङ्घ संस्थाले ६ सय जनाले रक्तदान गरेका छन् । 

जिल्लामा घोराही उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउँदै आएको छ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले निःशुल्क रूपमा रगत उपलब्ध गराउँदैआएको छ । यो सुविधा सरकारी अस्पतालबाट सेवा लिनेका लागि मात्र रहेको छ । 

जिल्लामा सबैभन्दा बढी १८ देखि ३० वर्ष उमेरका रक्तदाताको सङ्ख्या रहेको छ । जुन तीन हजार एक सय ३६ रहेको छ । सबैभन्दा कम ५१ देखि ६० वर्ष उमेरका एक सय नौ जना नियमित रक्तदाताको सङ्ख्या रहेको छ । ३१ देखि ४० वर्ष उमेरको रक्तदाता सङ्ख्या एक हजार ६ सय ३४ र ४१देखि ५० वर्ष उमेरको रक्तदाता सङ्ख्या पाँचसय दश रहेको छ । एक वर्षको अवधिमा जिल्लामा चारसय नयाँ रक्तदाता थपिएका छन् । तीमध्ये तीन सय ३८ जना पुरुष र ८३ जना महिला रहेको नेपाल रेडक्रस सोसाइटीको तथ्याङ्क छ ।