• ९ मंसिर २०८१, आइतबार

आउने निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई १०१ किलोको मालाले सम्मान गरिँदै । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन २० गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई जनताले बहुमत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

शनिबार धनुषाको हंसपुर नगरपालिका –५ निकालमा एमाले हंसपुर नगर कमिटीले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले  मधेशको विकास र समृद्धिका लागि काम गर्नुभएको स्मरण गर्नुभयो ।

एमालेले आफ्नो नेतृत्वको सरकारका पालामा मधेशको विकासका लागि काम गरेका कारण जनताले एमालेलाई मधेश प्रदेशमा पहिलो पार्टी बनाएको उहाँले स्मरण गर्नुभयो । मधेशको समृद्धि र विकासका लागि यहाँका जनताले एमालेलाई मत दिन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । 


अहिले गठबन्धन सरकारको पालामा विकास निमार्णका कामले गति लिन नसकेको उहाँको भनाइ छ । एमालेमा अन्य पार्टीबाट प्रवेश गर्नेको लहर चलेकाले एमालेको मिसन ८४ लाई ध्यानमा राखेर कामकाज गर्न नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपाल, लोसपा नेपाल, जनमतसहितका पार्टीबाट पाँच सयभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । 

नवप्रवेशीलाई महासचिव पोखरेल, एमाले धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, एमालेका केन्द्रीय सदस्य एवम धनुषा क्षेत्र नं. १ का इन्चार्ज सञ्जीव झासहितका नेताहरुले फूलको माला र अविर लगाएर नवप्रवेशीलाई स्वागत गर्नुभयो । 


एमाले हंसपुर नगर कमिटीका अध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतो, एमाले संसदीय दल मधेश प्रदेशका नेता सरोजकुमार यादव, एमालेका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य हरिनारायण महतो, उमाशङ्कर अरगरियालगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा एमाले कार्यकर्ताले महासचिव पोखरेललाई १०१ किलोको फूलको माला लगाई सम्मान गर्नुभयो ।