शिवशङ्कर मिश्र
बारा, फागुन १९ गते । आदर्शकोतवाल गाउँपालिका–६ का कुशवाहाले २०६० साल पुस २० गते लिएको चार लाख रुपियाँ ऋणको २८ लाख रुपियाँ भुक्तानी गरे पनि साहुले थप ४५ लाख रुपियाँ मागेपछि कुशवाहा परिवारको बिचल्ली भएको छ ।
कुशवाहाले २०६० साल पुस २० गते साढे ३२ कट्ठा जग्गा धितो राखी दुई लाख र २०६७ साल असार २ गते साढे १७ कट्ठा धितो राखी थप दुई लाख गरी सिम्रौनगढ नगरपालिका–८, कर्चोवा टोलका साहु जैसीलालप्रसाद कलवारसँग जम्मा चार लाख रुपियाँ ऋण लिनुभएको थियो । साहु कलवारसँग चार लाख रुपियाँ ऋण फिर्ता गरेपछि जग्गा फिर्ता हुने सहमति पनि गरिएको थियो ।
ऋणसहितको पैसा फिर्ता गर्न साढे दुई बिघा जमिनमध्ये २३ कट्ठा जग्गा बिव्रmी गरी २८ लाख ४४ हजार रकम साहु कलवारले लिएपछि सोही मितिमा १० कट्ठा जग्गा फिर्ता दिएको पीडित कुशवाहाले बताउनुभयो । साहु कलवारको नाउँमा धितोस्वरूप दर्ता रहेको १७ कट्ठा जग्गा थप नौ लाख रुपियाँ रकम दिएपछि फिर्ता गर्ने स्थानीय भद्रभलादमीबिच सहमति बनेको थियो । सोही अनुसार जग्गा फिर्ता पाउन रकम दिन लाग्दा साहु कलवारले आनाकानी गर्दै आएको पीडित कुशवाहाको भनाइ छ ।
साहु कलवारसँग लेनदेन गरेको सबै प्रमाण आपूmसँग सुरक्षित रहेकाले मिटरब्याजीको अनुसन्धानमा खटेका अधिकृतलाई देखाउँदा आफ्नो जग्गा फिर्ता पाउने भनेपछि न्याय मिल्ने आसमा रहेको कुशवाहाकी दिदी नगिताकुमारी बताउनुहुन्छ । यस विषयमा जानकारी लिन खोज्दा साहु राजेश्वर जैसवाल र जैसीलालप्रसाद कलवारले कुरा गर्न चाहनुभएन ।
हृदयाघातले ऋणीको मृत्यु
यसैबिच सिम्रौनगढ नगरपालिका–८ बस्ने २५ वर्षीय अजयप्रसाद यादवको हृदयाघातले मृत्यु भएको छ । सात वर्षअघि चार लाख रुपियाँको सावाँ ब्याज २६ लाख रुपियाँ ऋण तिर्न नसक्दा उनको मृत्यु भएको परिवारजनले दाबी गरेको छ ।
मृतकका वृद्ध बुवा राजेन्द्र राय यादवलाई क्यान्सर रोग लागेपछि उपचार गराउन २०७३ साल पुस १ गते अजयले स्थानीय राजेश्वर साह कलवारसँग डेढ कट्ठा जग्गा धितो राखेर तीन रुपियाँका दरमा मिटरब्याजमा चार लाख रुपियाँ ऋण लिएका थिए तर डेढ कट्ठाको साटोमा पाँच कट्ठा जग्गा पास गराएको रहस्य खुलेको छ । साबिक कर्चोवा गाविस वडा नं. १ को कित्ता नं. ६ को चार धुर, कि.नं. ७ को तीन धुर, कि.नं. २४० को एक कट्ठा चार धुर ११ कनवा, कि.नं. २४२ को छ धुर र कि.नं. २४५ को एक कट्ठा जग्गा साहुले राजीनामा गराई सो जग्गा बैङ्कमा धितो राखेका मृतकका भाइ सन्दीप यादवले बताउनुभयो । साहु नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पदबाट अवकाश प्राप्त कर्मचारी हुन् ।
फागुन १२ गते शनिबार मृतक अजयले बुवालाई लिएर साहुको पैसा फिर्ता गर्न हिसाब गर्नका लागि वडाध्यक्ष रामदिनेशप्रसाद यादव, वडा सदस्य चनरदेव जैसवाल, सिकेन्द्रप्रसाद, रूपनारायणप्रसाद साहसहित केही व्यक्तिलाई लिएर साहुको घरमा गएका थिए । अजयले लिएको ऋण चार लाख सावाँको हालका दिनसम्म २६ लाख रुपियाँ भएको र साहुलाई पटक पटक गरी बुझाएको दुई लाख ३५ हजार रुपियाँको ब्याज सात लाख भएको थियो । यसरी दुवै पक्षबिच आआफ्नो रकमको सावाँ ब्याज मिनाहा गर्न लाग्दा केही फरक पर्दै आएको थियो ।
पूरा हिसाबमा एकमुष्ट १९ लाख रुपियाँ दिएमा ऋण मुक्त गरिने साहुले बताएपछि ऋणी अजय सोही समयदेखि अस्वस्थ भई विचलित भएको जानकारी पञ्चायतमा सबैलाई सहभागी गराई घर फिर्ता भएका थिए । सोही दिन शनिबार साँझ ४ बजे हृदयाघात भएर अजयको मृत्यु भएको स्थानीयले बताएका छन् । बुवा राजेन्द्र राय यादवले साहुले रकम फिर्ता गर्न दिएको दबाबका कारण छोरोको मृत्यु भएको आरोप लगाउनुभएको छ ।
अजयको बिहे गएको असारमा भएको थियो । वडाध्यक्ष रामदिनेशप्रसाद यादव आफैँ पनि मिटरब्याजीको कारोबार गर्ने व्यक्ति रहेकाले यो मुद्दा गाउँमै मिलाउन लागेको स्थानीयले बताएका छन् । टोलमा भुनेश्वर जैसवाल, लक्ष्मण यादवलगायतका व्यक्तिहरूले मिटरब्याजीको कारोबार गर्दै आएका छन् ।