• १ वैशाख २०८१, शनिबार

‘कोरला नाका पूर्ण रूपमा सञ्चालन गरेर समृद्धिको ढोका खोल्छौँ’

blog

अध्यक्ष, मुस्ताङको लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन् । पाँच वडा रहेको गाउँपालिकाको पूर्व, पश्चिम र उत्तरमा चीन पर्दछ भने दक्षिणमा मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिका पर्दछ । चीनसँग सिमाना जोडिएको कोरला नाका यसै गाउँपालिकाभित्र पर्दछ । चार महिनाअघिदेखि कोरला नाका पुनः सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार निर्माण गरेर कोरला नाका पूर्ण रूपमा सञ्चालन गर्न सके लोमान्थाङले समृद्धि हासिल गर्नसक्ने पालिका अध्यक्ष टसी न्हर्वु गुरुङ बताउनुहुन्छ । यसै सन्दर्भमा पालिकाले गरेका प्रयास र आगामी योजनाका सम्बन्धमा अध्यक्ष गुरुङसँग गोरखापत्रका पत्रकार ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : 

  गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि हालसम्म के कस्ता काम गर्नुभयो ?

मैले चुनावी प्रतिबद्धता अनुसार विकास निर्माण र अन्य कामकाजलाई अगाडि बढाएको छु । भौगोलिक विकटता र फरक किसिमको हावापानीका कारण यहाँ काम गर्न चुनौती छ । चुनौतीको सामना गर्दै विकास निर्माण र पालिकावासीलाई सहज रूपमा सेवा प्रवाह गरेका छौँ । लोमान्थाङ रिङरोड र बस्तीमा सामुदायिक भवन निर्माण गरेका छौँ । हाम्रो निरन्तरको प्रयासपछि मुस्ताङका दुई गाउँपालिकाका लागि भए पनि कोरला नाका खुलाउन सफल भयौँ । 

खानेपानी योजनाको मर्मतसम्भार र पाँच शय्याको अस्पताल भवन सम्पन्न हुँदै छ । आलु उत्पादनमा जोड दिएका छौँ । लोमान्थाङमा स्वास्थ्य ल्याब सञ्चालनमा गरेका छौँ । सिँचाइ सुविधाका लागि कुलो निर्माण, कृषि उत्पादनमा जोड, गुम्बा विद्यालयको मर्मतसम्भार तथा संरक्षण गरेका छौँ । लोमान्थाङको दरबारपरिसरमा ढुङ्गा छापेका छौँ । विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिताको सुरुवात गरेका छौँ । विभिन्न मौलिक कला संस्कृतिको संरक्षणमार्फत पर्यटन प्रवर्धनमूलक काम गरेका छौँ । लोमान्थाङको फोहोर व्यवस्थापन गर्ने काम गरेका छौँ ।   

 कोरला नाका पुनः सञ्चालनमा आएपछि यहाँको जनजीवनमा कस्ता परिवर्तन देखिएका छन् ?

कोरला नाका सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज भएको छ । यहाँको उत्पादन कोरला नाका हुँदै चिनियाँ बजारमा निर्यात भएको छ । दैनिक उपभोग्य वस्तु सुलभ दरमा आयात भएको छ । साथै चीनमा निर्मित अन्य सामग्री सहज रूपमा ल्याउन पाइएको छ । नाका खुलेपछि पर्यटक आगमन वृद्धि भएको छ जसका कारण होटल व्यवसायी पनि उत्साही छन् । चिनियाँ सामान यहाँका स्थानीयले प्रदेशका अन्य बजारमा पु¥याएर आम्दानी गरेका छन् । यहाँको व्यापार व्यवसाय फस्टाएको छ । लोमान्थाङवासी खुसी भएका छन् । 

 कोरला नाका पूर्ण रूपमा सञ्चालनका लागि के प्रयास भएको छ ? 

कोरला नाका पूर्ण रूपमा सञ्चालन गराउन हामीले प्रदेश र सङ्घ सरकारलाई निरन्तर दबाब दिँदै आएका छौँ । नेपालतर्फ भौतिक पूर्वाधार निर्माण गरेर नाका सञ्चालनमा ल्याउन हाम्रोतर्फबाट पहल भइरहेको छ । अहिलेलाई यहाँका स्थानीयको जनजीवन सहज होस् भनेर मात्र दुई गाउँपालिकाका स्थानीयलाई प्रवेश अनुमतिपत्रका आधारमा मात्र आवतजावत गर्न र सामान आयातनिर्यातको व्यवस्था छ । नाका सञ्चालन गरेर गण्डकी प्रदेशभरि नै चिनियाँ सामान पुग्नु पर्दछ । कोरला नाका पूर्ण रूपमा सञ्चालन भएमा मात्र यहाँको विकास र समृद्धिको ढोका खुल्ने छ । रोजगारी सिर्जना हुन्छ । अर्कोतर्फ कोरला नाका हुँदै तिब्बतको कैलाश मानसरोवर जाने मार्ग खुलाउन पनि हामीले पहल गरेका छौँ । 

 लोमान्थाङको मौलिक संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धनका के कस्ता काम भएका छन् ?

लोमान्थाङको प्राकृतिक सम्पत्तिलाई जोगाइराख्न निकै चुनौती छन् । यहाँ अनौठो भूगोल, धार्मिक कला संस्कृति र गुम्बा अवस्थित भएकाले उपल्लो मुस्ताङ पर्यटकीय ‘हब’ का रूपमा विकास हुन लागेको छ । यहाँको कला संस्कृति र मनोरम वातावरणको अवलोकन गर्न पर्यटक आउँछन् । त्यसैले पालिकाले यहाँको पुरानो मौलिक संस्कृतिको संरक्षण, मौलिकता, वेशभूषा र भाषाको संरक्षणका लागि समय समयमा तालिमको व्यवस्था गरेको छ । यहाँका मौलिक नाचको संरक्षण र पुस्तान्तरणका लागि जुटेका छौँ । आमा समूह र क्बललाई संस्कृति संरक्षणमा टेवा पु¥याउने खालका तालिम दिने गरेका छौँ । ऐतिहासिक स्थलको संरक्षण र प्रचारप्रसारलाई जोड दिएका छौँ । मुस्ताङी राजाको दरबार संरक्षण र प्रवर्धनमा पालिकाले जोड दिएको छ । 

 लोमान्थाङलाई निषेधित क्षेत्रबाट हटाउनु पर्दछ भन्ने यहाँको माग पनि छ नि ? 

हो, यो मागलाई हामीले जोडतोडका साथ उठाएका छौँ । निषेधित क्षेत्र भएकाले विदेशी पर्यटकको आगमनमा कमी छ । आउने पर्यटकलाई पनि शुल्क धेरै भएको छ । यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि मागपत्र बुझाएका छौँ । निषेधित क्षेत्र हटाउन नसके पनि पर्यटक प्रवेश शुल्कलाई घटाउन पहल गरेका छौँ । 

 कृषि र पशुपालनका क्षेत्रमा के कस्ता काम भएका छन् ?  

हाम्रो विकास र समृद्धिका आधारमध्ये कृषि र पशुपालन हो । पशुपालनलाई प्राथमिकतामा राखेर पशुपालक किसानलाई अनुदान दिने, चितुवाको आक्रमणबाट जोगाउन तारजालीसहितको गोठ निर्माणमा अनुदान दिने, कृषि बिउबिजन वितरण, निःशुल्क खोप, प्रत्येक वडामा प्राविधिक खटाएर औषधी वितरण गर्ने जस्ता काम गरेका छौँ । कृषि र पशुपालन पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका छौँ । वडा नम्बर ३ फुवालाई आलु पकेट, १ नम्बर छोसेरलाई तोरी र उवा पकेट क्षेत्र घोषणा गरिएको छ । साथै च्याङ्ग्रापालन र स्याउखेती विस्तारका लागि किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेका छौँ ।   

 शिक्षा, खानेपानी र रोजगारीका क्षेत्रमा के कस्ता काम गरिरहनुभएको छ ? 

चिसो मौसममा यहाँ विद्यालय सञ्चालन गर्न कठिन हुन्छ । त्यसैले पोखरामा सुविधासम्पन्न २४ कोठाको चारतले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । पोखरामा आवासीय सुविधासहित विद्यालय सञ्चालन गर्ने सोच बनाएका छौँ । साथै लोमान्थाङमा पनि आवासीय विद्यालय बनाउने योजना छ । गुम्बा विद्यालयमा २० प्रतिशत पालिका र ८० प्रतिशत भारतीय सहयोगमा आवासीय विद्यालय बनाउँदै छौँ । प्रदेश सरकारको योजनामा १, २, ५ र ३ नम्बर वडामा खानेपानी योजना सम्पन्न भएको छ । ४ नम्बर वडामा योजना माग गरेका छौँ । कुक तालिम, पर्यटन पदमार्ग निर्माण, कृषिको तालिम सञ्चालन गरेर रोजगार सिर्जना गरेका छौँ । 


  सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा के कस्ता योजना सञ्चालित छन् ? 

सङ्घ सरकारको विशेष अनुदान एक करोड र पालिकाको एक करोड गरी दुई करोड रुपियाँको लागतबाट वडा नम्बर १, २, ५ र ४ जोड्ने रिङरोड सडक निर्माण योजना अघि बढेको छ । अर्कोतर्फ प्रदेश सरकारको विशेष अनुदान एक करोड र पालिकाको ७० लाख गरी एक करोड ७० लाख रुपियाँमा  ५, ३, ४ जोड्ने साढे तीन किलोमिटर सडक निर्माण गत वर्षदेखि सुरु भएको छ । 


  पालिकामा के कस्ता समस्या र चुनौती देख्नुभएको छ ? 

दुर्गम भएकाले सामान ढुवानीको निकै समस्या छ । हिउँदमा विकास निर्माणका काम गर्न सकिँदैन । चैत, वैशाख र जेठ महिनामा काम गरेर पूरै बजेट सक्नुपर्ने मुख्य चुनौती छ । सीमित स्रोतसाधनका कारण विकास निर्माणलाई गति दिन सकिएको छैन । यहाँका पछिल्लो समय विदेश जाने प्रवृत्ति बढेको छ । यसलाई रोक्न चुनौती छ ।