• ९ मंसिर २०८१, आइतबार

बर्दिबासमा आदिवासी जनजाति महोत्सव फागुन २४ देखि सुरु

blog

बर्दिबास बजार । तस्बिर: गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन १६ गते । बर्दिबासमा आदिवासी जनजाति महोत्सवको चौथो संस्करण अर्को सातादेखि हुने भएको छ । महोत्सवले सुस्त बनेको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा योगदान पुग्ने जनाइएको छ । 

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले बर्दिबास नगरपालिकाको संरक्षकत्वमा फागुन २४ गतेदेखि चैत ५ गतेसम्म महोत्सव आयोजना गर्ने जनाएको हो । 

महोत्तरीमा बसोबास गर्ने मगर, भुजेल, तामाङ, नेवार, थारु, दनुवार, राई, मण्डल, माझीलगायत ९ प्रकारका जनजातिको सांस्कृतिक परम्परा र सम्पदाको संरक्षण संवर्द्धनमा योगदान पुग्ने आयोजक नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष धननारायण जोशीले बताउनुभयो । 

यस अवसरमा जनजातिसँग सम्बन्धित भेसभुसा, खानपान र रैथाने उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखिएको छ । महोत्सवमा १ करोडभन्दा बढीको व्यापार हुने आयोजकको अपेक्षा छ । डाक बढाबढबाट १३ लाखमा महोत्सवको  ठेक्का बन्दोबस्ती  भइसकेको छ । 

महोत्सवमा आफ्नो पहिचान र संस्कृति झल्कने पोसाक र पहिरनमा सहभागी हुन सबै जनजातिलाई आह्वान गरिएको छ । यो सहभागिताले ओझेलमा परेका जनजातिका पहिचान, परम्परा र संस्कृतिको संरक्षण संवर्धनमा मद्दत पुग्ने आयोजकको विश्वास छ । 

‘आदिवासी जनजातिको विकास, उत्थान, पहिचान तथा व्यापार प्रवर्द्धनमा योगदान पुग्ने उद्देश्यले चौथो संस्करणको महोत्सव गर्न लागेका हौँ’ अध्यक्ष जोशीले भन्नुभयो ।

महोत्सव स्थलमा व्यापारिक प्रयोजनका १५० स्टल राखिनेछ । तीमध्ये ९ स्टल आदिवासी जनजातिका विविध प्रदर्शनका लागि छुट्याइएको छ । बाँकी रहेका १ सय ४१ स्टलमध्ये  रैथाने उत्पादनका लागि निःशुल्क र स्थानीय व्यापारीका लागि २५ प्रतिशत छुटको सुविधा छ ।

महोत्सवमा स्थानीय जनजाति कलाकारले लोकनृत्य र सांस्कृतिक कार्यक्रमको भव्य तयारी गरेको जनाएका छन् । 

चौथो संस्करणमा करिब १ लाखभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अनुमान छ । प्रतिव्यक्ति प्रवेश शुल्क ६० रुपियाँ तोकिएको छ । विद्यार्थीका लागि शनिवार ५० प्रतिशत छुटको व्यवस्था छ । सञ्चारकर्मी, ज्येष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क सुविधा छ । 

बचत भएको रकमबाट मानवीय सहयोग र सार्वजनिक हितमा खर्च गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष हर्कबहादुर तामाङले बताउनुभयो । 

महोत्सवलाई सफल पार्न नागरिक समाज , राजनीतिक दल , व्यापारी , बुद्धिजीवी , सञ्चारकर्मी , पेसाकर्मी , सुरक्षाकर्मी सबैसँग हार्दिक अपिल गर्दछाैँ’ वरिष्ठ उपाध्यक्ष तामाङले आग्रह गर्नुभयो ।