• २१ जेठ २०८१, सोमबार

स्ट्रिट लाइटले राजमार्गका सडक झिलिमिली

blog

छ लेन सडकमा बलेको स्ट्रिट लाइट । तस्बिर : दीपक उपाध्याय

धनगढी, फागुन १४ गते । कैलालीको धनगढीस्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिकाको कार्यालयले ३१ लाख रुपियाँ खर्चेर छ लेन सडकमा स्ट्रिट लाइट जडान गरेको हो । लाइटका कारण रात्रिकालीन समयमा छ लेन सडक अझ सुन्दर देखिएको छ । 

सडकको २६५ पोल र १४० त्रि गार्डमा स्ट्रिट लाइट जडान भएको उपप्रमुख कन्दकला रानाले बताउनुभयो । यसै गरी, त्रिनगर भन्सार गेटमा तीन लाख रुपियाँ लागतमा फ्लड लाइट पनि जडान गरिएको छ । त्यस्तै, धनगढी विमानस्थलदेखि छ लेन सडकसम्म १० लाख रुपियाँ लागतमा सडक बत्ती जडान गरिएको छ । १० लाख रुपियाँ लगानीमा सडक बत्ती जडान गरिएको उपप्रमुख रानाले जानकारी दिनुभयो । 

स्ट्रिट लाइट र सडक बत्तीको हिजाे साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले धनगढीको विकासमा तीन तहकै सरकारको सहकार्यमा विकास निर्माण भइरहेको बताउनुभयो । प्रदेशको एक मात्र उपमहानगरपालिकालाई नमुना सहर बनाउन तीनै तहका सरकारले मिलेर काम गर्ने मन्त्री देउवाको भनाइ थियो ।  

Author
अविनाश चौधरी

उहाँ धनगढीबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।