• ९ पुस २०८१, मङ्गलबार

सरकारले सांसदको सुझावका आधारमा बजेट व्यवस्था गर्नुपर्छ : सांसद घिमिरे

blog

नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरे । फाइल तस्बिर

काठमाडौं, फागुन १३ गते । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सांसदहरूले दिएको सुझावको आधारमा बजेट बनाउन सरकारलाई दबाब दिनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले सांसदका योजनाहरूलाई कटाएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याए आफूहरूलाई मान्य नहुने समेत बताउनुभयो ।

सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेटका लागि तत्काल प्रि बजेट छलफल गराउने अडानबाट पछि नहट्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अब बजेट विनियोजनको लागि प्रि बजेट छलफल गराउँछु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । यो कुरामा प्रधानमन्त्री दृढ रहनुहोस् । र सांसदहरूका आवाजलाई उहाँले यो बजेटमा समावेश गर्नुपर्छ । हामी जननिर्वाचित भएर आउँदै गर्दा जनतासँग जुन आश्वासन दिएका छौँ, तिनलाई कैँची लगाएर काट्न अधिकार सरकारलाई छैन । उहाँहरू जसरी निर्वाचित भएर आउनुभएको हो, त्यसैगरी हामी पनि निर्वाचित भएर आएका हौँ । हाम्रा कुराहरू पनि बजेटमा राख्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’’

सांसद घिमिरेले सांसदहरूले जनतालाई दिएको आश्वासन सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउनुपर्ने बताउनुभयो ।