• १२ साउन २०८१, शनिबार

हाम्रो भविष्य अब डिजिटलसँगै जोडिएको छ : अध्यक्ष सुवेदी

blog

गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन १२ गते। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मिडियामा अबको प्रतिस्पर्धा सूचनाका लागि नभएर विषयवस्तुमा केन्द्रित हुने बताउनुभएको छ। ‘गोरखापत्र डिजिटल डे’ को अवसरमा गोरखापत्र संस्थानले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

‘गोर्खापत्र’ साप्ताहिक रुपमा प्रकाशन भएको ९५ वर्षपछि वि.सं. २०५३ साल फागुन १२ गते पहिलो पटक ‘दि राइजिङ नेपाल डेली’मा प्रकाशित समाचार सामग्री एचटीएमएलमार्फत् इन्टरनेटमा उपलब्ध गराइएको थियो। सोही दिनलाई गोरखापत्र संस्थानले ‘गोरखापत्र डिजिटल डे’ मनाउने  निर्णय गरे अनुसार शनिबार दोस्रो डिजिटल डे मनाइएको हो ।

गोरखापत्र संस्थानको डिजिटलअन्तर्गत गोरखापत्र अनलाइन डटकम र दि राइजिङ नेपाल डेलीडटकम प्रकाशनमा छन्। दुवै न्यूजपोर्टलमा २४ घन्टा नै तत्काल भएका घटना तथा विषय अपडेट हुन्छन्। गोरखापत्र दैनिक तथा दि राइजिङ नेपाललगायत सबै प्रकाशनको इपेपरसमेत डिजिटल प्लेटफर्ममा उपलब्ध छन्। 

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘अबको प्रतिस्पर्धा सूचनामा नभएर विषयवस्तुमा हो। विषयवस्तु अहिलेको चुनौती हो। दुनियाँको प्रतिस्पर्धामा प्रविधिले मान्छेलाई दास बनाउने कि मान्छेले प्रविधिलाई दास बनाउने भन्ने कुरामा अहिलेको समय अघि बढेको छ।’’ 


उहाँले संस्थानमा निरन्तर भइरहेका प्रशिक्षण र तालिमबाट गोरखापत्र अनलाइनलाई सुधार गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले डिजिटलमा अहिले गोरखापत्र व्यापक रहेको र हाम्रो भविष्य डिजिटलमै जोडिएको बताउनुभयो। 

उहाँले अहिले विश्वमै सयौं वर्ष चलेका पत्रपत्रिका बन्द भइरहेको र नेपालमा पनि त्यो अवस्था देखिएकाले डिजिटल माध्यमलाई सुधार गरेर लग्नुपर्नेमा उहाँले जोड दिनुभयो। 

गोरखापत्रलाई प्रविधिको विकाससँगै परिवर्तन गरेर अगाडि लैजानुपर्ने चुनौती रहेको उहाँको भनाइ छ। उहाँले समयअनुसार परिवर्तन गरी अघि बढ्नुपर्ने बताउनुभयो। हरेक दिवस र उत्सव मनाएजस्तै गोरखापत्रले डिजिटल यात्रालाई प्रभावकारी बनाउन डिजिटल डे मनाउन थालिएको बताउनुभयो। 

‘‘प्रविधिको विकाससँगै हामी कुन अवस्थामा छौँ। हामीले गरिरहेको अभ्यास के हो भन्ने कुराको आत्मसमीक्षा गर्नु आवश्यक छ’’ उहाँले भन्नुभयो। उहाँले अहिले पत्रकारभन्दा पाठक बलवान् भएकाले पत्रकारले आफूलाई सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो।  

‘‘कुनै समयमा पत्रकारितामा पत्रकार बलवान् थिए। अहिले पत्रकारभन्दा पाठक बलवान् छन्। अहिले पाठकको सोचाइ र जीवनशैलीले फरक भइराखेको छ। हामी समय असान्दर्भिक भयौँ भने प्रविधिकै कारणले हुन्छौं। हामीले सुधार गर्नुपर्ने कुरा धेरै बाँकी छन्। हामीले धेरै कुरामा सुधार गर्नुपर्छ’’ उहाँले भन्नुभयो। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी ।

युग सुहाउँदो बनाउने प्रयासमा छौं : महाप्रबन्धक ऐरी

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रलाई युग सुहाउँदो बनाउने प्रयास सुरु भएको बताउनुभयो। त्यही अभियानका रुपमा डिजिटल प्लेटफर्मलाई स्वतन्त्र बनाउने तयारीका रुपमा गोरखापत्र ‘डिजिटल डे’ मनाउन थालिएको बताउनुभयो। गोरखापत्रको डिजिटल डेको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभयो।   

महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘गोरखापत्रलाई युग सुहाउँदो बनाउने प्रयास सुरु गरेका छौं। त्यही अभियानका रुपमा डिजिटल प्लेटफर्मलाई स्वतन्त्र बनाउने तयारी गर्दै यस्ता कार्यक्रमको सुरुवात गरिएको छ। यस्ता कार्यक्रमले संस्थानका लागि नयाँ खालको इँटा थप्ने काम गर्नेछ।’’ 

उहाँले प्रविधिको विकासले गोरखापत्रको पहुँचलाई देश र विदेशका कुना–कुनासम्म पुगा एको बताउनुभयो। ‘‘प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगले हाम्रो पहुँचलाई देश विदेशका कुना–कुनासम्म पुर्‍याएको छ। प्रविधिको सानो आविष्कारले संसारका हरेक मान्छेलाई छिटो प्रभाव पारेको छ’’ उहाँले भन्नुभयो।  

संस्थानका अन्य प्रकाशनको विषयमा समीक्षा गर्न सकिने बताउनुहुँदै उहाँले अहिले सुधारको प्रयास भइरहेको चर्चा गर्नुभयो। महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थानको समाचार कक्षलाई इन्टिग्रेटेड बनाउने बताउनुभयो। डिजिटल गोरखापत्रलाई राम्रो बनाउने प्रयास एउटा तहमा पुगेको र अझ राम्रो बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ। 

महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘संस्थानको डिजिटल प्रकाशनलाई सुधार गर्ने एउटा प्रयास यो तहसम्म पुगेको छ। डिजिटल प्लेटफर्मको विषयवस्तुलाई राम्रो बनाउने योजना बनाउँछौँ। भौतिक संरचना र इन्टिग्रेटेड समाचार कक्षा बनाउँछौँ। बजारको विषयमा हामीले योजना बनाएका छौँ। सबै पक्षको सुधार हुँदै जानेछ।’’ 

महाप्रबन्धक ऐरीले हरेक प्रकाशनलाई स्वतन्त्र बनाउन गत वर्षदेखि गोरखापत्रको डिजिटल डे कार्यक्रम आयोजना गरेको उल्लेख गर्नुभयो। उहाँले अनलाइनको हिजोको र आजको नेतृत्वप्रति सम्मान व्यक्त गर्नुभयो। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सल्लाहकार सम्पादक उपेश महर्जन । 

गोरखापत्रका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्रलाई समय सान्दर्भिक बनाउन गोरखापत्रको अनलाइनको सानो टिमले राम्रो काम गरेको बताउनुभयो। उहाँले अनलाइन प्रकाशनका सहकर्मीले सिकेका कुरालाई काममा प्रयाेग गर्नुपर्नेमा जोड दिनुभयो।   

सम्पादक सल्लाहकार महर्जनले भन्नुभयो, ‘‘गोरखापत्रलाई समय सुहाउँदो बनाउन सानो टिमले राम्रो काम गरिरहेको छ। सिकेका कुरालाई काममा देखाउनुपर्ने आवश्यक छ।’’ उहाँले गोरखापत्रले विगतका दिनमा दैनिकमा प्रकाशित सामग्रीलाई उपयोग गर्न नसके पनि अहिलेको नेतृत्वले डिजिटल बनाउने विशेष भूमिका निर्वाह गरेको बताउनुभयो। 

‘‘हामीले सुरुका दिनमा गोरखापत्र दैनिकमा प्रकाशित सामग्रीलाई उपयोग गर्न नसकेको हो। तर अहिलेको नेतृत्वले गोरखापत्रलाई डिजिटल बनाउन विशेष भूमिका निर्वाह गर्नुभएको छ’’ उहाँले भन्नुभयो।   

गाेरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्र दैनिकमा गरेको कामलाई देखाउन पनि गोरखापत्र अनलाइनको मेहनत आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘गोरखापत्र दैनिकमा गरेको काम देखाउनका लागि पनि गोरखापत्र अनलाइनको मेहनत आवश्यक छ। संसारभर डिजिटल प्लेटफर्ममा देखाउन सकिने भएकाले अनलाइनले मेहनत गर्नुपर्ने देखिन्छ।’’

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई ।

उहाँले अन्य अनलाइनभन्दा कम जनशक्ति नभएकाले गुणस्तरीय समाचार सामग्री उत्पादनमा अनलाइन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। ‘‘अन्य अनलाइनमा भन्दा कम जनशक्ति नभएकाले प्रतिस्पर्धी ढङ्गले गुणस्तरीय समाचार सामग्री उत्पादन गरेर अनलाइनलाई सफल बनाउन सक्रिय हुनुपर्ने देखिन्छ’’ उहाँले भन्नुभयो।  

डिजिटल डे को अवसरमा आयोजित औपचारिक कार्यक्रमअघि रविराज बरालले ‘कन्टेन्ट एनालाइसिस’, केपी ढुङ्गानाले डिजिटल कन्टेन्ट राइटिङ र रजनीश भण्डारीले सोसल मिडिया ह्यान्डलिङ शीर्षकमा प्रस्तुति दिनुभयो। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम ।

कार्यक्रममा गोरखापत्र संस्थानका व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ सल्लाहकार रामकृष्ण अधिकारी, दि राइजिङ नेपाल दैनिकका निमित्त प्रधानसम्पादक भीमसेन थपलिया, अर्थ विभाग प्रमुख एवम् गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य राजुकुमार महत, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, प्रमुख समाचारदाता केदार भट्टराई, गोरखापत्र अनलाइनका पूर्व सम्पादक रामप्रसाद हुमागाईं, प्रशासन विभाग प्रमुख भगीरथ बस्नेत, सूचना तथा प्रविधि विभाग प्रमुख रेखा श्रेष्ठलगायत विभिन्न विभाग र शाखा प्रमुख र अनलाइनका सहकर्मीको उपस्थिति थियो। 

कार्यक्रमका सभापति एवम् गोरखापत्र अनलाइनका सम्पादक नारदमुनि गौतमले डिजिटल गोरखापत्र बनाउन सबैको उत्साह, गाली र पाएको बताउनुभयो। उहाँले गोरखापत्रको डिजिटल समूह विश्वका हरेक कुनामा बस्ने नेपालीका हातहातमा समाचारको पहुँच पुर्‍याउन सक्षम भएको उल्लेख गर्नुभयो।