• २ असोज २०८२, बिहिबार

बोलिभियामा बालविवाह अन्त्य गर्ने कानुन पारित

blog

लापाज, असोज २ गते । बोलिभियाको संसद्ले नाबालिगसँग विवाह र नागरिक सङ्घमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । उक्त कानुनले बोलिभियालाई पहिले नै बालविवाह गैरकानुनी भएका १३ ल्याटिन अमेरिकी राष्ट्रसँग जोडेको छ ।

सन् २०१४ को कानुनले वयस्कमा मात्र विवाह अनुमति दिइरहेको थियो, तर १६ र १७ वर्षका नाबालिगलाई अभिभावकको अनुमति भए विवाह गर्न सक्ने अपवाद थियो । ओम्बुड्सम्यान अफिसका अनुसार सन् २०१४-२०२३ बिच चार हजार आठ सयभन्दा बढी कम उमेरका युनियन दर्ता भएका थिए ।

बुधबार चेम्बर अफ डेपुटिसले यो खाली ठाउँ बन्द गर्दै संशोधन पारित गरेको छ । विधेयक अप्रिलमा सिनेटले स्वीकृत गरेको थियो र अब राष्ट्रपतिलाई अनुमोदनका लागि पठाइने छ । सत्ताढ पार्टीकी सिनेटर एवं विधेयक लेखक भर्जिनिया भेलास्कोले भन्नुभयो, “यो केवल कानुन होइन, हाम्रो किशोरी केटीलाई अब विवाह गर्न, विद्यालय छोड्न वा जिम्मेवारी लिन बाध्य पार्ने प्रथा रोक्ने प्रतिज्ञा हो ।”

नाबालिगसँग विवाह दर्ता गर्ने अधिकारीलाई मुद्दा चलाई चार वर्षसम्म जेल सजाय हुन सक्छ । एडभोकेसी समूह सेभ द चिल्ड्रेनले सन् २०१४ मा बोलिभियामा ३२ हजार तीन सय केटी १५ वर्षअघि नै विवाह भएको तथ्याङ्क प्रकाशित गरेको थियो । ल्याटिन अमेरिका र क्यारिबियनका लागि आर्थिक आयोगका अनुसार कोलम्बिया, पेरु, इक्वेडर र एल साल्भाडोरसहित १३ देशमा बालविवाह निषेध छ । रासस/एएफपी