निकट अतीतको कुरो थिएन यो । तीन वा साढे तीन दशकअघिको हो यो कुरो । त्यति बेला उसका बाउले एउटा चिया पसल चलाउँथे । आमा घरकाजमा व्यस्त । घराँ एउटा भैँसी पनि पालेका थिए । आमा त्यसको स्याहारसुसारमा व्यस्त रहन्थिन् । सहर पैलिसकेको थिएन । उनीहरू जुन सहरमा बसोबास गर्थे त्यसको छेउछाउ घना जङ्गल थियो र रुखहरूमा हरियो रङ पोतेको टिनको पातोमा ‘नेपालको धन हरियो वन’ भन्ने लेखिएको हुन्थ्यो । एक पटक उसका बाउले लडापडा रुखबाट दाउरा काटेर ल्याउन बन्चरो बोकेर वन पसे । सुकेर ढलेका रुखबाट बन्चरोले दाउराका चपेरा चिर्दै थिए चिनेको वनपाले कताबाट फुत्त देखा पर्यो र बाउलाई समात्यो ।
त्यो एरियाको वनपाले चिनेको व्यक्ति थियो । दुब्लो पातलो तर उसको एउटा गोप्य बानी थियो– गाँजा तान्ने । बाउले उसका लागि गाँजा तयार पारिदिन्थे । त्यस बखत सहरभित्रै पनि घरपछाडि एक दुई गाँजाका बोट उमारेको पाइन्थ्यो । नभए भाङका बुटा चिस्यानति बर्गेल्ती उम्रेका हुन्थे । कात्तिक–मङ्सिरतिर तिनका कलिला पात टिपेर दुई हत्केला मिचेपछि चोप हत्केलाभरि हुन्थ्यो र त्यसलाई बाती झैँ बनाएर पछिसम्म प्रयोग गर्न मिल्ने गरी सुकाइन्थ्यो ।
वनपालेलाई बाउले दुई चार चिलिमका लागि पुग्ने गरी दुई चार चिलिम गाँजा वा भाङ लुकाएर दिन्थे । त्यो गुनले गर्दा वनपालेले बाउलाई वनभित्र केही पर लगेपछि जब वनको रेन्जर कार्यालय देखिने भएपछि छाडिदियो । भन्यो–“हर्कदाइ, वनभित्र बन्चरो लिएर पस्न वर्जित । यस पटक मैले तिमीलाई छाडिदिएँ । हाकिमहरूले थाहा पाए भने मेरो जागिर जान पनि सक्छ तर तिमी आफ्नै मान्छे । जे त पर्ला देखा जाएगा भनेर छाडिदिएँ । उसरी हाकिमको मैले दत्तचित्त भएर चाकरी बजाएको छु । हाकिम पनि मेरै हुन् ।”
वनपालेको नाम के थियो ? थाहा त थियो तर अहिले बिर्सें । ऊ गफ चुट्न खपिस थियो । गाँजा वा भाङ तानेको बेलामा उसले अनेक कल्पनाबाहिरका गफ गरेर मानिसहरूलाई आफूले गर्न निस्केको काम बिर्सिने गरी एकोहो¥याउँथ्यो । बाउको चिया पसलमा बसेर वनपालेले गफ दिन थालेपछि केही मानिस उसको गफ सुन्न जम्मा भइहाल्थे । गफ सुन्नुको सुरमा मानिसहरू एक गिलास चियापछि अर्को गिलास खान्थे । कोही गाँजाको सुल्फा तयार गरेर त्यही तान्ना मस्त हुन्थे र बढी गुलियो हालेको चिया वा दुधको अर्डर दिएर सुल्फाको सर्कोलाई बाक्लो गुलियोको घु्ट्को सँगै निलेर अझ स्वादिलो बनाउँथे । यसरी चिया पसलको बिक्री अलि बढी बिक्थ्यो ।
वनक्षेत्रभित्र बन्चरो बोकेर पसेको सजाय पनि उसले बाउलाई सुनायो तर हाँस्यो । भने छ, “बन्चरो म लैजान्छु् । घरमा बन्चरो छैन । बुढी कराइरहन्छे ।” बाउले केही भन्न सकेनन् । बन्चरो नदिए लगेर थुन्ने पो हो कि भन्ने डरले उनले टाउको हल्लाएर बन्चरो दिन स्वीकार गरेछन् । यसरी बाउको बन्चरो जफत भयो । त्यो बन्चरो रेन्जर कार्यालयमा वनपालेले बुझाउने कुरै भएन, घरकै लागि भनेर हाकाहाकी लगेकै थियो तर यता चिया पसलमा बन्चरो नहुनाले हर्जै भयो । दाउरा चिर्न अप्ठ्यारो पर्यो । पसलको भट्टी निरन्तर जलिरहनु पथ्र्यो । नजिकका कार्यालयहरूलाई चिया सप्लाइ गर्नु पनि थियो । दाउराबिना भट्टी बल्दैनथ्यो र भट्टी नबले चिया पाक्दैनथ्यो । बाउले बन्चरोको समस्या कसरी समाधान गरे त्यसको सम्झना छैन उसलाई । बन्चरो यस कारण पनि महत्वपूर्ण थियो, त्यो बन्चरोले बाउको भनाइ अनुसार उनले सहरभन्दा बाहिर केही टाढाको ऐलानी जङ्गल औलोको ज्वरोले हनहनाउँदै गरेको बेला पनि सकीनसकी फाँडेर खेतीयोग्य बनाएका थिए, जुन हामीले नापीपछि लालपुर्जा पाएका थियौँ ।
ऐलानीको जग्गा आएपछि औलोको कुरो पनि थियो । औलोको अनुभव पनि बाउको अनौठैको थियो । उनी भन्थे–“औलाको ज्वरो आउन लाग्दा धामीझाँक्री झैँ डगडगी काम छुट्थ्यो । जमिनमा बजारिने उफ्रिने गराउँथ्यो । ज्वरो आउँदा जाडो असाध्य हुन्थ्यो । भएभरिका सिरक, कम्बल र लुगाफाटो खापेर ओढे पनि जाडो जाँदैनथ्यो । ज्वरो सेलाउँदै गएपछि पसिनाका धारा छुट्थे, हरर भोक लागे आउँथ्यो र जति खाए पनि कमै पथ्र्यो । अघाउन गारै पथ्र्यो । अघाएको एकछिनपछि ह्वलाल्ल बान्ता गरिन्थ्यो र खाएजति फर्केर भुइँमा छताछुल्ल हुन्थ्यो । औलोको प्रकोप कायम छँदा मधेश भाबरका लागि प्रसिद्ध भनाइ थियो–नयाँ मुलुक पसेकाहरू एक मन चामलले बिहे व्रतबन्ध पनि सक्थे र मलामीसमेत उम्काउँथे । औलोले चाँडै प्राण हथ्र्यो । औलाको प्रकोप त्यस्तो थियो ।”
त्यस बखत चिया दस पैसामा एक गिलास पाइन्थ्यो । यो नसोचियोस्–एक गिलास चिया भन्नाले गिलास ठुलै हुने गथ्र्यो । गिलास औसत साइजकै हुन्थ्यो । तामाका दसपैसे ढ्याक, मोहर सुकीको चलन थियो । त्यसैताकको शिवरात्रि मेलामा उसका बाउले एउटा हात्तीको आकारको माटाको खुत्रुके किनिदिएका थिए । भनेका थिए, “पैसा जम्मा गर्ने नि यसमा । दिनको पाँच पैसा दिन्छु म तँलाई । त्यसैमा राखेस् ।” बाउ आफ्नो भनाइमा कायम रहेनन् । पछिपछि भने, “मैले कमाएको सबै तेरै त हो । पाँच पैसामा के भुल्छस् तर धनपैसा सङ्ग्रह गर्ने बानी गरेस् । बचतले दुःखमा काम दिन्छ ।” पछि खुत्रुकेमा उसले दसैँतिहारतिर पाइने पैसा पनि राख्ने ग¥यो । खुत्रुके हात्तीको आकारको भए पनि सानो नै थियो । धेरै पैसा नअटाउने भयो भन्ने उसलाई चिन्ता थियो । तर खुत्रुके भरिने पैसाको खाँचो पेरन उसलाई, पढ्नमै व्यस्त भयो ।
एक पटक आमाले उसलाई भैँसी दुहेपछि दुध पु¥याउन भनिन् । साथै यो पनि अह्राइन्, “अघिल्लो बाँकी रकम सोर रुपियाँ पनि मागेर ल्याएस् ।” उसले त्यसै ग¥यो । बाटोमा दुध त पोखिएन तर पेन्टको गोजीबाट होटेलवालाले दिएको सोर रुपियाँ खसेछ । उसले पत्तै पाएन । थाहा पाएपछि पैसा हराएको डरले ऊ घरै गएन । स्कुल जानु त झन् किन सक्थ्यो ? साँझपख ऊ डराइडराई घरको ओसारोमा पुगेर छाया परेको अँध्यारोमा लुकेर बस्यो । खरले छाएको सालको खाँबामा ठडिएको घर थियो । यता आमालाई चिन्ता परिरहेको थियो । दिउँसभरि खोज्ने काम भएछ । बाउ होटेल बन्द गरेर पारि सिमानासम्म पुगेछन् । त्यति बेला हल्ला पनि थियो–पारिबाट जोगीहरू चेलाको खोजीमा आएर यो सहरबाट ससाना केटाकेटी बोरामा हालेर लैजाने गरेका छन् । बाउ लखतरान परेर फर्केछन् । कसैको थोत्रो साइकिल मागेर लगेका थिए । बाटाभरि चेन खुस्केर हैरान पारेछ तर ऊ भेटिएन । छोरो हराउने भयो भनेर बाउको मनमा सन्तापले भरिएछ । बाटाभरि खुइय्यखुइय्य सुसेल्दै पसिना र आँसु बगाउँदै घर पुगे । समय वैशाख जेठको थियो । उसका बाउले मनमा हुने हुनामी यस्तै रहेछ भनेर गुन्न मात्र के लागेका थिए कसैले ऊ ओसारोको अँध्यारोमा ठिङ्ङ उभिएको देखेछ ।
उसलाई खोज्ने काममा सघाउन अरू काज छाडेर लागिपरेको मानिसले देख्नु पनि र ऊ डरले डाँको छाडेर रुनु पनि एकैचोटि भएछ । आमाको अगाडि परेपछि भने छ, “मेरो खुत्रुके फोरेर तिर्छु आमा तपाईंको पैसा । तपाईंको रिन लाग्यो मलाई तर म जसरी पनि तिर्छु । मलाई नपिट्नुस् आमा !” उसका कुराले सबै एकछिन चकित परे । कुरा के रहेछ भनेर बुझ्दा होटेलवालाले दिएको दुधको पैसा पेन्टको खल्तीबाट खसेर हराएको रहेछ । थाहा पाएपछि उसले दुधको बाल्टी बोकेर गएको र पैसा लिएर घर फर्केको बाटो कति दोहोर गरेर खोजेको हो तर हराएको पैसा भेट्दै भेटिएन । त्यो सबै थाहा पाएपछि त रुँदै आमाको रिन खुत्रुके फोरेर तिर्छु भनेको सुनेर सबै गलल हाँसे । उसको बाउको ओठमा पनि मुस्कान देखियो । जाबो खुत्रुकेमा कति नै पैसा हुँदो हो र ? आमाले भनिन्, “छोरो तैँले बिहानै पैसा यसरी हरायो आमा भनेको भए मैले चित्त बुझाउने थिएँ । पैसा हो, हराएपछि भेटिन गाह्रै पर्छ । त्यो पनि तेरो पेन्टको खल्तीमा प्वाल परेको रहेछ, त्यसैबाट खसेको हो । तैँले नासेमासेको होइन । समयमै त्यो प्वाल सिइदिनुस् भनेको भए म टालिदिइहाल्थेँ । ल भैगो, तैँले मेरो रिन त तिर्ने भइस् भइस् तर यो त बता छोरा तेरो खुत्रुकेमा कति पैसा जम्मा भएको छ ?”
उसले यो बताउन सक्ने कुरो किमार्थ थिएन–खुत्रुकेमा कति रकम जम्मा भएको छ । थोरधेर दस पन्ध्र रुपियाँ जम्मा भएको हुँदो हो । यो पैसा उसले बडो कम खर्च गरेर जम्मा गरेको थियो । बाउको उपदेश पनि कम खर्च गर्नू भन्ने थियो । आमाको रिन तिर्छु भनेको रकम पनि खुत्रुकेमा छ कि छैन भन्ने खुत्रुके फोरेर हेरे मात्र थाहा हुने थियो । बाउले पनि हाँस्दै भने, “आँट त तेरो दरै रहेछ । पैसा बोकेर हिँड्दा होस गर्नु पर्छ छोरा । बिहानदेखि केही खाएको छैनस्् होला, भोक र डरले कालोनिलो भएको छस् । जा भात खा !” बिहानको भात तताएर दुधसित उसकी आमाले मायाले मुसार्दै खुवाएकी थिइन् । त्यस दिनपछि उसले खुत्रुके फोर्ने कुरो गरेन ।
स्मृतिको खुत्रुकेमा यस्ता अनेक घटना उसले जीवनभरि जम्मा गर्ने गरेको हो । उसको जीवन कुनै गाथा–महागाथा हुन सकेको होइन । एउटा खुत्रुकेमा अटाउने संस्मरण भएको सामान्य जीवन हो । अहिले पुगनपुग चार दशक बितिसकेको छ । नयाँ पुराना जमानाका धेरै कुराको तुलना गर्न ऊ चाहन्छ तर समयको स्वभावले आफ्नै परिचय स्थापना गरेको हुन्छ । वर्तमान समयको पनि आफ्नै गति र स्वभाव छ साथै परिचय पनि । उसका छोरानातिले अहिले खुत्रुके के हो भन्ने जानेका पनि होवैनन् । पाँच दस पैसाका लागि हात पैmलाउनु अहिले तिनका लागि हास्यास्पद हुन्छ तर एउटा गुह्य कुरो यो थियो–त्यो खुत्रुके उसले अहिलेसम्म फोरेको छैन । त्यसतिर उसले चासो राखेको पनि छैन । खुत्रुकेमा उस बेलाका सिक्का अर्थात् पाँच–दस पैसे र मोहर–सुकाका ढ्याक होलान् । एक दुई वटा एक रुपियाँका पुराना नोट । तिनको चलन अहिले छैन । एक वा दुईका नोट त गायब छन् । त्यो खुत्रुके फोरेर के गर्ने ?
खुत्रुके उसले जोगाउँछु भनेर जोगाएको थिएन । उसकी आमाले ऊ पढ्न राजधानी आएपछि सम्हालेर राखिदिएकी रहिछन् । आमा र बुवा दुवै अहिले परलोक गमन गरिसके पनि उनीहरूले त्यो खुत्रुके भएको एक मात्र छोरो उसको प्रिय हो भनेर सम्हालेर राखिदिएका हुन् । ऊ अहिले एकान्त पारेर खुत्रुके हल्लाएर त्यसभित्रका सिक्काहरू बजेको सुन्ने गर्छ । परिवारका सामु त्यसो गर्ने हो भने बुढो सन्किएछ पनि भन्न सक्छन् । त्यो फोरेर हेरौँ पनि भन्न सक्छन् । खुत्रुकेको आवाज उसले एकान्तमा पटक पटक सुन्ने गर्छ । उसका लागि खुत्रुके पैसा खसाल्ने भाँडो मात्र नभएर जीवनयात्राका अनेक स्मृतिको माध्यम पनि हो । विशेष गरी आमाको स्नेहपूर्ण स्पर्श उसले सधैँ अनुभव गरिरहन्छ खुत्रुके चलाउँदा ।