हिन्दु धर्मशास्त्रमा भगवान् विष्णुका धेरै अवतार भएको कुरा उल्लेख गरिएको छ । तीमध्ये दस वटा अवतारलाई मात्र अत्यन्तै महत्व दिएर प्रचार गरिराखिएको छ । भगवान् विष्णुका २४ वटा अवतारका बारेमा भने धेरै मानिसलाई ज्ञात नभएको हुनसक्छ । यसको मुख्य कारण यस विषयमा त्यति प्रचारप्रसार नभइरहेकाले पनि हो भन्न सकिन्छ ।
भगवान् विष्णुले सृष्टिको सुरुवातदेखि नै लोककल्याणका लागि विभिन्न कालखण्डमा विभिन्न किसिमका अवतार लिनुभएको कुरा शास्त्रमा वर्णन गरिएको छ । भगवान् विष्णुका २४ अवतार क्रमशः (१) श्री सनकादि मुनि– ब्रह्माण्ड जीव सृष्टि गर्ने उद्देश्यले ध्यानमा बसेका ब्रह्माबाट प्रभावित भएर भगवान् विष्णुले चार जना मुनि सनक, सन्नान्द, सनातन र सन्त कुमारका रूपमा जन्म लिनुभयो । सनकादि मुनिलाई भगवान् विष्णुका अवतारका रूपमा लिइएको छ । (२) बराह अवतार– दैत्य हिरण्याक्षले पृथ्वीलाई समुद्रमा लुकाइदिएकाले भगवान् विष्णुले ब्रह्माको नाकबाट बराहका रूपमा निस्केर आई दैत्य हिरण्याक्षलाई युद्धमा हराएर पृथ्वीको डल्लो आफ्नो दाह्रामा अड्याएर समुद्रबाट बाहिर ल्याएका हुन् भनिन्छ । (३) नारद– ब्रह्माका सात जना पुत्रमध्ये एक देवर्षि नारद हुन् । (४) नरनारायण, (५) कपिलमुनि– भगवान् विष्णुले पाँचौँ अवतार कपिलमुनिका रूपमा लिएका हुन् ।
उहाँका पिता महर्षि कर्दम र माता देवहुती थिए । शर शय्यामा रहेका भीष्मपितामहले शरीर त्याग गर्ने समयमा वेदज्ञ व्यास आदि ऋषिहरूका साथमा भगवान् कपिल पनि त्यहीँ हुनुहुन्थ्यो । भगवान् कपिलकै क्रोधबाट राजा सगरका ६० हजार पुत्र भष्म भएका थिए । भगवान् कपिल साङ्ख्य दर्शनको प्रवर्तक थिए । (६) दत्तात्रय, (७) ऋषम– राजा नमिका पुत्र हुन् । भगवान् विष्णुले दिनुभएको आशीर्वाद अनुरूप ऋषमका रूपमा अवतार लिनुभएको हो । (९) अधिराज पृथु, (१०) मत्स्य अवतार, (११) कुर्म, (१२) धनवन्तर, (१३) मोहिनी, (१४) नृसिंह, (१५) बामन, (१६) ह्यग्रीव, (१७) श्री हरि, (१८) परशुराम, (१९) महर्षि वेदव्यास, (२०) हंस अवतार, (२१) श्रीराम, (२२) श्रीकृष्ण, (२३) बुद्ध, (२४) कल्की अवतार ।
भगवान् विष्णुका यी २४ अवतारमध्ये पाँचौँ अवतारका रूपमा मान्दै आएको कपिलमुनिको विषयमा यहाँ केही कुरा प्रस्तुत गर्ने जमर्को गरिरहेको छु । हाम्रो देश ऋषिमुनिहरूको तपोभूमि हो । यहाँ कतिपय ऋषिमुनिहरूले तपस्या गरेर शिवशक्ति रूपमा लीन भएको प्रसङ्ग पनि धर्मशास्त्रमा छ । यही प्रसङ्गमा कपिलमुनिले पनि देवाधिदेव महादेवको तपस्या गरेर शिव स्वरूप भएर नुवाकोटको कविलास मा कपिलेश्वर पशुपतिनाथको स्थापना गर्नुभएको हो । महाऋषि मर्दम देवहुतिका पुत्र कपिलमुनिलाई भगवान् विष्णुको २४ औँ अवतारमध्ये पाँचौँ अवतारका रूपमा पनि मान्दै आइरहेको छ । विशेष गरेर भारतको हरियाणा र धेरै स्थानमा अनि दक्षिण एसियाका विभिन्न स्थानमा पनि कपिलमुनिका मन्दिर स्थापना गरिएको पाइन्छ । त्यहाँ व्यापक रूपमा कपिलमुनिलाई विष्णु भगवान्का रूपमै पूजाअर्चना गर्दछन् ।
नेपालको कपिलवस्तु जिल्ला पनि कपिलमुनिकै नामबाट बन्न गएको हो । कपिलमुनिले स्थापना गर्नुभएको बस्ती भएकाले पनि कपिलवस्तु नाम हुन गएको हो । कपिलवस्तुका राजा शुद्धोधनका पुत्र सिद्धार्थ गौतम बुद्ध यही भूमिमा जन्मिनु भई विश्व शान्तिका नायक बन्नु भयो तर कपिलवस्तुमा बस्ती बसाएका कपिलमुनिकै मूर्ति वा मन्दिर नहुनु दुःखको कुरा हो । कतै रहेको छ कि ! अनुसन्धानको विषय बनेको छ । कपिलवस्तुमा रहेको सङ्ग्रहालयमा पनि स्पष्ट रूपमा कपिलमुनिको मूर्ति भेटिएको छैन । अन्य शाक्यमुनिहरूकै मात्र मूर्तिहरू देखिन्छ ।
नुवाकोट जिल्लाको कविलास मा कपिलमुनिले कपिलेश्वर पशुपति महादेवको मूर्ति स्थापना गर्नुभएको विषयमा शास्त्रमा उल्लेख गरिए अनुसार परापूर्वकालमा देवता र दैत्यहरू मिलेर समुद्र मन्थन गर्दा कालकुट विष निस्किँदा हाहाकार भयो । त्यो कालकुट विषले सृष्टि भइसकेको विश्व ब्रह्माण्ड नै ध्वस्त हुने डरले त्राहीमाम त्राहीमाम भन्दै चिच्याउँदै सबै देवता तपस्यामा लीन भएका देवाधिदेव महादेवसमक्ष गई प्रार्थना गर्दै कालकुट विषलाई समन गर्नु प¥यो भनि अनुनय विनय गर्छन् ।
विश्व ब्रह्माण्डको रक्षा र लोककल्याणका लागि महादेव आफैँ अघि सरेर उक्त कालकुट विष पिउनुहुन्छ । तुरुन्तै शक्ति स्वरूपा पार्वतीले महादेवले पिउनुभएको उक्त कालकुट विषलाई महादेवको घाँटीमा नै अड्काई दिन्छिन् । विष पिएपछि पीडा भएर डाहले छटपटाएर वायुवेगमा महादेव हिँड्न थाल्नुहुन्छ । यसरी छट्पटाएर हिँडेका महादेव काठमाडौँको हाल पशुपतिनाथ रहेको स्थान हुँदै नुवाकोटको हाल दुप्चेश्वर महादेव भएको स्थानमा बास बसी भोलिपल्ट बिहान सबेरै गोसाइँकुण्डमा पुगेर आफ्नै त्रिशूलले पहरामा हिर्काएर निकालेको जलकुण्डमा विषको डाह शान्त पारेर बस्नुहुन्छ । यसरी छट्पटाएर हिँडिरहेका महादेवको पछाडि लागेर हिँडेका ऋषिमुनिहरूसँगै गएका कपिलमुनि हिँड्दा हिँड्दै पछाडि पर्नुहुन्छ अनि एक्लै हुन पुग्नुभएका कपिलमुनि कविलास डाँडामा पुग्दा त्यहीँ महादेवको ज्यार्तिलिङ्गको दर्शन गर्न पाउनुहुन्छ । अनि कपिलमुनि अत्यन्तै हर्षित भई त्यहीँ नै महादेवको शिवलिङ्ग स्थापना गर्नुहुन्छ । त्यहीँ कपिलमुनिले आश्रम बनाएर हजारौँ गाई पालेर महादेवको तपस्या गरिरहनुहुन्छ । कपिलमुनिले स्थापना गर्नुभएको शिवलिङ्ग पछि गएर कपिलेश्वर पशुपति महादेवको नामले मान्न थालिएको हो भन्ने कुरा स्कन्द पुराण हिमवत् खण्डमा उल्लेख गरिएको छ । कपिलेश्वर पशुपति महादेव परापूर्वकालदेखि यहीँ रहेको र मल्लकालमा आएर प्रचारप्रसार भएको हो भनिन्छ । त्यहाँ मन्दिरमा रहेका भाँडाकुँडा हेर्दा मल्लकालका हुन् भनी प्रमाणित हुन्छ ।
योगी नरहरिनाथका भनाइ अनुसार देवदेवीहरूलाई दैत्यहरूले भीषण आक्रमण गर्दा देवदेवीलाई सुरक्षित स्थानमा बसेर मोर्चाबन्दी गर्ने उद्देश्यले देवताहरू देवघाटमा र देवीहरू नुवाकोटको देवीघाटमा जम्मा भई बसेका थिए । सोही समयमा विश्व शान्तिका लागि ब्रह्माले ब्रह्म क्षेत्रमा यज्ञ गर्नुभयो । त्यही समयमा दैत्यहरूले त्यहाँ पनि चारैतिरबाट आक्रमण गरेकाले पहिला देवताहरूले सुरक्षित भनेको ठाउँ हाल चमेरे भनिने गुफाभित्र देवसेनाहरू राखिएको थियो । उनीहरूलाई प्रयोग गरेर असुरहरूको नाश गराइएको थियोे । उता ब्रह्माजीले धर्मसभा गर्न सुरक्षित स्थान खोज्ने क्रममा कपिलमुनिले शिवलिङ्ग स्थापना गरी ध्यान गरिरहेको स्थान कपिलेश्वरकै प्राङ्गणमा धर्मसभा गर्नुभयो । यसैले यो स्थानको नाम कपिलेश्वरकै नामबाट कविलास हुन गएको हो ।