काठमाडौं, फागुन ११ गते । फागुन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अगस्त्य च्याप्टर १’ का कलाकार आजभोलि प्रचारप्रसारमा व्यस्त छन् । फिल्म युनिटले काठमाडौं पत्रकार सम्मलेनमा आफ्नो धारणा राख्नुभएको हो ।
फिल्मका निर्देशक सौरभ चौधरीका अनुसार फिल्म उहाँले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतार्नुभएको छ । "ती दुई घटनालाई जोडेर स्क्रिप्ट तयार पारेको उहाँले बताउनुभयो । यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नबोलिएका कथा हाम्रो फिल्ममा पाउनेछन्", निर्देशक सौरभले भन्नुभयो, "यो फिल्म हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।"
उहाँले आफूले अलिक फरक किसिमको कथामा काम गर्न चाहेको बताउनुहुँदै त्यो चाहना 'अगस्त्य च्याप्टर १’ ले पूरा गरेको दाबी गर्नुभयो । "आजको दिनसम्म नेपाली दर्शकले राम्रो फिल्म हेरिदिनुभएको छ । उहाँहरुले हाम्रो फिल्मलाई पनि न्याय दिनुहुनेछ भन्नेमा म ढुक्क छु । अर्को कुरा हामीले स्क्रिप्टको माग अनुसार नै यसको दोस्रो भाग निर्माणको तयारी गरिरहेका छौं", उहाँले भन्नुभयो ।
फिल्मको ट्रेलर र टिजर हेर्दा मधेसको कथा जस्तो देखिए पनि फिल्ममा मधेसको कथा मात्रै नभई समग्र देशको कथा रहेको उहाँको भनाइ छ ।
यस्तै, अभिनेता सौगात मल्लले फिल्ममा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताउनुभयो । "म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ," उहाँले भन्नुभयो, "त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।"
यो फिल्ममा दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताउनुभयो ।
अधिकांश फिल्ममा 'रोम-कम'को भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताउनुभयो । उहाँले आफूले फिल्ममा फरक–फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई ‘अगस्त्यः च्याप्टर १’ मा पूरा गरेको बताउनुभयो।
यस्तै, अभिनेत्री मलिका महतले आफूभन्दा अग्रज कलाकारसँग काम गर्दा दबाब महसुस भए पनि उहाँहरुबाट बढी सिकाइ हुने बताउनुभयो । अग्रज कलाकारबाट आफूले शक्ति पाएको उहाँले प्रष्ट पार्नुभयो ।