• १६ वैशाख २०८२, मङ्गलबार

आगलागीका घटना बढ्दै, छैन दमकल

blog

बबई समाचारदाता

बबई (बर्दिया), वैशाख १६ गते । स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष पूरा भइसक्दासमेत बर्दियाका कतिपय स्थानीय तह अझैसम्म पनि दमकलविहीन छन् । तराईका जिल्लामा गर्मीको समयमा धेरै आगलागीका घटना हुने गर्छन् तर पनि आगलागी नियन्त्रणका लागि अति आवश्यक भएको दमकल कतिपय स्थानीय तहले खरिद गर्न सकेका छैनन् । 

बर्दियाका आठ स्थानीय तहमध्ये ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकाले दमकल खरिद गर्न नसक्दा समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क अनुसार गत वर्ष मात्र दमकलविहीन ठाकुरबाबा नगरपालिकामा ११, बारबर्दिया नगरपालिकामा १२, गेरुवा गउँपालिकामा नौ र बढैयाताल गाउँपालिकामा १४ वटा आगलागीका घटना भएका छन् भने ती पालिकाको आगलागी नियन्त्रणमा छिमेकी पालिकाबाट दमकल मगाएर आगलागी नियन्त्रणमा लिइएको थियो । 

स्थानीय तहले दमकल खरिदमा चाँसो नदिँदा बर्सेनि आगलागीका घटना हुने गरेका छन् भने आगलागी नियन्त्रणमा लिन अन्यत्र स्थानीय तहको भर पर्नुपर्ने बाध्यताले धनजनको क्षतिसमेत हुने गरेको छ । कतिपय स्थानीय तहले दमकल खरिदका लागि बजेट छुट्याएको भए पनि खरिद ऐनका कारण दमकल खरिद हुन सकेको छैन । 

जनताको घरदैलोमा नै सेवा पुर्‍याउनुपर्ने स्थानीय तहले अहिले दमकल खरिदभन्दा पनि सवारीसाधन खरिदमा बढी रुचि देखाएको नागरिक समाज सञ्जाल बर्दियाका अध्यक्ष हिमा सुनारले बताउनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जको किनारमा रहेको ठाकुरबाबा, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिकाले दमकल खरिद गर्न सकेका छैनन् भने ठाकुरबाबा नगरपालिकाले दमकल खरिद प्रक्रिया सुरु गरेको छ । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराईले त्यसका लागि बजेटदेखि कार्यपालिका र सभाबाट निर्णयसमेत गरिएको बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित विपत् व्यवस्थापन समितिको बैठकमा पनि दमकलको विषय उठ्ने गरेको छ तर पनि स्थानीय तहले दमकल खरिद गरेको देखिँदैन । बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दमकलविहीन पालिकाले छिमेकी पालिकासँग सहकार्य गरेर काम गर्ने गरेको र कतिपयले खरिद प्रक्रिया सुरु गर्ने बताएको जानकारी दिनुभयो ।