• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमबाटै शेयर निस्काशन गरौंः मन्त्री शाही

blog

लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा आर्थिक मामिलामन्त्री नरेशकुमार शाही । तस्बिर: प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, फागुन ५ गते । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले यहीका व्यवसायीले शेयर निस्कासन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ । 

भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ३४) ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर कारोबारसम्बन्धी ज्ञान अभिबृद्धिका लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री शाहीले हामी सुदूरपश्चिमेलीले शेयर सदस्य भएर मात्र चित्त बुझाउनुभन्दा  शेयरपत्र निकाल्न सक्नेगरी काम गर्नुपर्ने बताउनुभयो । तथ्याङ्क विभागको प्रतिवेदनले सबैभन्दा गरिब प्रदेशका रुपमा औल्याएकाले हाम्रो टाउकोमा घन बज्रेको छ भन्दै उहाँले थप्नुभयो, “कर्णालीभन्दा बढी गरिबी हाम्रो प्रदेशमा रहेकाले गरिबी अन्त्य गर्न नयाँ ढङ्गले सोचेर आफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्छ ।”

विभागको तथ्याङ्कअनुसार कर्णालीमा २६ र सुदूरपश्चिम ३४ प्रतिशत गरिबी रहेको छ । मन्त्री शाहीले सो अवसरमा भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ३४) को शाखा कार्यालयको पनि उद्घाटन गर्नुभयो ।  

भिजन सेक्युरिटिजले लगानीकर्ता सचेतना कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा दोस्रो बजारमा कारोवार गर्न आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्था लगायतका विषयमा कार्यक्रममा छलफल भएको छ । 

त्यस्तै, दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको शेयर कारोवारी हेमराज ओझाले बताउनुभयो । त्यसैगरी धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीको आधारभूत प्राविधिक विश्लेषण लगायतका बारेमा सहभागीलाई प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । 

कार्यक्रममा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र सेयरबजार विज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टराईले प्रशिक्षण दिनुभएको थियो । भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र तीन वटा गरेर १२ स्थानमा शाखा विस्तार गरेर सेवा प्रवाह गरिरहेको जनाएको छ ।