• ९ मंसिर २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिन निर्देशन

blog

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो बार्षिकोत्सव समारोहमा मुख्यमन्त्री यादव । तस्विर: धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, फागुन ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य क्षेत्रमा जनतालाई सहजरुपमा गुणस्तरीय सेवा दिन सरोकारवाला सबै निकायलाई निर्देशन दिनु भएको छ । 

शनिबार जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बारेमा पटक–पटक जनताबाट गुनासोहरु आउने गरेकाले त्यस्तो गुनासो आउन नदिन सेवालाई प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

समान्य समस्यामा पनि विरामीलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरान र काठमाडौं रेफर गर्ने गरेको जनताको गुनासो रहेकाले त्यसलाई सुधार गर्नुपर्ने उहाँले चिकित्सक र व्यवस्थापन पक्षसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटको अभाव हुन्न दिन्नौ, तर तपाईहरु गुणस्तरीय सेवा दिनुहोस् ।” 

उहाँले स्वास्थ्य, शिक्षा र विकास निमार्णको काममा राजनीति गर्न नहुने भन्दै अस्पतालमा राजनीति गर्नेलाई प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभयो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिबारे आफू र स्वास्थ्य तथा जनसंख्या मन्त्रीबिच मनमुटाव रहेको हल्ला तथ्यहीन रहेको भन्नुहँदै उहाँले यही महिनामा उपकुलपति नियुक्त हुन सक्ने उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सहकुलपति वीरेन्द्रप्रसाद सिंहले प्रतिष्ठानलाई अध्ययन र अध्यापनको क्षेत्रमा प्रदेशकै गौरवमय संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका कामको अनुभव लिएर हामी अघि बढ्छौं । स्वास्थ्य सेवासँग सम्बद्ध सबैले सकारात्मक सोच राखेर प्रतिष्ठान र प्रादेशिक अस्पताललाई अगाडि बढाउनुपर्ने आवश्यक्ता छ ।”

प्रतिष्ठानका निमित्त उपकुलपति समेत रहनुभएका रेक्टर प्रा.डा. अंकुर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा रजिष्ट्रार प्रा.डा. विनोद यादवले प्रतिष्ठानको प्रगति र भावी कार्यदिशाबारे प्रकाश पार्नुभयो । प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. रामनरेश पण्डितले अस्पतालले प्रदान गर्दैआएको सेवाको बारेमा कार्यक्रममा सहभागिलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा संचालक परिषद् सदस्यद्वय डा. प्रमोदकुमार सर्राफ र मिनु झा लगायतले अप्ठयाराबिच पनि प्राप्त उपलब्धिलाई अघि बढाउनुपर्ने र प्रदेश सरकारले आपैm नीति निर्माण गरी विकासको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । प्रादेशिक अस्पतालमा सुरु भएको क्याथ ल्याब सेवाबारे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. अंकुर साहले जानकारी गराउनुभयो ।