रवीन्द्र उप्रेती
बर्दीबास, फागुन ५ गते । लिखित र ट्रायल परीक्षा पास गरेको लामो समय बितिसक्दा पनि लाइसेन्स नपाउँदा सवारी चालक हैरान छन् । बर्दिबासमा लाइसेन्स पास गर्नेको सङ्ख्या २४ हजार नाघी सकेको छ ।
यही विषयलाई लिएर यातायातका कर्मचारी र सेवाग्राहीबिच दिनहँजसो विवाद हुनेगरेको छ । लाइसेन्सबारे बुझ्न शुक्रबार बर्दिबासस्थित यातायात कार्यालय पुग्नुभएका धनुषा बौहरवाका विजयकुमार मण्डलले सन् २०२३ फरबरी ३ तारिखमै मोटरसाइकलको ट्रायल पास गरेको बताउनुभयो ।
‘ट्राफिकले जहिलेसुकै लाइसेन्स कार्ड देखाऊ भनेर हैरान पार्छ । भौचर देखाउँदा मान्दैन, यातायातले लाइसेन्स दिँदैन हामीले के गर्ने ?’ उहाँले प्रश्न गर्नुभयो । बर्दिबास –२ का टेम्पो चालक हर्कबहादुर विश्वकर्माको पीडा पनि उस्तै छ ।
२०२२ डिसेम्बरमा ट्रायल पास विश्वकर्माको हातमा अहिले पनि भौचरको टुक्रा मात्र छ । त्यो पनि झुत्रो र अक्षर नबुझिने भइसक्यो । उहाँले गरिखान छाडेर लाइसेन्सका लागि पटक–पटक यातायात कार्यालय धाउनु परेको गुनासो पोख्नुभयो ।
मिथिला नपा –१० का अर्का सेवाग्राही सन्तोष पहाडीकाअनुसार यातायातले लाइसेन्सको साटो भौचरको टुक्रा मात्र दिने, ट्राफिकले भौचरलाई मान्यता नदिनाले समस्या खडा गरेको सुनाउनुभयो ।
समयमै सवारी लाइसेन्स नपाउँदा यातायात क्षेत्रमा अनेकन् समस्या र विकृति बढ्न थालेको छ । सरकारले सवारी चालकका लागि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको एक दशक बितिसकेको छ । नयाँ प्रविधिमा गएपछि समय र खर्चको बचत, पुराना समस्याको निराकरण र सेवा स्तरीय हुनुपर्ने हो । तर स्मार्ट लाइसेन्सको सवालमा भने यसको उल्टो असर देखिएको बर्दिबासस्थित यातायात व्यवस्था कार्यालयका कर्मचारीको भनाइ छ ।
कार्यालय प्रमुख राजकिशोर साहले भन्नुभयो, “दैनिक ४० देखि ५० जना ‘लाइसेन्स कार्ड किन आएन भनी सोध्न आउँछन् ? एउटै प्रश्नको जवाफ दिँदा हामी नै हैरान छौ ।’
बर्दिबास यातायात अधिकृत सञ्जय खतिवडाका अनुसार सन् २०२२ अगस्ट २२ यता यस कार्यालयमा सवारी लाइसेन्स प्राप्त भएको छैन । यसबिच २०८० साल माघसम्म यस कार्यालयबाट लिखित र ट्रायल पास गर्नेको सङ्ख्या २४ हजार ३४ जना पुगेको छ ।
लाइसेन्स पाउनु पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका २० हजार १२६ जना छन् । ‘सवारी लाइसेन्सबापत ३ करोड २९ लाख बढी राजस्व सङ्कलन भएको छ’ उहाँले भन्नुभयो । स्मार्ट लाइसेन्सका लागि यति ठुलो राजस्व बुझाउँदा पनि हातमा भौचरका टुक्रा मात्र परेकाले राज्यले दोहरो पीडा दिएको सेवाग्राहीको गुनासो छ ।
गत महिना काठमाडौँबाट फर्कँदै गर्दा बिपी राजमार्गअन्तर्गतको नारायणथान ट्राफिकले लाइसेन्सको ठाउँमा भौचर भएकै कारण ४५ मिनेटसम्म दुःख दिएको घटना बर्दिबास १ का परमेश्वर महतोले स्मरण गर्नुभयो । ‘भौचर देखाउँदा ट्राफिकले हजार रुपियाँ फाइन तिर्नै पर्छ भनी हैरान ग¥यो’ उहाँले भन्नुभयो, ‘हामीले रहरले भौचर बोकेको हो र ? समयमा लाइसेन्स नदिनु त राज्यको गल्ती हो, जनतालाई दोहरो सजाय किन ?’
लाइसेन्स नहुँदा सवारी नियमन र अनुगमनमा अप्ठेरो हुनेगरेको बर्दिबासस्थित जिल्ला ट्राफिक कार्यालय प्रमुख रामभक्त भट्टराईले बताउनुभयो । ‘लाइसेन्स भौचर’ मा फोटो नहुँदा एक जनाको नाममा जारी भएको भौचरलाई अर्को व्यक्तिले पनि दुरुपयोग गर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभयो । लाइसेन्स कार्डको महत्त्व र प्रमाणिकता कागजी भौचरले वहन गर्न नसक्ने हुँदा यस्ता भौचर सवारी ट्राफिकका लागि समेत टाउको दुखाइ भएको उहाँको भनाइ छ ।
‘लाईसेन्सी भौचरको पछाडिपट्टि फोटोसहितको अर्को प्रमाण संलग्न नगरेका सवारी चालकलाई मात्र प्रमाणिकताका लागि सोधपुछ गरिएको हो, दुख दिने नियत हैन’ भट्टराईले स्पष्ट पार्नुभयो । स्तरहीन कागजमा दिइने यस्ता भौचर पसिनाले भिज्ने, छिट्टै झुत्रो हुने, अक्षर नबुझिने दोष पनि ट्राफिकले सवारी चालकलाई दिने समस्याबाट आफू पनि भुक्तभोगी भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले सुनाउनुभयो ।
‘राज्यले राजस्व बुझेर पनि समयमा लाइसेन्स दिँदैन, अर्कोतर्फ ट्राफिकले यसैलाई कारण बनाएर हैरान पार्छ । जनताले दोहरो पीडा कहिलेसम्म सहनु पर्ने ?’ उहाँको प्रश्न थियो ‘समयमा दिने हैसियत थिएन भने स्मार्ट लाइसेन्स किन अनिवार्य गर्नुपर्यो ?’