सर्लाही समाचारदाता
सर्लाही, फागुन ५ गते । सर्लाहीका किसानलाई सिँचाइको समस्या बढ्न थालेको छ । आकाशे वर्षा नभएर खोला, खोल्सीमा पानी कम हुँदै गएसँगै गहुँ, मकै, लसुन, प्याजसहित अन्य हिउँदे बाली र तरकारी खेतीलाई सिँचाइको समस्या हुन थालेको हो । विशेष गरी आकाशे पानीको भर रहेको जिल्लाको उत्तरी भेगमा सिँचाइको समस्या बढेको किसानले गुनासो गरेका छन् ।
ईश्वरपुर नगरपालिका–४, सागरनाथका किसान धनिलाल महतोले सिँचाइ समस्याले लसुन, प्याज जोगाउन पनि मुस्किल परेको गुनासो गर्नुभएको छ । पछिल्ला वर्षमा वर्षा नै कम हुन थालेपछि हिउँदे बाली लगाउन नसक्दा खेतबारी बाँझो रहन थालेको उहाँले बताउनुभयो ।
“लसुन, प्याजलाई आवश्यक पर्ने पानी त छैन, अरू हिउँदे बाली त कहाँबाट लगाउन पाउनु,” महतोले भन्नुभयो, “पानी कम पर्न थालेपछि खेतीकिसानी गरेर खानै मुस्किल पर्न थालिसक्यो ।”
जल सतह घट्दै जाँदा कतिपय ठाउँमा डिप बोरिङमा पानी आउन छाडेको छ । जिल्लाको बागमती, मनुस्मारासहितका सिँचाइ आयोजनाका नहर तथा कुलोमा पानी कम हुँदै गएको छ । नहरमा पानी कम भएपछि किसानबिच पानी पटाउनकै लागि हानथाप पर्न थालेको छ ।
हरिपुर नगरपालिका–७, चिताइनका किसान तेजेन्द्र चौधरीले पानीको अभावमा अधिकांश फाँट बाँझो रहेको बताउनुभयो । “वर्षायाममै ठुलो पानी पर्न सकेन, हिउँद लागेपछि एक झर पानी पर्न सकेको छैन,” चौधरीले भन्नुभयो, “पानी नै नपरेपछि हिउँदे बाली लगाउन र लगाएको पनि जोगाउन मुस्किल परेको छ ।”
पानी नभएर हिउँदे बाली लगाउन नपाउँदा यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर, बागमती क्षेत्रमा धेरैजसो किसानले खेत बाँझो राखेको पाइन्छ । कृषि ज्ञान केन्द्र मलङ्गवाले आकाशे पानीको भर रहेको र डिप बोरिङबाट पानी नआउने जिल्लाको उत्तरी भेगमा हिउँदयामभर सिँचाइको समस्या हुने गरेको जनाएको छ ।
निमित्त कार्यालय प्रमुख देवानन्द राय यादवले बागमती र मनुस्मारा सिँचाइ आयोजनाबाट सिञ्चित हुने क्षेत्रबाहेक अन्य भेगमा अब हिउँदभर पानीको अभाव नै हुने बताउनुभयो । “सुक्खा क्षेत्रमा अब वर्षायाम सुरु नहुन्जेल सिँचाइको अभाव हुन्छ,” यादवले भन्नुभयो, “पछिल्ला वर्षमा माघ÷फागुनमै सिँचाइको चरम समस्या देखिन थालेको छ ।” कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ७३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ४५ हजार हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको छ ।