• १३ असोज २०८१, आइतबार

पार्टीको नाम र चुनाव चिह्न फर्ने विषयमा छलफल

माओवादी केन्द्रको विधान अधिवेशन : सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने

blog

माओवादी केन्द्रको बिहीबार सम्पन्न विधान अधिवेशनको बैठक ।

काठमाडौं, फागुन ३ गते। नेकपा (माओवादी केन्द्र) ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ। 

माओवादी केन्द्रको बिहीबार सम्पन्न विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनुभयो। 

उहाँले पदाधिकारीमा भने केन्द्रीय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो। केन्द्रीय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँको भनाइ छ। त्यस्तै विधान अधिवेशनले केन्द्रीय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ। 

आयोगमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ। प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुरालाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताउनुभयो। अधिवेशनले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो।

अधिवेशनको निर्णय बारे जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘हरेक कमिटी प्रत्यक्ष निर्वाचनद्वारा गरिनेछ। प्रत्यक्ष निर्वाचनको ढोका खुलेको छ। सबै कमिटीमा प्रत्यक्ष निर्वाचन हुन्छ। केन्द्रीय कमिटीको निर्वाचन भइसकेपछि पदाधिकारी चाहिँ केन्द्रीय कमिटीले निर्वाचन गर्छ। सदस्यताको उमेर १८ वर्ष नै कायम गर्ने भन्ने भएको छ। केन्द्रीय समिति १९९ जनाको बनाउने भन्ने भएको छ। पदाधिकारी ११ जनाको बनाउने भन्ने भएको छ। आयोगमा १५ जनासम्म राख्ने कुरा भएको छ। कमिटी आगामी महाधिवेशनबाट बनाइने छ।’’ 

माओवादी केन्द्रले सबै जनवर्गीय सङ्गठनको सम्मेलन गर्ने र पुनः गठन गर्ने निर्णय भएको छ। अधिवेशनले भारत, मध्यपूर्व र बाँकी विश्वमा गरी तीन वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट सुरु हुने उहाँको भनाइ छ।