• ६ जेठ २०८१, आइतबार

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु (फोटो फिचर)

blog

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनको अवसरमा निकालिएको पदयात्रा (मार्चपास)मा सहभागी । तस्बिर केशब गुरुङ

काठमाडौँ,  फागुन ३ गते । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो । 

नेपालमा पहिलो पटक यस प्रकारको सम्मेलन भएको हो । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा आज सम्मेलनस्थल भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म सांस्कृतिक झाँकीसहित पदयात्रा (मार्चपास) गरेको छ। पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् । 

नेपाल किसान महासँघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले यो सम्मेलनले देशैभरी र अन्तर्राष्ट्रिय स्तरमा कृषिका जल्दाबल्दा मुद्दाहरु उठान गर्न सघाउँ पुराउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्व सामाजिक मञ्चको यो सम्मेलनामा देशको र अन्तर्राष्ट्रियस्तरका कृषिका जल्दाबल्दा मुद्दाहर उठान गर्न सघाउ पुग्ने कुरामा विश्वस्त छौँ । ”

यो सम्मेलनमा आफूहरुले जल्दाबल्दा विषयहरुलाई प्रस्तुत गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

यस्तै महास‌घका केन्द्रिय सदस्य रमेशबहादुर रावलले नेपालमा पहिलो पटक भएको विश्व सामाजिक मञ्च सम्मेलनमा आफूहरुले कृषिका माध्यमबाट देशलाई चिनाउने खालका सामग्रीको प्रदर्शानी गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमै पहिलो पल्ट विश्व सामाजिक मञ्च सम्मेलन आयोजना हुँदैछ । यो ज्यादै सुखद पक्ष हो । यस सम्मेलनमा कृषिका माध्यमबाट देशलाई चिनाउने खालका सामग्रीको प्रदर्शनी गर्नेछौँ ।” 

विश्वमा उठिरहेको खाद्य सम्प्रभुताको हकको  कुुरा पनि उठान गरिने उहाँको भनाइ छ । 

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकको भनाइ छ ।  सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुनेछ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।