• ९ मंसिर २०८१, आइतबार

अझै हटेन ‘हरवाचरवा’ प्रथा

blog

लहान समाचारदाता

लहान, फागुन २ गते । सिरहाको सखुवानानकरपट्टी गाउँपालिकामा रहेको मुसहर समुदाय अहिले पनि हरवाचरवाका रूपमा काम गर्न बाध्य छ । सखुवा–४ का मुसहर समुदायको पीडा अन्य वडाका मुसहर समुदायको भन्दा फरक छ । पुस्तौँपुस्तादेखि बिहानै घरमा खाना खाएर दिनभरि साहु, जमिनदारका घरमा गाईभैँसी स्याहार्ने, खेतीपातीको काम गर्ने गर्दै आइरहेको फुलेतिया सदाय बताउनुहुन्छ । 

उहाँका अनुसार पूर्वमा रहेको बलान नदी, घरैछेउमा उत्तरपट्टी पोखरी, लामो सानो आँगन, एउटै घरमा तीन पुस्तासम्मले आलोपालो गरी रात काट्नुपर्ने बाध्यता छ । दिनभरिको कामको थकान भए पनि रातभर आराम गर्ने छानोसमेत नहुँदा मुसहर समुदायको जीवन अत्यन्तै कष्टप्रद बन्दै आएको छ । 

पुस्ता/दरपुस्ता कहिले पोखरीको डिलमा त कहिले ऐलानी नदीको किनारमा बसोबास गर्नु यहाँका मुसहर समुदायको नियति नै बनेको छ । फुलेतिया सदाय भन्नुहुन्छ, “अहिलेसम्म हामीसँग कतै पनि जग्गाजमिन छैन । लालपुर्जा हामीले देखेका छैनाँै ।” घरसँगै टाँसिएको उत्तरपट्टी पोखरी छ । बालबालिकालाई घरमा छोड्दा त्यहीँ डुब्लान् भन्ने चिन्ताले काममा जाँदा सँगै लिएर हिँड्नुपर्ने बाध्यता रहेको सरिता सदायले बताउनुभयो । 

यहाँका १९ घर मुसहरले सिरहा र राजविराज अदालतमा मुद्दा गरेर बस्ने घडेरी हासिल गरे पनि अझै लालपुर्जा हात परेको छैन । १२ देखि १५ वर्ष उमेर भएपछि छोरा मान्छे भारतको पन्जाब र हरियाणामा रोजगारीका लागि जाने गरेका छन् । 

चार पुस्ता बस्ने एककोठे एउटै घर छ । सबैले त्यही घरमा खानापान गर्नु र रात बिताउनुपर्ने बाध्यता छ । हरेक निर्वाचनको समयमा विभिन्न राजनीतिक दलका नेताले जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेर भोट लिने गरे पनि उनीहरूको समस्या भने कहिल्यै समाधान भएको छैन । 

सखुवानानकरपट्टी गाउँपालिका–३, पोर्ताहामा एक सयभन्दा बढी घरपरिवार रहेको मुसहर समुदायको समस्या उस्तै छ । आफ्नो नाउँमा जग्गाजमिन नहुँदा हरवाचरवाको काम छोडेमा ओत लाग्ने ठाउँसम्म नमिल्ने चिन्ता उनीहरूको छ । 

माओवादीले सुरु गरेको सशस्त्र युद्धका कारण यहाँका जमिनदार रामबहादुर प्रजापती, बद्रीबहादुर प्रजापती, कृष्णबहादुर प्रजापतीका सन्तान पुख्र्याैली सहर भक्तपुर फर्केपछि मुसहरहरू बस्दै आएको जमिनमा रहेको सदाय बस्ती विस्थापित गर्न पटक पटक जमिनदारका प्रबन्धकले धम्की दिइरहेको किसन सदायले बताउनुभयो । जमिनदार हुन्जेल हरवाचरवाका रूपमा काम गर्दा त्यति समस्या थिएन तर अहिले त्यो अवसर पनि नरहेको उहाँको भनाइ छ । 

सखुवानानकरपट्टी–३ को मिर्जापुर र वडा नं. २, पटनाका मुसहर समुदाय पनि हरवाचरवाको जीवनबाट माथि उठ्न सकेका छैनन् । मिर्जापुरका प्रमोद सदायका पिता बालेश्वर सदाय भन्नुहुन्छ, “देशमा व्यवस्था बदलियो तर मुसहर समुदायको अवस्था कहिल्यै बदलिएन ।”