शिक्षाको औपचारिक सुरुवात धेरै पहिलेदेखि भए पनि सिपयुक्त तथा दैनिक व्यवहारसँग प्रत्यक्ष सम्बन्ध भएको शिक्षाको विकास आधुनिक युगमा मात्र भएको पाइन्छ । शिक्षाको मानव जीवनको व्यावहारिक पक्षसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । यसले मानिसलाई साधारण सिपदेखि जटिल विधाका विषयवस्तुमा आएका चुनौतीलाई सामना गर्न सक्ने बनाउँछ । विश्वविद्यालयको शिक्षाले व्यक्तिलाई विभिन्न क्षेत्रमा रोजगार बनाउनुका साथै सम्बन्धित क्षेत्रको विषयविज्ञ बनाउँछ तर विश्वविद्यालयको शिक्षा आज प्रमाणपत्र प्राप्त गर्ने मोसो मात्र भएको छ । त्यसैले देशको द्रुत विकास गर्न प्राविधिक शिक्षा आवश्यक छ तर प्राविधिक जनशक्ति हाम्रा विश्वविद्यालयले उत्पादन गर्न सकेका छैनन् ।
कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने सिपयुक्त ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्य अर्थमा शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु र केही सिक्नु भन्ने हुन्छ । प्राविधिक शिक्षा भनेको विद्यार्थीलाई विभिन्न आधुनिक उपकरणको माध्यमबाट रचनात्मक, सृजनात्मक कार्य गराई प्रदान गरिने सिपमूलक र उत्पादनमूलक शिक्षा हो । कुनै पनि कार्यलाई प्रविधिबाट सिकाउने शिक्षा प्राविधिक शिक्षा हो । यो परम्परिक शिक्षाभन्दा फरक हुन्छ । प्राविधिक शिक्षाले आफ्नो क्षमता र योग्यता अनुसार काम गर्ने व्यावहारिक ज्ञान र कौशल प्रदान गर्दछ । युरोपेली राष्ट्रहरू प्रविधिको प्रयोगबाट विकसित भएका हुन् । त्यसैले प्राविधिक शिक्षा विश्वमा नै लोकप्रिय बन्दै आइरहेको छ । यन्त्र, उपकरण, मेसिन, उद्योगधन्दा, कलकारखानालगायत
विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञान आर्जन गरी औद्योगिक देशहरूले देशको आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएका छन् ।
प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सृजनात्मक बन्नु पर्छ । उत्पादक बन्न सक्नु पर्छ । पुँजी निर्माणका लागि प्राविधिक शिक्षा अति आवश्यक भइसकेको छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक स्रोतसाधनको समुचित उपयोग गरी मानव कल्याणको निमित्त योगदान दिन सक्छ । विश्वका अन्य कतिपय मुलुकको दाँजोमा हाम्रो देश आर्थिक दृष्टिले, विकासनिर्माणका दृष्टिले, रोजगारीका अवसरको दृष्टिले पछाडि परेको छ । यसको मुख्य कारण प्राविधिक शिक्षाको विकास र विस्तार नहुनु नै हो । मुलुकको समृद्धिका लागि दक्ष जनशक्तिको आवश्यकता हुन्छ ।
नेपालको संविधान भाग ४, धारा ५१ मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिमा उल्लेख गरिएको छ, “शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक सिपमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने, उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निःशुल्क बनाउँदै लैजाने, नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने, नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने ।” यस्तो व्यवस्था भए पनि शिक्षामा सरकारले गरेको लगानी अनुसारको उपलब्धि भने हासिल हुन सकेको छैन । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ ।
देशको आवश्यकताका लागि मात्र नभएर ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जाने युवाको आय आर्जनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अहिलेको समयमा विश्व श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादनमा सरकारले लगानी बढाउनुपर्ने आवश्यकता छ । प्राविधिक शिक्षाले रोजगारीका अवसर प्राप्त गर्न सहजता प्रदान गर्छ । वैदेशिक रोजगारीमा जाने युवाले पठाएको विप्रेषणले अर्थतन्त्रलाई धेरै सहयोग गरेको छ तर अर्थतन्त्रका लागि यो स्थायी समाधान भने होइन । त्यसैले प्राविधिक शिक्षाको विस्तार गरी देशभित्र नै रोजगारी सिर्जना गर्नु अति आवश्यक छ ।
शिक्षामा अगाडि बढेका जापान, अमेरिका, रसिया, क्यानडा, चीन तथा अधिकांश युरोपेली देशका नागरिक रोजगारी प्राप्त गरी आय आर्जनमा संलग्न छन् । देशमा विद्यमान बेरोजगारी समस्या हल गर्न र समाजलाई सुव्यवस्थित एवं सुन्दर बनाउन हाम्रो देशको शिक्षालाई पनि व्यवहार उपयोगी बनाउन जरुरी छ । देश बनाउन दक्ष जनशक्तिको सक्रिय र रचनात्मक भूमिका रहने गर्छ । तसर्थ उनीहरूलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भता अन्त्य हुनुका साथै देश विकासको प्रयास पनि सफल हुने देखिन्छ ।
अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सक्नु पर्छ । अनि मात्र मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवा जनशक्ति पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ । जुन जुन देशमा प्राविधिक जनशक्ति कमी छ, ती ती देश विकासमा पछि परेका छन् । हाम्रो जस्तो विकासशील देशमा पहिलो त साक्षरता प्रतिशत नै कम छ भने दोस्रो कुरा प्राविधिक शिक्षालय पनि पर्याप्त छैनन् । जे जति मानिस शिक्षाका प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्, तिनले रोजगारी प्राप्त गर्न सकिरहेका छैनन् । त्यसैले अब हाम्रो देशको शिक्षा उत्पादनमुखी बन्नु पर्छ । आत्मनिर्भर जनशक्तिले मात्र मुलुक रूपान्तरण गर्न सक्छन् ।
प्राविधिक शिक्षाले घरेलु उद्योगदेखि ठुला ठुला कलकारखाना र उद्योगधन्दाको विकास गरी देशलाई औद्योगिकीकरण गर्न सकिन्छ । युवा बेरोजगार बन्नु नपर्ने अवस्था सिर्जना हुन्छ । प्राविधिक शिक्षाको विकास गरेका विश्वका अधिकांश देशले रोजगारी सिर्जना गर्न सफल भएका छन् । त्यसैले रोजगारीका अवसर सिर्जना गर्न हामीले पनि प्राविधिक शिक्षाको विकासमा जोड दिनु पर्छ । यसले विद्यमान बेरोजगारी समस्या हल गर्न सघाउँछ । देशको शिक्षा पनि व्यावहारिक हुन्छ । त्यसैले सरकारले देशको शिक्षा क्षेत्रमा धेरै बजेट छुट्याउनु पर्छ र प्राविधिक शिक्षालाई सर्वसाधारणले पढ्न सक्ने वातावरण तयार गर्नु पर्छ ।
प्राविधिक शिक्षासँगै विश्वविद्यालयले अन्य शिक्षालाई पनि समानुपातिक तरिकाले अगाडि बढाउनु पर्छ । अर्थात् प्रमाणपत्र मात्र दिने होइन कि गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति विश्वविद्यालयले बनाउन सक्नु पर्छ । मानविकी, व्यवस्थापन जस्ता विषय अध्ययन गरेका व्यक्ति पनि उनीहरूको विषयमा अध्ययन अनुसन्धान गर्न सक्षम हुनु पर्छ । साथै प्राविधिक शिक्षा लिए पनि अन्य शिक्षा लिए पनि चरित्रवान् व्यक्ति निर्माण गर्न पनि ध्यान दिनु पर्छ ।
उत्पादन र उत्पादकत्व वृद्धि गरी आर्य आर्जनमा सघाउने प्राविधिक शिक्षा आजको आवश्यकता हो । सरकारले पनि प्राविधिक शिक्षाको प्रवर्धन र बढवाका लागि प्रयास गरिरहेको छ तर त्यो सार्थक हुन सकेको छैन । पढाइ भए पनि रोजगारी सिर्जना गर्न सकिएको छैन । प्राविधिक शिक्षासँग रोजगारी सिर्जना गर्नु पनि आजको आवश्यकता हो । नत्र शिक्षा मात्र पाएर के गर्नु ? प्राविधिक शिक्षालाई परिणाममुखी पनि बनाउनु पर्छ । आगामी दिनमा सरकार, सम्बद्ध निकायले प्राविधिक र सिपमूलक शिक्षामा जोड दिनु आवश्यक छ ।