• १३ साउन २०८१, आइतबार

बैद्यनाथ धाममा एकसय ४४ बर्षपछि कोटिहोम

blog

पत्रकार सम्मेलनमा महायज्ञबारे जानकारी गराउँदै आयोजकहरु ।

भावना जोशी 

अत्तरिया, माघ २७ गते । नेपालका चारधाम मध्येको एक अछामको बैद्यनाथ धाममा १ सय ४४ बर्षपछि कोटिहोम लाग्दैछ । फागुन १० देखि २५ गते महाशिवरात्रिसम्म महायज्ञ आयोजना हुने मुल आयोजक समितिका संयोजक प्रतिनिधिसभा सदस्य  शेरबहादुर कुँवरले जानकारी दिनुभयो । 

महायज्ञमा झन्डै १ करोड ५० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । महायज्ञको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । 

महायज्ञमा ५ वटा मण्डप रहने छन् । एकसय २५ व्राह्मणबाट हवन पूजा, सवा करोड दिप प्रज्ज्वलन गरिनेछ । कोटीहोममा कथाबाचन प्रा. भबानीप्रसाद खतिवडा रहनुभएको छ । महायज्ञको उदघाटनमा २० हजार बढी स्थानीयको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । 

महायज्ञको समय पारेर समिट ऐरसँग धनगढी वा नेपालगन्जबाट उडानको ब्यबस्था समेत गरिनेगरी छलफल भइरहेको आयोजक कुँवरले जानकारी दिनुभयो । कोटिहोममार्फत धर्म संस्कृतिको जगेर्ना तथा आन्तरिक पर्यटनलाई बढाउने उद्देश्य समितिले राखेको छ । 

यस्तै, समितिले कोटिहोमबाट हुने आम्दानीबाट त्यहाँ आयुर्वेदिक अस्पताल सञ्चालनमा ल्याउने समितिले योजना बनाएको छ । मुल समतिले विभिन्न ३५ वटा समिति बनाएर काम अघि बढाएको छ भने हालसम्म ८० लाख महायज्ञको लागि बिभिन्न ठाँउबाट सहयोग जम्मा भएको आयोजकले जनाएको छ ।