काठमाडौँ, माघ २७ गते । एक दिवसीय सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा क्यानडाले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको थियो ।
क्यानडाविरुद्धको खेलमा नेपालका १९ वर्षीय आकाश चन्दले डेब्यु गर्नुभएको छ । उहाँले ललितनारायण राजवंशीको स्थान लिँदै आजको खेलमा डेब्यु गर्नुभएको हो । चन्द नेपाली सिनियर टोलीबाट एक दिवसीय खेल खेल्ने ४०औँ खेलाडी बन्नुभएको छ । उहाँलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शरद भेषावकरले ‘क्याप’ दिनुभयो । आइसिसी यु–१९ विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि चन्द सिनियर टोलीमा स्थान बनाउन सफल हुनुभएको हो ।
क्यानडाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीमा चन्दसँगै रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ र अनिलकुमार साह हुनुहुन्छ ।
क्यानडाले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा बिनाकुनै विकेट ४० रन बनाएको छ । रासस