ढल्केबर, माघ २६ गते । धनुषाको उत्तरी क्षेत्रमा पानीको स्रोतहरु सुक्न थालेका छन् । सामान्यतयाः चैत वैशाखा महिनामा देखिने यस्तो समस्या यो पटक माघमै देखिन थालिएको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहित पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको यस भेगका बासिन्दा बताउँछन् ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोजकुमार महतोले माघमै पानीको स्रोत सुक्नु अनिष्टको सङ्केत देखिएको बताउनुभयो । उहाँ आफैँ पनि सिँचाई गर्न खनेको इनार सुकेपछि तरकारीबाली लगाउन नपाइने चिन्ता लागेको बताउनुहुन्छ ।
मौसमी तरकारी तथा अन्नबाली उत्पादन गरेर आम्दानी लिँदै आउनुभएको महताले सिँचाई अभावका कारण खेत बाँझो राख्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो ।
आम्दानीको मुख्य स्रोत तरकारी उत्पादन र खेती भएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘सिँचाई गर्ने इनारमा पानी सुक्यो अब कसरी खेती गर्ने ? खेती गर्न सिँचाई नभइ हुँदैन । आकाशे पानीको भर छैन । यस्तै अवस्था रह्यो भने भोकमरीको सामाना गर्नुपर्छ ।’’
बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले बटेश्वरमा रहेको देवकी माध्यमिक विद्यालय हाताभित्र भएको इनार सुकेपछि त्यहाँका विद्यार्थी र शिक्षक घरबाटै खानेपानी बाकेर ल्याउने गरेको बताउनुभयो ।
माघ पहिलो सातामै सो इनार सुकेको बताउनुहुँदै उहाँले अहिलेसम्म यस क्षेत्रमा ३० प्रतिशत पानीको स्रोत सुकिसकेको र आगामी फागुन चैतसम्म ९० प्रतिशत सुक्ने जानकारी दिनुभयो ।
‘‘माघ नबित्दै पानीको यस्तो समस्या छ ।,’’ उहाँले भन्नुभयो, ‘‘चैत वैशाखमा के होला सम्झेर डर लाग्छ ?” यस क्षेत्रमा इनार र चापाकालबाट पानी खान सम्भव नभएकाले खानेपानीको दीर्घकालीन उपाय गर्न सङ्घीय सरकार समक्ष प्रस्ताव लैजाने अध्यक्ष महतोले बताउनुभयो ।
मिथिला नगरपालिका–५, विश्रामपुरका विनोद महतोले पानी नपर्दा हिउँदे बाली पनि सुक्न थालेको गुनासो गर्नुभयो । पछिल्ला केही वर्षयता रातु, बडहरी, औरही, जलाद कमला नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेकाले जलाधार क्षेत्र सुक्न थालेको उहाँको बुझाइ छ ।
तराई क्षेत्रमा यस वर्ष हिउँदे वर्षा नभएकाले पानीको स्रोतहरु विस्तारै सुक्दै जान थालेको पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले बताउनुभयो ।
‘‘असोजको पहिलो सातायता पानी परेको छैन । साधारणतया असोजको पहिलो हप्ता मनसुन सकिने र कात्तिक वा मङ्सिरमा एक दुई पटक पानी पर्ने गर्थ्यो । तर यसवर्ष त्यो पानी परेको छैन ।’’ उहाँले भन्नुभयो ।
नदी क्षेत्रमा बालुवा, ढुङ्गा उत्खनन गर्नेहरुले ठूल्ठूला गहिरो खाडल बनाएका र चुरे क्षेत्रको जलाधार क्षेत्र मासिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर माघमै पानीको हाहाकार मच्चिन लागेको वन अधिकृत शर्माको भनाइ छ ।
‘‘हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापरबाही भएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रकको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।’’
चुरेविद् डा. विजयकुमार सिंह दनुवारले जमिन मुनि पानीको सतह तलतल हुँदै गएकाले पानीको यस्तो समस्या देखिएको बताउनुभयो । प्राकृतिक रुपमा चुरे क्षेत्र जल भण्डार भएको बताउँदै उहाँले चुरे भएर बग्ने नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्नसके भूमिगत जलस्तर बढ्ने सकिने जानकारी दिनुभयो ।
अव्यवस्थित सहरीकरण, वन फडानी, नदीनालाबाट भइरहेको अनियन्त्रित गिट्टी, बालुवाको उत्खननका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर राख्न नसकेकाले भूमिगत पानीको सतह तल हुँदै गएको उहाँको भनाइ छ । प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा गम्भीर हुन सकेनौं भने आठ/दश वर्षपछि तराईमा पानी चरम अभाव भोग्नुपर्ने चुरेविद् सिंहले चेताबनी दिनुभयो ।