• १३ साउन २०८१, आइतबार

तेजबहादुरको तेजिलो कृषि पेसा

blog

प्लास्टिक टनेलमा लगाएको गोलभेँडा देखाउँदै कृषक तेजबहादुर बानियाँ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ २५ गते ।  “तरकारी खेतीमा राम्रो सम्भावना छ । परिश्रम गरे माटोमै सुन फलाउन सकिन्छ । पैसा कमाउन विदेश जानु पर्दैन । यही पेसाबाट परिवारमा खुसी मिलेको छ” बेनी नगरपालिका–४ सिङ्गाका ५९ वर्षीय तेजबहादुर बानियाँले भन्नुभयो । 

बानियाँको तरकारीबारीमा पुग्दा ब्याडमा काउली र बन्दा गोभीको बीउ जमाउन व्यस्त हुनुहुन्थ्यो । करिब पाँच रोपनी क्षेत्रफल खेतबारीमा बानियाँले गोलभेँडा, बन्दागोभी, काउली र केरा खेती  गर्नुभएको छ । तीन दशक यता बानियाँले मौसमी र बेमौसमी ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । उहाँको तेजिलो कृषि पेसाबाट स्थानीयहरू समेत लाभान्वित भएका छन् । 

गोलभेँडा खेतीका लागि तीनवटा प्लास्टिक टनेल बनाउनुभएको छ । टनेलभित्र यतिखेर विउन्सरी जातको गोलभेँडा लटरम्म फलेका छन् । साउनमा लगाएको गोलभेँडाको बोटले अझै उत्पादन दिँदैछ । 

खेतबाटै प्रतिकेजी ८० रुपियाँमा गोलभेँडा बिक्री हुनेगरेको उहाँले बताउनुभयो । टनेलभित्र गरेको गोलभेँडा खेतीमा रोग किराको प्रकोप कम हुने र उत्पादन पनि धेरै हुने उहाँको अनुभव छ । बेमौसममा उत्पादन गर्न टनेल उपयोगी हुने उहाँले बताउनुभयो । वडा ४ को कार्यालयले अनुदानमा प्लास्टिक टनेल उपलब्ध गराएको उहाँको भनाइ छ । 

बानियाँले उत्पादन गरेको ताजा तरकारी बेनी बजारमा बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, ‘‘बेमौसमी सिजनमा उत्पादन गरेको तरकारी लिन बेनीका व्यापारी घरमै आउँछन् । अघिपछिको समयमा बजारमा पुगाउनुपर्छ । उत्पादन गर्न सके बजारको समस्या छैन ।’’ पछिल्लो केही वर्ष यता ताजा तरकारीको मूल्य राम्रो भएकाले खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ । 

तरकारी खेतीबाट वार्षिक रूपमा खर्च कटाएर १२ लाख रुपियाँसम्म आम्दानी हुनेगरेको उहाँले सुनाउनुभयो । रोजगारीका क्रममा पहिला भारत गएको बताउने बानियाँले २०५२ सालदेखि गाउँमै बसेर तरकारी खेती गर्नुभएको छ । तरकारी खेतीको आम्दानीले घरपरिवारको दैनिक खर्च र छोराछोरी पढाउन सजिलो भएको कृषक बानियाँले बताउनुभयो ।  

छोरालाई विदेश पठाउँदा १० लाख ऋण लाग्यो, छोराको वैदेशिक यात्रा सफल हुन सकेन, उहाँले भन्नुभयो, ‘‘छोरालाई विदेश पठाउँदा लागेको ऋण पनि तरकारी खेती गरेर तिरेँ । अहिले छोराबुहारीले सघाएका छन् । परिवारका सबै मिलेर तरकारी खेती गरेका छौँ ।’’ 


पाँच वर्ष यतादेखि व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि घरखर्च कटाएर केही रकम बचत हुनेगरेको बानियाँले बताउनुभयो । बानियाँले ताजा तरकारी उत्पादनका साथै काउली, बन्दागोभी, प्याज, खुर्सानी, ब्रोकाउली, काँक्रालगायतका तरकारीका बेर्ना पनि तयार पारेर बिक्री गर्नुहुन्छ । 

बेर्ना उत्पादन गरेर गाउँभरिका किसानलाई दिने गरेको छु उहाँले भन्नुभयो, ‘‘बेर्नाको माग धेरै आउनेगरेको छ । मागअनुसार पुगाउन धौ–धौ भएको छ । मैले उत्पादन गरेका तरकारीका बेर्ना सजिलै खेतबारीमा सर्ने र उत्पादन राम्रो दिने भएकाले किसानले मैसँग बेर्ना लैजाने गर्दछन् । बेर्ना बिक्री गरेर पनि राम्रो आम्दानी लिने गरेको छु ।’’ 

प्याजका बेर्ना एक रुपियाँका दुईवटा, बन्दा र काउली पाँच रुपियाँका दुईवटा र ब्रोकाउली पाँच रुपियाँको एक वटाका दरले बिक्री गर्नेगरेको बानियाँले बताउनुभयो । लामो समयदेखि ताजा तरकारी उत्पादनमा लागेकाले बानियाँ अहिले यस पेसामा दक्षता प्राप्त गर्नुभएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समय–समयमा दिने तालिमले कृषि पेसामा थप दक्षता वृद्धि भएको उहाँले बताउनुभयो । 

सिंगागाउँ ताजा तरकारी र फलफूल खेतीमा पकेट क्षेत्र भएकाले किसानलाई कृषि उपकरण र सामग्री अनुदानमा उपलब्ध गराउने गरेको वडा ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।