• ६ जेठ २०८१, आइतबार

मेयर कप फुटबल : सेन्ट जेभियर्स र मोडेल एकेडेमी च्याम्पियन

blog

मेयर कप उपाधि विजेता टोली । तस्बिर : गोरखपत्र

कमल खत्री 

नेपालगन्ज, माघ २५ गते । नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा)मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । 

नेपालगन्जमा भएको फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले नेपालगन्ज मोडेल एकेडेमीलाई २–० गोलले पराजित गरेको छ । सेन्ट जेभियर्सको जितमा सुमित थापाले ६०औँ र ६७औँ मिनेटमा गोल गर्नु भयो । सुमित फाइनल खेलको म्यान अफ दि म्याच हुनुभयो । 

छात्रातर्फको फाइनलमा खेलमा नेपालगन्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–०गोलले हराउँदै च्याम्पियन बन्यो । नेपालगन्ज मोडेल एकेडेमीको जितमा तिलसरा बुढाले २०औँ मिनेट र चमेली चौधरीले ५०औँ मिनेटमा गोल गर्नु भयो ।


फाइनल खेलमा वुमन अफ दि म्याच नेपालगन्ज मोडेल एकेडेमीकी तिलसरा बुढा हुनुभयो । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २१ हजार र उपविजेताले ११ हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । 

बाँके जिल्ला फुटबल सङ्घको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपालगन्ज सेन्ट जेभियर्सका सुमित थापा र मनकामना मावि खजुराकी खेलाडी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जीवन ज्योति स्कुल कोहलपुरले प्राप्त गरेको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, उप–मेयर कमरुद्दिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य भोजराज शाहीलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल एकेडेमीमा ११ दिनसम्म चलेको प्रतियोगितामा बाँके जिल्लाका ८ स्थानीय तहका ३३ विद्यालयका ६ सयभन्दा बढी खेलाडीको सहभागिता थियो । प्रतियोगितामा छात्रतर्फ २८ र छात्रातर्फ पाँच स्कुलले भाग लिएका थिए ।