• ९ असार २०८२, सोमबार

रेसुङ्गाले सञ्चार नीति तर्जुमा गर्ने

blog

गुल्मीको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, असार ९ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८२/०८३ को रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरपालिकाको हितका लागि योगदान दिएका स्थानीय सञ्चारकर्मी तथा सञ्चार माध्यमलाई प्राथमिकतामा राखी विभिन्न तवरले प्रोत्साहन गर्ने बताउनुभएको हो ।

नगरप्रमुख पन्थीले नगरपालिका क्षेत्रका सार्वजनिक जग्गाको पहिचान, नक्सा अद्यावधिक, लगतकट्टी तथा संरक्षणका लागि नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनः नापी गर्ने कार्यका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताउनुभयो । वास्तविक वस्तुस्थितिको आधारमा योजना तथा कार्यक्रम तर्जुमा गर्न हाउस नम्बरिङ्ग सहितको नगरपालिकाको एकीकृत डिजिटल प्रोफाइन निर्माण गर्ने, शान्ति सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका भित्रका मुख्य–मुख्य नाका तथा वस्तीहरुमा थप सिसिटिभी जडान गर्ने बताइएको छ ।

प्रत्येक वडाका मुख्य तथा विशेषगरी पर्यटकीय स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गरिने भन्दै नगरप्रमुख पन्थीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा नगरपालिकाको रोजगार सेवा केन्द्रलाई थप व्यवस्थित गर्दै वैदेशिक रोजगारीको श्रम स्वीकृृतिको नवीकरण, सहजीरकण तथा वैदेशिक रोजगारीका क्रममा हुने घाइते तथा मृत्युपश्चातका सहायता प्राप्तिका लागि आवश्यक सहजीकरण गरिने साथै श्रम र सीप प्रयोगका साथै श्रमको सम्मानको सचेतनामूलक अभियान सञ्चालन गर्ने उल्लेख छ ।

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका वा ज्यान गुमाएका रेसुङ्गा नगरपालिकाभित्रका नागरिकलाई सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा आवश्यक सहयोग गरिने उल्लेख छ । तम्घासमा रहेको नेपाली सेनाको गुल्मलाई गणमा परिणत गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै यस कार्यलाई छिट्टै टुङ्गोमा पु¥याउन थप पहल गर्ने बताउनुभयो ।

जिल्लाकै एक मात्र स्नातकोत्तर सम्मको अध्ययन हुने शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसको साख एवम् ख्याती कायम राख्न आगामी दिनमा समेत विद्यार्थी भर्ना अभियान लगायतका विधामा आर्थिक सहयोग उपलब्ध गराउने, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको कार्य प्रारम्भ गरिएकोमा सरोकारवालासँगको व्यापक छलफल र विज्ञहरुको राय परामर्श समेतका आधारमा विद्यालय पुनःनक्साङ्कन गरी विद्यार्थी सङ्ख्या न्यून हुँदै गइरहेका विद्यालयहरुमा तह वा कक्षा घटाउने र समायोजन गरिने उल्लेख गर्नुभयो । विद्यार्थीहरुको शैक्षिक पहुँचको सुनिश्चितताको लागि भौगोलिक दूरीका विद्यार्थीहरुका लागि सुलभ यातयातको विशेष प्रबन्ध मिलाइने बताउनुभयो ।

नगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययन गरी एसइईमा ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद एक लाख रुपियाँको “नगर प्रमुख शैक्षिक पुरस्कार’’बाट सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस पुरस्कारबाट सम्मानित हुने विद्यार्थीले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कक्षा ११, १२ मा अध्ययन गरेमा कक्षा १२ को अन्त्यमा एकमुष्ठ ५० हजार छात्रवृत्ति समेत उपलब्ध गराइने उहाँले बताउनुभयो । रेसुङ्गा नगरपालिकाभित्र साहित्यिक उत्कृष्टता प्रवर्धन गर्न रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्न, नागरिकहरुमा बौद्धिक संलग्नताको संस्कृतिलाई जोड दिन, लेखन, कवि र विद्वानहरुलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्न साहित्यिक गोष्ठीको आयोजना गरिने र भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्न नगर प्रज्ञा प्रतिष्ठान निर्माण गर्न आवश्यक पहल गर्ने उल्लेख छ ।

नेपाल सरकारले उपलब्ध गराउँदै आएको महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा र प्रोत्साहन यातयात रकममा ५०/५० प्रतिशत थप गरी नगरपालिकाबाट उपलब्ध गराइने कार्यलाई निरन्तरता दिइने बताउनुभयो । अति विपन्न वर्गका व्यक्तिहरुका लागि स्वास्थ्य बीमाको कार्यक्रमलाई अभियानको रुपमा क्रमशः लागू गर्दै लगिने र ‘योग गरौं स्वस्थ रहौं’ भन्ने उद्देश्यले योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनाका लागि आवश्यक पहल गरिने बताइएको छ। आमासँग उपमेयर कार्यक्रम मार्फत गर्भवती र सुत्केरी महिलालाई पोषण प्याकेज, सुत्केरी सेवाका लागि एकतर्फी यातयात खर्च र घरघरमा सुतेकरी सेवालाई निरन्तरता दिइने बताउँदै गर्भवती महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

रेसुङ्गा नगरपालिकाभित्रका नागरिकलाई मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया सेवालाई यस पटक पनि निरन्तरता दिइएको  । यस्तै कृषि तथा पशुपन्क्षीसँग सम्बन्धित कृषकहरुलाई प्रोत्साहन गरी रेसुंगा नगरपालिकालाई तरकारी, फलफूल, दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउनेतर्फ जोड दिइने उल्लेख छ । बाँदर तथा अन्य जङ्गली जनावरहरुबाट कृषि बालीको हानि हुन नदिन सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी नियन्त्रणका उपाय अवलम्बन गरिने बताइएको छ । जलवायु सुहाउँदो कृषिलाई प्राथमिकता दिँदै भाडगाउँ, अर्खले, सेउघा, भुवनपानी, बालकाटे, चेक्मी, गुरुङगाउँ, राङबास र पराल्मी लगायतका क्षेत्रलाई सुन्तला÷कागती जोनको रुपमा विकसित गरिने उल्लेख छ ।

समग्र रेसुङ्गा क्षेत्रको परिचय विशेषाङ्क पुस्तक प्रकाशन गर्ने कार्यको सुरुवात गर्ने, रेसुङ्गा क्षेत्रका विभिन्न स्थानहरुमा काष्ठकला तथा धातुकलाका विभिन्न मूर्तिहरु स्थापना गरिनुका साथै पर्यटकहरुको सहजताका लागि टुर–गाईडको व्यवस्था मिलाइने उल्लेख छ । नेपालमा पाईने विभिन्न प्रजातिका चराहरुमध्ये झण्डै ३० प्रतिशत प्रजातिका चराहरु रेसुङ्गामा पाइने तथ्य सार्वजनिक भएको अहिलेको अवस्थामा चरा अवलोकन पर्यटन प्रवर्धनका लागि वाईल्डलाईफ फोटोग्राफर सहितको अन्तर्राष्ट्रिय ख्याती प्राप्त विज्ञहरुसँग समन्वय गरी थप प्रचारप्रसार गरिने उल्लेख छ । औषधीय गुण भएका रेसुङ्गाका जडीबुटीको उत्पादन, बिक्रिवितरण र प्रवर्धनका लागि अध्ययनको प्रारम्भ गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । तम्घास, पराल्मी, इन्द्रेगौडा, गौशाला, रातामाटा सडकलाई स्तरोन्नति गर्न पहल गर्ने नगरप्रमुख पन्थीले बताउनुभयो ।

नगरक्षेत्रभित्रका शहरी सडक र सवारी साधनहरुलाई व्यवस्थित गर्न आवश्यक रोड मार्किङ र पार्किङ्ग स्थलको व्यवस्था गरिनेछ । “उज्यालो सहर जनताको रहर” भन्ने नारालाई साकार तुल्याउन नगरपालिका भित्रका बजारक्षेत्रमा हाई माष्ट लाइट जडान गर्ने र नगरभित्रका विभिन्न ग्रामीण क्षेत्रमा स्ट्रिट सोलर लाइटको प्रबन्ध मिलाइने उल्लेख छ । नगरको सौन्दर्यीकरणका लागि लागत सहभागितामा उपयुक्त स्थानमा पार्क तथा पुष्पबाटिका निर्माण गरिने लगायतका २२९ बुँदे नीति तथा कार्यक्रम नगरप्रमुख पन्थीले प्रस्तुत गर्नुभयो ।